सुखानी पुग्ने पर्यटकहरुलाई लक्षित गरी राष्ट्रिय तथा विभिन्न जातिको पोशाक

0
1473

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९स्थित चर्चित पर्यटकीय स्थल सुखानी शहीद स्मृति उद्यानमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी राष्ट्रिय पोशाकसँगै विभिन्न जातिको पोशाक तथा गहनाहरुको स्टल शनिबारदेखि सञ्चालनमा ल्याइएको छ ।

उद्यानमा आउने पर्यटकहरुको मागलाई ध्यानमा राखी सुखानी शहीद स्मृति प्रतिष्ठान र उद्यान व्यवस्थापन समितिको स्वीकृती लिई परीक्षणकोरुपमा उक्त स्टल सञ्चालनमा ल्याइएको सञ्चालक आरके महतराले बताए ।

प्रारम्भिक लगानी दुई लाख ५० हजार रुपैयाँको लागतमा सञ्चालक महतरा र राज सुब्बाको संयुक्त प्रयासमा स्टल सञ्चालनमा ल्याइएको हो । स्टलमा राष्ट्रिय पोशाकसँगै गुरुङ, तामाङ, थारु, नेवार, मगर, राई, लिम्बू र सुनुवार जातिको पोशाकसँगै गहना लगाउन पाइने अर्का सञ्चालक सुब्बाले जानकारी दिए ।

नेपाली संस्कृति झल्काउँदै विभिन्न जातिको पोशाकसँगै गहनाको पर्यटनको माध्यमबाट प्रबद्र्धन गर्ने उद्धेश्यले सञ्चालनमा ल्याइएको उक्त स्टलमा आगामी दिनमा नगरपालिकामा बसोबास गर्ने सबै जातिको पोशाक र गहना पनि राखिने सञ्चालक महतरा बताउँछन् ।

प्रति व्यक्ति एक सय रुपैयाँ शुल्क तिरेपछी पाइने पोशाक र गहना लगाउन पाउने अधिकतम समय ३० मिनेट तोकिएको छ । नगरपालिकामा रहेका विभिन्न पर्यटकीय स्थलहरुमध्ये पहिलोपटक सुखानी शहीद स्मृति उद्यानमा यस किसिमको स्टल सञ्चालनमा आएको उनीहरुले दावी गरेका छन् ।

स्टल सञ्चालनको पहिलो दिन कमल गाँउपालिका–५ निवासी साइना महराले पहिलो सेवाग्राहीकोरुपमा तामाङ जातिको पोशाक र गहना लगाएकी थिइन् । नियमितरुपमा सञ्चालन हुने उक्त स्टलको आगामी नयाँ वर्षको अवसरमा औपचारिक कार्यक्रम गरी उद्घाटन गर्ने बताइएको छ ।

नमूना वनकोरुपमा रहेको साल प्रजातिका रुखहरु, आकर्षक उद्यानसँगै पाँच जना शहीदको पूर्णकदको शालिक, डुंगा शयर, झोलुङ्गे पुल, चिल्ड्रेन पार्क, कछुवा उद्धार तथा संरक्षण केन्द्र, वनभोज स्थलसँगै सञ्चालनमा ल्याइएको उक्त पोशाक तथा गहनाको स्टल त्यहाँ पुग्ने पर्यटकहरुका लागि थप आकर्षणको विषय हुने सबैको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here