हुकुमको जवाफ छैन, मुर्खको ओखती छैन

0
880


नेपालमा लामो समयसम्म हुकुमको जवाफ छैन, मुर्खको ओखती छैन भन्ने यी दुबै उखान प्रचलित र प्रभावकारी भए । तर, २०६५ सालमा गणतन्त्र आएर सोही आधारमा २०७२ सालमा गणतन्त्रात्मक संविधान जारी भएपछि मुर्खको ओखती छैन भन्ने उखान मात्र प्रभावकारी रहँदै आएकोमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर आफ्नो विरोध गर्नेहरुलाई पाँडे गालीमा सत्तोसराप गर्न थालेपछि भने दुबै उखान पुनः प्रभावकारी बन्न थालेका छन् । समाजमा यी दुबै उखान प्रभावकारी हुनु भनेको खतराको घण्टी बजिरहनु हो । अहिले त्यही भइरहेको छ ।
शीर्षक पुष्टि :

जहाँ राजा वा तानाशाह हुन्छन् त्यहाँ हुकुमको जवाफ छैन भन्ने उखान चलिरहेको हुन्छ । अहिले त नेपालमा राजा पनि छैनन् र तानाशाह पनि छैनन् । तर, पनि यो उखान प्रभावी हुन थाल्यो । २०७२ सालयता निष्प्रभावी भएको यो उखान अहिले २०७७ पुस ५ गते यता प्रभावी भएको छ । अहिले हुकुम गर्ने स्थान दुईवटा छन्, एक राष्ट्रपति र अर्को प्रधानमन्त्री । यी दुबै मिल्दा हुकुम पनि आउन थालेको छ भने घोषणा पनि पटक–पटक आउन थालेका छन् । यस्ता हुकुमको जवाफ हुँदैन । किनकि यस्ता हुकुमलाई कायम राख्न आलोचकलाई दबाउने काम गरिन्छ । दबिएन भने मात्र कुरा बाहिर आउने हो ।

त्यसैगरी मुर्खको ओखती हुँदैन । अहिलेसम्म मुख्र्याईं गरेबापत ओखती खुवाएर निको भएको तथ्यांकै छैन । नेपालमा मात्र होइन विश्वमै मुर्खको ओखती बनाएकै छैनन् । हुँदैन भनेर पहिला भन्थे । अहिले पनि ओखती बनाएका छैनन् । अझ केही दिनयता राजनीतिक दलका नेताहरु अझ शीर्ष तहमै बसेकाहरु मुर्खले जस्तै काम गरिरहेको देखिएको छ । त्यसमाथि प्रधानमन्त्री ओलीकै भाषणमा कुनै नीति, सिद्धान्त, विचार र कार्यशैलीका कुराभन्दा गाली, धम्की, चेतावनी, चुनौति, न्यायालय माथि दबाब बनाउने कार्यक्रम र भाषण आदि रहेका छन् । यी गाली र धम्कीको ओखती अहिलेलाई देखिएको छैन । नत आयुर्वेदमा न एलोप्याथीमा मुख्र्याईंको ओखती नै बनेको छ । मुर्खको ओखती भनेको मुख्र्याई गर्न छोड्नु नै हो ।

हुकुमको जवाफ छैन :

घटना अचानक भएको त होइन । तर, संविधानले बहुमत पाएको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको हुँदा उनकै पार्टीका नेता जो उनलाई राजीनामा गराउन अधिकतम दबाब दिँदै थिए ले विश्वास गरेका थिएनन् । यही अविश्वासकै बीच प्रधानमन्त्री ओलीले अवशिष्ट अधिकारको प्रयोग गरेजस्तै गरी प्रतिनिधि सभा विघटन गरिदिए ।

ओलीको विघटन गर्ने सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हुकुम प्रमांगी गरिदिइन् । अर्थात् विघटनको सिफारिस संविधानसम्मत छ छैन भन्ने विश्लेषण नगरी उनले सदर गरिदिइन् । मानौं यो हुकुम प्रमांगी हो । नेपालका राजाहरु हुकुम प्रमांगी गर्थे । भण्डारीले त्यही गरिन् । हामीले अर्थात् नेपाली जनताले सक्रिय राष्ट्रपति खोजेको होइन । तर, संविधान विपरित सिफारिस सदर गर्ने निरीह र विरालोले मुसालाई लठ्याएर खेलाए झैं प्रधानमन्त्रीले खेलाउने राष्ट्रपति पनि खोजेको होइन । किनकि राष्ट्रपतिलाई संविधानको संरक्षक भनेर संविधानमै लेखिएको छ ।

रक्षकले नै भक्षकको काम गर्नु हुँदैनथ्यो । उनले सिफारिसमा हुकुम प्रमांगी गर्नुअघि यस्तो विवादास्पद सिफारिस संविधानसम्मत छ छैन भनेर सर्वोच्च अदालतसँग राय माग्न सकिन्थ्यो । सर्वाधिकार तथा देशकै सार्वभौमसत्ता आफ्नै हातमा भएका राजा विरेन्द्रले पनि एकपटक सर्वोच्चको राय लिएर मात्र काम गरेको नजिर थियो । सर्वाधिकार सम्पन्न राजाले बक्सेको हुकुमको जवाफ हुँदैनथ्यो । किनकि राजाको हुकुम नै कानून हुन्थ्यो । अहिले त त्यस्तो अधिकार न दुईतिहाइको प्रधानमन्त्रीलाई छ न राष्ट्रपतिलाई ।

यस्तो हुँदाहुँदै पनि विघटनको हुकुम भएकोले अब यसको जवाफ खोज्ने दुईवटा बाटा छन् । एक अहिले सर्वोच्च अदालतमा बहस भइरहेको बाटो र अर्को जनविद्रोहको बाटो । पहिलो बाटो अहिले रोजिएको छ । जनताले नै बनाएको संविधान भएकोले यही बाटो नै उपयुक्त पनि हो । संविधानले पनि संविधानको ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई दिएकोले चित्त नबुझे पनि उसको निर्णय मानेर अघि बढ्नु बुद्धिमानी हो ।

मुर्खको ओखती छैन :

माथि नै चर्चा गरियो, मुर्खको ओखती छैन । अहिले एकले अर्काको सत्तोसराप गर्ने काम जो भएको छ एकदम गलत ढंगले भइरहेको छ । राजनीतिमा आलोचना गरिन्छ एकले अर्काको । विरोध पनि गरिन्छ र गर्नुपर्छ एकले अर्काको । तर, त्यस्तो विरोधको भाषा राजनीतिक हुन्छ । कार्यक्रमिक हुन्छ । पाँडेगाली हुँदैन । तुच्छ भाषामा गाली गर्नुहुँदैन ।

पुस ५ गतेयता नेकपामा ओली र प्रचण्ड–नेपाल गुट खडा भएको छ । औपचारिकरुपमा पार्टी नफुटे पनि दुबै गुटले एकअर्कालाई कारवाही गर्नेदेखि लिएर अलग–अलग अध्यक्ष र जिम्मेवारी पनि हेरफेर गरेका छन् भने आफू नै असली नेकपा हो भनेर निर्वाचन आयोगमा दाबी पनि पेश गरेका छन् । त्यसैगरी हरेक दिनका भाषणमा सुन्दैछु, एकले अर्कालाई खुइल्याउने गरी भाषण ठोकेका छन् । एकले अर्कालाई अपराधी भन्नसम्म भ्याएका छन् । यसैलाई पंक्तिकारले मुर्खता भनेको हो । यसको ओखती कहाँ हुनु, कसले बनाउन सक्छ र !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here