फोहोरमैलाको पैसा खोइ ?

३ माघ २०७७, शनिबार मा प्रकाशित
  • 831
  •  
  •  
  •  
  •  
  •  
    831
    Shares

कथा

‘शहरमा नगरपालिकाले राखेका फोहोर संकलन गर्ने कन्टेनरहरुमा मात्र फोहोर फाल्नु होला । अन्यथा जथाभाबी फोहोर फाल्नेसँग नगरपालिका कार्यालयले उच्चदरको जरिवाना असुल गर्नेछ ।’

नेपालको कुनै शहरमा त्यहाँको नगरपालिका र वडा कार्यालयहरुले ठाउँ–ठाउँमा सूचना टाँस गर्छन् । शहरमा कर कार्यालय पनि सञ्चालन छ । एक नयाँ कर अधिकृत कर कार्यालय जाँदा–आउँदा ठाउँ–ठाउँका ती सूचना देख्दछन् । कर अधिकृत खुशी हुन्छन् । किनकि जथाभाबी फोहोर फाल्नेसँग असुल गरेको जरिवानाबाट पनि नगरपालिकाले कर कार्यालयमा निश्चित कर जम्मा गर्नुपर्छ । जसले गर्दा कर कार्यालयलाई लक्ष्य हाँसिल गर्न सजिलो हुन्छ ।

शहरबासीहरुको नराम्रो बानी के छ भने उनीहरु जहिले पनि जथभाबी फोहोर फाल्ने गर्दछन् । विशेषगरी शहरका पसल, दोकान र होटलहरुबाट जथाभाबी दैनिक फोहोर फालिने गरिन्छ । शहरमा राम्रो पक्ष पनि छ । त्यो के त भने, फोहोरमैला बढेर शहर कुरुप भएकाले शहर सफासुग्घर र सुन्दर राख्न जागरुक स्वमय्सेवी समूह, संस्था तथा अभियन्ताहरु पनि छन् । उनीहरु शहर सफा राख्न बाक्लै सफाई अभियान चलाउने गर्दछन् ।

नयाँ कर अधिकृत कहाँ नगरपालिका सम्बन्धी फाइल आइपुग्छ । कर अधिकृत खुशी हुन्छन् । किनकि नगरपालिकाबाट मनग्गे कर जम्मा भएको हुनुपर्छ भन्ने कर अधिकृतलाई लाग्दछ । तर, कर अधिकृत निराश हुन्छन् । किनकि नगरपालिकाबाट समुचित कर बुझाइएको छैन रहेछ । कर अधिकृत नगरपालिका कार्यालय जाने निधो गर्दछन् । उनी नगरपालिका पुग्दछन् । नगरपालिकाका कर्मचारी तथा पदाधिकारीबाट चित्तबुझ्दो उत्तर नआएपछि जब कर अधिकृत नगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी फाइल केलाएर हेर्दछन् तब कर अधिकृत आश्चर्यमा पर्दछन् ।
कर अधिकृत के पाउँदछन् भने शहरमा जथाभाबी फोहोर फाल्नेहरुबाट जरिवाना नै असुलिएको छैन रहेछ । जथाभाबी फोहोर फाल्नेहरुबाट जरिवाना असुलिने सूचनाबारे कर अधिकृत नगरपालिका प्रतिनिधिलाई प्रश्न गर्दछन् । त्यस्तो सूचना टाँस गरिएको कुरा नै बिर्सिसकिएछ भनेर नगरपालिकाले गैरजिम्मेवारपूर्वक उत्तर दिन्छ । तर, सूचना टाँस गरिएपछि त जरिवाना असुली अनिवार्य हुन्छ भनेर कर अधिकृत सम्झाउँदछन् । किनकि सूचना टाँस पश्चात पनि शहरमा जथाभाबी फोहोर फाल्न रत्तिभर कम नभएको कर अधिकृत स्वयम्ले दैनिक देखेका छन् । नगरिपालिका प्रतिनिधि अक्क न बक्क पर्दछन् ।

कर अधिकृत गहिरिएर फाइल हेर्छन् । उनले के पाउँछन् भने, शहरबासी, पसल दोकान र होटलहरुबाट जथाभाबी फालिएका फोहोर बटुलेर कन्टेनरमा भरेवापतको दैनिक खर्च भनेर नगरपालिकाले खर्च देखाएको छ, तर जरिवाना चाहिँ असुल गरिएका छैनन् । हप्तामा एक–दुई पटक मात्र कन्टेनर उठाएर फोहोर व्यवस्थापन गरेको कुरा कर अधिकृत आफ्नो कार्यालय जाँदा–आउँदा आफ्नै आँखाले देखेका छन् । तर, नगरपालिकाले भने दैनिकजसो कन्टेनर उठाएर फोहोर व्यवस्थापन गरेको खर्च देखाएको छ । यसबारे प्रश्न गर्दा कर अधिकृतकोमा एउटा बेनामी खाम आइपुग्छ । ‘यो के को चिठी हो ?’ भनेर कर अधिकृतले सोध्दा चिठी ल्याउनेले भन्छन्– ‘सर यस खाममा फोहोरको मोहर छ क्या ।’

नगरपालिकाका कर्मचारी र पदाधिकारीका चाल थाहा पाएर कर अधिकृत चकित पर्दछन् । कर अधिकृत एक्सनमा आउँछन् र भन्छन्– ‘यस नगरपालिकालाई कर छलिको कारबाही हुन्छ अब ।’ छिन्मै अर्को पनि खाम आइपुग्छ । कर अधिकृत कड्केर भन्छन्– ‘यी खामहरु लानुस्’ तर खाम ल्याउने व्यक्ति मिलिक्कै बेपत्ता हुन्छन् । कर अधिकृत नगर प्रुमख, उपप्रमुख र प्रशासकीय अधिकृत खोज्दछन् । तर, भर्खरै नगरपालिका कार्यालयभित्रै भएका उनीहरु बाहिर गएको जानकारी पाउँदछन् ।

कर अधिकृत नगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी फाइल मिहीनरुपमा हेर्छन्, तब उनको स्वास नै रोकिएला जस्तो हुन्छ । शहरका स्वयम्सेवी समूह, संस्था तथा अभियन्ताहरुले शहर सफा राख्न चलाएको अभियानहरुको समेत बिल बनाएर खर्च देखाइएको रहेछ । ‘आफ्नो शहर सफा राख्न शहरबासीहरु स्वयम् जागरुक हुनुपर्छ’ भन्ने नारासहित थुप्रै पटक शहर सफा गर्ने अभियान चलाएको भनेर अभियन्ताहरुले गरेका कामलाई खर्च देखाइएको रहेछ ।
एकातिर जरिवाना असुलेको छैन, तर उल्टै जथाभाबी गरिएको फोहोरमैला संकलनवापत बजेट खर्च देखाइएको छ । अर्कोतिर निःशुल्क रुपमा अभियन्ताहरुले गरेका कामलाई पनि चलाकीपूर्ण तरिकाले खर्च देखाइएको छ, तर ती खर्च वापत सुको कर दाखिला गरिएका छैनन् ।

कर अधिकृत एक्सनमा आउने बुझेपछि नगरपालिकाका एक प्रतिनिधि आएर कर अधिकृतलाई सुटुक्क भन्छन्– ‘खाने मुखलाई जुङ्गाले छेक्दैन सर ! झन् कर अधिकृत सरको त जुङ्गा नै छैन रछ । सर कर कार्यालय जाँदै गर्नोस् भरे साँझतिर अर्को खाम पठाइदिने सल्लाह भाको छ ।’ कर अधिकृत कड्किन्छन्– ‘चुप लाग्नुस् । अब तपाइहरु उपर अनुसन्धान हुन्छ । यी खामहरु घुस दिएको प्रमाणको रुपमा र आर्थिक अनियमितता गरेको प्रमाणको रुपमा यो फाइल पेश गरिने छ । नगरपालिकाले टाँस गरेको सूचना, अभियन्ताहरुले शहर सफा राख्न चलाएका अभियानका फोटाहरु र अरु थुपै प्रमाण संकलन गरेको छु ।’

बीचैमा नगरपालिका प्रतिनिधि भन्छन्– ‘अनुसन्धान त तपाइँ उपर पो हुन्छ त कर अधिकृत सर ! खाम जो तपाईले लिनु भएको छ नि, त्यहाँ भएका नोटका नम्बर टिपिएका छन् ।’ ती प्रतिनिधि थप भन्छन्– ‘यो फोहोमैला एउटामात्र काम भयो । नगपालिकाको अरु थुप्रै कामहरु छन् । जस्तैः पुल, कलभर्ट, नाला ढल, बाटो, भूमि विकास, लगायत विकास निर्माणका कामहरु र कृषि, स्वास्थ्य, शिक्षा, तालिम, लक्षित वर्ग, क्षमता विकास, अवलोकन भ्रमण आदि÷इत्यादि भनि साध्य छैन । कर अधिकृत सरले कुरो बुझ्नु भो होला नि । अनुसन्धानतिर लाग्नु भयो भने सरको जुनि बित्छ ।’ कर अधिकृत कडा स्वरमा भन्छन्– ‘तपाइँहरु उपर गहन अनुसन्धान हुन्छ ।’

यत्तिकैमा नगरपालिका हाता बाहिर साइरन बजेको आवाज आउँछ– ‘टुँडुँ टुँडुँ टुँडुँ’…। टाउकामा राता बत्ती बलेसहित मोटरका हन्जा चर्को साइरन बजाउँदै नगरपालिका परिसरभित्र छिर्दछन् । नगरपालिकाभित्र हल्लीखल्ली मच्चिन्छ ‘लौ के बित्याँस आइलाग्यो’ भनेर ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here