चौथो राष्ट्रिय भाक्का दिवसमा हजारौंले चाखे भाक्काको स्वाद

0
1064

तुलसीप्रसाद निरौला ,बिर्तामोड । पुसको लगलग काम्ने जाडो अनि जाडोमा सवैले सम्झने खाजा –भाक्का ।

 

पूर्वी तराईमा विशेष गरी जाडोको समयमा बिहानको खाजाको रुपमा खाने गरिएको भाक्काको बुधबार झापाका सांसदहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी वलका प्रमुख, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, कचनकवल गाउँपालिका, गौरादह नगरपालिका, आदिवासी जनजाती महासंघ र स्थानिय संघ संस्थाका प्रमुख लगायत हजारौंले सहभागिता जनाउँदै स्वाद लिए ।

कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा आयोजना गरिएको चौथो राष्ट्रिय भाक्का दिवसमा कोच राजवंशी समुदायका भाक्कावेनी( भाक्का वनाउने महिला )हरुले भाक्काका परिकार बनाएर सबैलाई निःशुल्क खुवाएका थिए ।

कोच राजवंशी समुदायको पहिरन र मौलिक गरगहनामा सजिएका उनीहरुले कोच राजवंशी समुदायको संस्कार र संस्कृति दर्शाउँदै भाक्काको स्वाद चखाएर यसको फाइदाको बारेमा पनि जानकारी गराएका थिए ।

राष्ट्रिय भाक्का दिवस मनाउन भेला भएका सहभागीलाई भाक्काको स्वाद चखाउनुका साथै घुँघुरु नृत्य, विटीएम डान्स क्रिउका कलाकारको नृत्यद्वारा मनोरञ्जन प्रदान गरिएको थियो भने गायक प्रजेश राजवंशी, राम राजवंशीले गीत प्रस्तुत गरेका थिए ।

त्यहाँ प्रदर्शनीमा राखिएको कोच राजवंशी समुदायको पहिरन ,लोक साँस्कृतिक बाजाहरु, गरगहनाहरुको स्टलले कोच राजवंशी समुदायको मात्र नभएर अन्य समुदायका सहभागिको पनि ध्यान तानेको थियो ।

कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाउँदै आएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।

कोच राजवंशी समुदायसहित गनगाँई, ताजपुरियासहितका आदिवासी समुदायले घरमै बनाएर खाने भाक्का पछिल्लो समय अन्य जातजातिबीच लोकप्रिय बनेपछि भाक्काको प्रवद्र्धन गर्न प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी ‘राष्ट्रिय भाक्का दिवस’ मनाउन थालिएको उनले बताए ।

गाउँघरमा प्रचलित यो परिकार अहिले शहरमा पनि रोजाईमा पर्ने गरेका कारण गाउँदेखि शहर जोड्ने साझा कार्यक्रमको रुपमा सबै समुदायलाई सहभागी गराएर शहरमा कोच लोक साँस्कृतिक कार्यक्रम गरी ‘राष्ट्रिय भाक्का दिवस’ मनाउन थालिएको उनले बताए ।

कोच राजवंशी समुदायसहित गनगाँई, ताजपुरियासहितका आदिवासी समुदायले मौलिक परिकारका रुपमा खाने भाक्कालाई थप व्यवस्थित गर्दै खाजाकै रुपमा विक्री वितरण गर्न सकिए स्वास्थ रहन समेत टेवा पुग्ने सहभागीले बताए ।

सोही कार्यक्रममा कोच राजवंशी समुदायका १० जना भाक्कावेनी( भाक्का वनाउने महिला )हरुलाई ग्लोवल सेफ फेडेरेशनले प्रमाणपत्र प्रदान गरेको थियो भने कार्यक्रमका अतिथीहरुलाई मानेर सान्दुस प्रदान गरिएको थियो ।

कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीको अध्यक्षता तथा राजवंशी समाज विकास समितिका संस्थापक फूलसिंह राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अर्जुन राजवंशीले गरेका थिए ।

यसैबीच राजवंशी समाज महिला विकास समिति बाह्दशीको आयोजनामा बाह्दशी –३ घाटोसरी घाट घाग्रापुलमा चौथो राष्ट्रिय भाक्का दिवस मनाइएको छ ।

संस्थाकी अध्यक्ष सुकमति राजवंशीको अध्यक्षता तथा बाह्दशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिकी उपाध्यक्ष पद्मा राजवंशीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा बाह्दशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी,   दयानन्द गोश्वामी, दिलबहादुर नेम्वाङ , भूपेन्द्र कटुवाल , पीवी कटुवाल ,तोयानाथ पोखरेल , रेनुका भूर्तेललगायतले भाक्कालाई सवैको साझा खाजा बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागीलाई भाक्का खुवाइएको कार्यक्रमको सञ्चालन राजवंशी समाज विकास समिति बाह्दशीका सचिव हेमप्रसाद राजवंशीले गरेका थिए ।

त्यस्तै चौथो राष्ट्रिय भाक्का दिवसको अवसरमा बाल सुबोधिनि माध्यमिक बिद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई भाक्का खुवाइएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले जानकारी दिए ।
बिद्यालयमा अध्ययनरत् साढे चार सय जना विद्यार्थीहरुलाई आमा समुहका अभिभावकहरु बान्नी राजबंशी र डुम्की राजबंशीले विद्यालयमै भाक्का पकाएर खुवाएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here