आज राष्ट्रिय भाक्का दिवस

0
1179


एकाबिहानै झिसमिसे कुहिरोभित्र मर्निङवाक गर्दा होस् या कलेज जाँदा होस्, चोक–चोकमा भाक्का बेच्ने महिला दिदीबहिनीहरुको बलिरहेको चुल्हो र चुल्होमाथि बसाएको पानीले भरिएको हन्डी अनि उनीहरुको वरिपरि भाक्काको स्वादमा रमाई रहनेहरुको घुइँचो हेरिरहँु झैं लाग्छ । विगतमा झंै यस वर्ष पनि पूर्वी नेपालमा आज पुस २९ गते हर्सोल्लासका साथ चौथो राष्ट्रिय भाक्का दिवस मनाइँदैछ । भाक्का कोच समुदायको एउटा परम्परागत विशिष्ट मौलिक परिकार भएता पनि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले वि.सं. २०७४ सालदेखि निरन्तर पुस २९ गते राष्ट्रिय भाक्का दिवस विविध कार्यक्रम गरी मनाउँदै आइरहेको छ ।

कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीका अनुसार कोच समुदायको लोक सांस्कृतिक पर्व र खानपानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष पुस २९ गते ‘भाक्का दिवस’ मनाउने निर्णय गरिएको हो । हरेक वर्ष पुस २९ गते कोच आदिवासीको घर–घरमा छोरी–ज्वाइँ तिनका लालाबालाहरु माइती पट्टीका आफन्तले बोलाउने आफन्त–आफन्तबीच भेटघाट गरी तिलको लड्डु, भाक्का, पी जस्ता परिकार घर–घरमा बनाएर खाने चलन रहिआएको छ । अर्को दिन माघ १ गते समेत रसिया, खिचडी भाक्का लगायतका परिकार खाने चलन रही आएको छ । त्यसकारण हरेक वर्ष पुस २९ गते मनाइने राष्ट्रिय भाक्का दिवसले नयाँ पुस्तामा पनि आफ्नो संस्कार प्रति प्रेम र मौलिकता पुस्तान्तरण हुने विश्वास गरिन्छ ।

कोचिला गाभुर फ्रन्टले शुरुवात गरेको पुस २९ गते मनाइने राष्ट्रिय भाक्का दिवसले अवश्य पनि नेपाली समाजको सांस्कृतिक विविधतालाई अझ मजबुत बनाएको छ । बिर्तामोडको सिटी सेनटरमा आज हुने राष्ट्रिय भाक्का दिवसको कार्यक्रमले सम्पूर्ण जातजातिबीच संस्कृतिको आदान–प्रदानहुने छ । विशेषतः भाक्का जाडो मौसममा एकदमै रुचाइने खाद्य परिकार हो । भाक्का कुनै एउटा नौलो परिकार नभई कोच आदिवासी समुदायको परम्परागत खानपान अन्तर्गत पर्दछ । तर, यतिबेला यसको स्वाद अनि स्वच्छताले सबैको मन लोभ्याएको देखिन्छ । ‘भाक्का’ बालबालिकादेखि वृद्धसम्म सबैले रुचाउने गरेको हुनाले यसको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको छ । सामान्यतयाः चामलको पिठोलाइ पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । भाक्कालाई स्वास्थ्यको दृष्टिकोणले एकदमै स्वास्थ्यवद्र्धक मानिन्छ ।

कोच समुदायभित्र यसलाई कसैले चिया र चट्नीसँग खाजाको रुपमा लिने गर्छन् त कसैले बेलुकी भोजनको रुपमा खाने गर्दछन् । हिउँदे बाली घर भित्र्याएर ढुक्क भएपछि आनन्दले नयाँ चामलको पिठोको भाक्का खाने चलन भएकाले यसलाई आनन्दको खान्की पनि भन्ने गरिन्छ । राजवंशी भाषा प्रचार समितिका संस्थापक फुलसिंह राजवंशीका अनुसार भाक्का कोच आदिवासीहरुको परापूर्वकालदेखि खाँदै आएको मौसमी खान्की हो जुन जातीय पहिचानसँग जोडिएको छ । भाक्का कोच समुदायभित्र अतिथी सत्कारका लागि पनि खुवाउने गरिन्छ । भाक्कासँग बुहाली माछाको बेजोड स्वादले जो कोहीको मुख रसाउन सक्छ । यसरी विविध तरिकाले भाक्का खाने चलन पुख्र्याैली भए पनि अहिलेको नयाँ पुस्ताले पनि यसलाई उत्तिकै रुचाउने गरेको देखिन्छ ।

भद्रपुर–१० निवासी ७८ वर्षीय वृद्ध हरेन राजवंशीका अनुसार भाक्कासँगै पि पनि खाने चलन छ । पि चामलको पिठोबाट विशेष प्रकारले डल्ला बनाइ पानीमा उमालेर बनाइने एक परम्परागत परिकार हो । यसरी बनाइएको पि धेरै दिनसम्म राख्न मिल्ने भएकाले यसलाई इच्छा अनुसार आगोमा पोलेर वा सब्जी बनाएर पनि खाने गरिन्छ । भाक्का आजभोलि कोच आदिवासीहरुको भान्सामा मात्र सिमित नभएर गाउँ–गाउँका हाटबजार अनि शहर शहरका गल्लीदेखि ठूला–ठूला रेस्टुरेन्टहरुमा ग्राहकको मनपर्ने परिकार बन्न सफल भएको छ ।

मेचीनगर नगरपालिका–११ कि ७१ वर्षीया किसन राजवंशी विगत दुई दशकदेखि आफ्नो गुजारा टार्न भाक्काको व्यवसाय गरिरहनुभएको छ । भाक्का जाडोमा बढी रुचाइने भएकाले यसको व्यापार राम्रै हुने उहाँको अनुभव छ । नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई यस्ता पर्वहरुको संरक्षण र प्रवद्र्धन कार्यले अझ मलजल गरेको छ । कुनै पनि समुदायको भाषा, कला, संस्कृति पर्वहरु देशको अमूल्य गहना भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सरकारको जिम्मेवारी उत्तिकै देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here