‘जब भ्याकेन्सी’को विज्ञापन राखेर ठग्दा…

0
882

काठमाडौं।

 

सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’ को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका–८ घर भएका २३ वर्षीय शिव खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा ‘जब भ्याकेन्सी’ नामको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई शुरूमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खड्कालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

उता ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाइप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका–१ ओख्रेनी तीनधारा बस्ने मालिका गाउँपालिका–६ अर्जे घर भएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन् ।

राम प्रसादले आफ्नो घरमा अपरिचित व्यक्तिहरु आई अशान्ति मच्चाइरहेको भन्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएपछि आवश्यक अनुसन्धानको लागि खटिएको प्रहरीले ईश्मा गाउँपलिका–३ दर्लामचौर बस्ने ६४ वर्षीय रामबहादुर कुमाल (मुखिया) लाई आगोले पोल्दा मृत्यु भएको तथा उनका जेठो छोरा ३४ वर्षीय हुमबहादुर मुखिया सामान्य घाइते अवस्थामा फेला परेका थिए । गतआइतबार रामप्रसादको घरमा गएका रामबहादुरलाई उपचार गर्ने बहानामा खाना खान समेत नदिई आगोमा तताएको फलामे बस्तुले डामेपछि सञ्चो हुन्छ र आफैं एकछिनमा उठ्छन् भन्दाभन्दै उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै रेसुङ्गा नगरपालिका–५ भुवनपानी बस्ने ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने बहानामा रामप्रसादले गत शनिबार बोलाई सोही विधिबाट पोली डामी घाइते बनाएको खुल्न आएको बताइएको छ । टोपलाललाई उपचारको लागि अस्पतालतर्फ पठाइएको छ ।

साथै अभियुक्त श्रेष्ठले रामबहादुरको मृत्यु शंका गरी आफू जोगिनका लागि बहाना बनाई झुटो झै–झगडाको निबेदन दिएको समेत खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here