नेपाली कांग्रेसको शान्तिपूर्ण जुलुसमा प्रहरी हस्तक्षेप (भिडियो सहित )

३ माघ २०७७, शनिबार मा प्रकाशित

झापा,
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलित बनेको नेपाली कांग्रेसले शनिवार बिर्तामोडमा राँके जुलुस प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रहरीविरुद्ध नै चर्का नारावाजी भएको थियो । प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै प्रदर्शनमा उत्रिएको कांग्रेसको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै केही बेर तनाव सृजना भएको थियो ।


बिर्तामोडस्थित पुरानो भद्रपुर रोडबाट निकालिएको राँके जुलुस बिर्तामोडस्थित मुक्तिचौकमा आएर सभामा परिणत भएको थियो । सभामा नेपाली कांग्रेसका बिर्तामोड नगरसभापति भोजराज सिटौला, नेपाली कांग्रेसका प्रचार बिभाग प्रमुख कृष्ण हुमागाँई लगायतले सरकारले असंवैधानिक कदम चालेको भन्दै कडा शव्दमा भत्र्सना गरेका थिए । पार्टीका नगर उपाध्यक्ष लक्ष्मी आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । उता नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको थियो ।


पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा सिटी फुकेर प्रदर्शन गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आव्हान गरेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले झापाका १५ वटै स्थानीय तहमा बिरोध प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेस बाह्रदशीले पनि बाह्रदशी गाउँपालिकामा बिरोध प्रदर्शन गरेको छ । गाउँपालिका परिसरमा नेपाली कांग्रेसले सिटी जुलुस निकालेर प्रदर्शन गरेको हो ।


बाह्रदशी गाउँपालिका सभापति ओमप्रकाश गौतमको अगुवाइमा निकालिएको बिरोधसभामा गाउँपालिकाका अध्यक्ष तथा पार्टीका महाधिवेशन प्रतिनिधि खड्गप्रसाद राजवंशीले बोलेका थिए । कार्यक्रममा पार्टीका जिल्ला सदस्य तथा पर्यटन विभाग प्रमुख रामप्रसाद दुलालले स्वागत गरेको नेपाली कांग्रेस पर्यटन बिभाग जिल्ला सदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिइन् ।

भिडियो – 

उता सरकारको असंबैधानिक कदमबिरुद्ध नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा प्रतिकात्मक रेलसहित प्रदर्शन गरेको छ । कांग्रेस दमक नगर समितिको आयोजनामा भएको बिरोध ¥यालीमा प्रधानमन्त्रीले रेल र पानीजहाज ल्याउने ठूला – ठूला कुरा गरेर चुनाव जितेको तर अहिले भ्रष्टाचारी र कालोबजारीहरुको संरक्षणमा लागी नागरिकलाई आहत तुल्याएको भन्दै प्रतिकात्मक रेलको प्रदर्शन गरिएको थियो ।


सिटी रिक्सालाई रेलको प्रतिक बनाई गरिएको प्रदर्शनमा नेता कार्यकर्ता, भातृसंगठन र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनपछि दमक चोकमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै वक्ताहरुले ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकार एकपछि अर्को असंबैधानिक कदम चाल्न उद्धत रहेकाले जनताका अधिकार कुण्ठित हुनुका साथै लोकतान्त्रिक व्यवस्था खतरामा पर्दै गएको टिप्पणी गरे ।
सभामा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका पूर्वउपाध्यक्ष मेदनीप्रसाद सिटौलाले ओली नेतृत्वको वर्तमान सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर व्यवस्थापिका संसदको असमयमै अवसान गराएको आरोप लगाए । कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा भएको सभामा कांग्रेस विधि र नीतिमा अडिग रहेको नेता शर्माले बताए ।
सो अवसरमा कांग्रेस झापा क्षेत्र नं. ५का सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि रेगिना भट्टराई, नगर सभापति रोशन विष्टलगायतले पनि बोलेका थिए । यसअघि गत पुस २५ गते दमक कांग्रेसले बयलगाडासहित बिरोध प्रदर्शन गरेको थियो । केरर्खाबाट सहकर्मी उमानाथ भण्डारी लेख्छन्– झापाको कमल गाउँपालिकामा समेत काग्रेसले बिरोध प्रदर्शन गरेको छ ।
कमल गाउँपालिकाको केर्खा बजारमा भएको विरोध प्रदर्शनमा राजन ढुङ्गाना, जिल्ला सदस्य हुकुमसिंह राई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, आमन्त्रित केन्द्रीय सदस्य दिलीप राई लगायतले संसद विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक भएको बताए ।
नेपाली कंग्रेस कमल गाउँसभापति खगेन भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

उता  झापा गाउँपालिकाको झापा बजारमा पनि नेपाली कांग्रेसले बृहत बिरोध प्रदर्शन गरेको छ ।


नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बिरोध कार्यक्रममा क्षेत्र नम्बर ४ का सभापति जयनारायण शाहले बर्तमान कम्युनिष्ट सरकारको संसद बिघटनको असंवैधानिक कदमलाई जनताको हितको विरुद्धमा चालिएको कदम भएको र देशको आर्थिक अवस्थालाई जरजर बनाउनका लागि गरिएको निर्णय भन्दै जनतालाई उक्त निर्णय सहयनहुने बताए ।


झापा गाउँपालिका नेपाली काग्रेंसका सभापति मोतिलाल गणेशको सभापतित्वमा भएको उक्त कार्यक्रममा बर्तमान सरकारले गरेको संसद बिघटन र निर्वाचनको मिति तोकि देशको आर्थिक अवस्थालाई कमजोर बनाउन चालिएको कदम भएको भन्दै सबैले आ–आफ्ना बिचार राखेका थिए ।

कार्यक्रममा काग्रेंसका विभिन्न पदका नेतागण (महासमिति सदस्य उत्तम कुमार सुबेदी, जिल्ला सदस्य जगन्नाथ राजबंशी लगायत क्षेत्रीय महिला सभापति अन्जु थपलिया, नेपाली काग्रेंस झापाका पूर्व सभापति तथा महासमितिका सदस्य देवकुमार थेबेको समेत उपस्थिति रहेको थियो।

कांग्रेसले यस अघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा समेत विरोध प्रदर्शन गरिसकेको छ । यसअघि नेपाली कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here