दुर्घटना बढ्दो, रोक्न सकस: शिक्षितले नै मान्दैनन् ट्राफिक नियम

३ माघ २०७७, शनिबार मा प्रकाशित

झापा।

अधिकांश सडक दुर्घटनाको प्रमुख कारण ट्राफिक नियमको पालना नहुने रहेको छ । सवारीसाधन चलाउँदा वा पैदल हिँड्दा नै किन नहोस्, धेरै मानिसले ट्राफिक नियम उल्लंघन गरिरहेका हुन्छन् । जसमा शिक्षित मानिसले नै बढी मात्रामा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेका छन् । जसका काराण दुर्घटना बढ्ने गरेको सरकारी तथ्याङ्क छ ।

चालकले तीव्र गतिमा सवारी हाँक्ने, ट्राफिक संकेत नमान्ने, जथाभावी गाडी रोक्ने, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता कार्य गरेकै कारण झापामा दिन प्रतिदिन सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ । अझ सडकको दुरावस्था, सवारीको चाप बढ्नु र चिसो मौसममा बाक्लो हुस्सु लाग्नुले पनि सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगूले बताए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दिनहुँ सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सवारी चालकले अटेरी गर्दा झापामा चालू आर्थिक वर्षको ६ महिनामा मात्रै ३८ जनाले ज्यान गुमाएका छन् । पुस मसान्तसम्ममा भएका २ सय ४३ वटा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् भने माघको १ गते भएको दुर्घनामा परी दुई जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा परी पुस मसान्तसम्ममा ज्यान गुमाउनेमा ३० पुरुष ४ महिला र ४ जना बालक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते १६६ र सामान्य घाइते २०२ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा भएका सवैभन्दा धेरै दुर्घटना मोटरसाइकल नै छन् । मोटरसाइकल मात्रै ६ महिनाको अवधिमा २१९ वटा दुर्घटना भएका छन् ।

सडकको दुरावस्था र दिनप्रतिदिन बढ्दो सवारी चापका कारण झापामा दिनहुँ जसो दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कोरोना भाइरसका कराण नेपालमा लकडाउन शुरु भएयता मात्रै निजी सवारी प्रयोगकर्ता बढेपछि सवारी चाप थपिएको प्रहरी निरीक्षक जवेगूले बताए । कोरोनाका जोखिमका कारण सार्वजनिक यातायातमा यात्रा गर्नेको संख्या घटे पनि निजी सवारीमा सवार गर्नेको चाप भने बढ्दो मात्रामा रहेको छ ।

ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम अन्तर्गत ट्याक्टर, साइकल लगायतका सवारीमा टाढैबाट टल्कने स्टीकर टाँस्ने अभियान, ट्राफिक डमी, मादक पदार्थ सेवनकर्तालाई सवारी चलाउन नदिन चेकजाँच लगायतका दुर्घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गरे पनि चालकको अटेरीपनले दुर्घटना बढेको प्रहरी निरीक्षक जवेगू बताउँछन् ।
मादक पदार्थ सेवन गरी ट्राफिक प्रहरीलाई छक्याएर सवारी चलाउनु पनि दुर्घटनाको अर्काे प्रमुख कारण रहेको छ– प्रहरी निरीक्षक जवेगू भन्छन्– यस्तो कार्यमा शिक्षित मानिस नै बढी भेटिने गरेका छन् । उनीहरुलाई सम्झाई बुझाई गरेर मात्रै नपुगेपछि स्पटमै कारवाही गर्ने गरिएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट एक करोड ७१ लाख ५ हजार रुपैयाँ राजश्व संकलन गरिएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

पुस महिनामा मात्रै ५ हजार ५० वटा सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेमा मोटरसाइकल ट्रक, टिपर, बस जिप, कार, भेन, ट्याक्टर, टेम्पो तथा अटो सिटी सफारी रहेका छन् ।
सडकको लेन अनुशासन पालना नगर्नेमा निजी सवारी साधन रहेकाले अनावश्यक रुपमा ओभरटेक गर्दा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतका अन्य सहायक मार्गहरु सिधै जोडिएका कारण समेत बाटो काट्दा सवारी दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सडकमा सचेतनामूलक वोर्डहरु राखे पनि चालकले उक्त विषयमा ध्यान नदिनु, सवारीको उचित चेक जाँच नगरी सञ्चालन गर्नु पनि दुर्घटनाको अर्काे कारण रहेको प्रहरी निरीक्षक जवेगूको भनाइ छ । अधिकांश दुर्घटनामा युवाको मृत्यु गरेको तथ्याङ्ले देखाउँछ ।

झापामा हुने सवारी दुर्घटना रोक्न विभिन्न संघ–संस्थाको अगुवाईमा हरेक वर्षको असोज १ गते दुर्घटना न्यूनीकरण महाअभियान सञ्चालन गरिए पनि सडक प्रयोगकर्ताले ट्राफिक नियम पालना नगर्दा दुर्घटना हुने गरेको बताइएको छ ।
दुर्घटना रोक्न ट्राफिक प्रहरीले विभिन्न खाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपनि दुर्घटना नरोकिए पछि ट्राफिक प्रहरीलाई दुर्घटना रोक्न सकस भएको छ ।

दुर्घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लामा १७ वटा ट्राफिक प्रहरी युनिटबाट ट्राफिक प्रहरी परिचालन गरेपनि दुर्घटना रोक्न सकस भएको प्रहरी निरीक्षक जवेगूले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here