दमकमा स्वास्थ्य भवन शिलान्यास

0
642

झापा ।

झापाको दमक–४ मा आधारभूत स्वास्थ्य भवन निर्माणका लागि शिलान्यास भएको छ । दमक नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्यका लागि स्वास्थ्य भवन बनाउने योजनाअनुरूप दमक–४ मा भवन निर्माणको थालनी भएको हो ।

भवनको शिलान्यास दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, दमक–४ वडाध्यक्ष कुमार साम्सुहाङलगायतले गरेका थिए ।

शिलान्यास कार्यक्रममा मेयर ओलीले जनताका आधारभूत आवश्यकता पूरा गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । संघीयताको मर्म अनुसार स्थानीय सरकारले जनताका गुनासालाई नजिकबाट नियालेर काम गरेको उनले दाबी गरे । उपमेयर अधिकारीले दमकमा स्वास्थ्य सेवालाई विस्तार गरिने बताइन् । उनले दमक अस्पतालमा पनि विशेषज्ञसहितको सेवा विस्तार गरिएको बताइन् ।

वडाध्यक्ष साम्सुहाङले समयमै निर्माणको काम सकिने र उपचारका लागि वडाबासीले निजी क्लिनिकका एचएलाई भेटिरहनु नपर्ने बताए । दमक नगरपालिकाका इञ्जिनियर अनन्त सेनेहाङले गुणस्तरहीन काम भएको पाइए सोझै आफूलाई सम्पर्क गर्न नागरिकलाई आग्रह गरे ।

दमक–४मा उक्त आधारभूत स्वास्थ्य भवन निर्माणका लागि स्थानीय डम्बरमाया उप्रेती, अम्बिका पाठक, श्रीमान धिमाल, शारदा खरेल, एकनाथ शिवाकोटी, उमेश धिमाल, मिनाक्षी धिमाल, सुरज धिमाल र वैधबहादुर धिमालले जग्गा दिएका थिए ।

उक्त भवन निर्माणको जिम्मा माङ्सुवा–प्रवीन जेभीले पाएको छ । नगरभरिका ६ वटा आधारभूत स्वास्थ्य भवनको निर्माणका लागि चार करोड ७५ लाख ८ हजार १ सय २७ रुपैयाँमा ठेक्का लगाइएको दमक नगरपालिकाले जनाएको छ । यी भवन आउँदो वर्षको कार्तिकमा निर्माण सम्पन्न हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here