दुर्घटना रोक्न सकिन्छ

४ माघ २०७७, आईतवार मा प्रकाशित

सडक सञ्जालको विस्तार भएसँगै दुर्घटनाको दर पनि बढ्दै गएको छ । अझ स्थानीय तहहरुमा सडक खोल्ने होड चलेपछि दुर्घटना झनै अनियन्त्रित हुँदै गइरहेको छ । जमिनको स्वरुप, भूगर्भको अध्ययन, निर्माण कार्यमा प्रयोग हुने उपकरण तथा त्यसको दूरगामी असरको अध्ययन, मूल्यांकन तथा विश्लेषण नगरी गरिने यस्ता कर्महरुले अनेक जोखिम निम्त्याउन थालेको छ । त्यसकै परिणाम हो कि प्रत्येक दिन सवारी दुर्घटना हुने क्रम बढेको छ र त्यसमा परी शारीरिक, मानसिक, आर्थिक तथा भौतिक क्षति बढ्दैछ । वैज्ञानिक अध्ययन, अनुसन्धान र विश्लेषण गरी सञ्चालन भएका सडकहरुमा भने ट्राफिक नियमको पालना नगर्ने कारणले दुर्घटना बढ्दै गएको सरोकारवालाको निष्कर्ष छ ।

सडक व्यवस्थापन तथा सुरक्षित यात्राको लागि जिम्मेवार इकाई ट्राफिक प्रहरी नै हो । झापामा त्यही इकाई अर्थात् जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले सडक व्यवस्थापनको काम गर्दै आएको छ । उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगूले शिक्षित मानिसले नै ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढ्दै गएको बताएका छन् । सवारी चालकले ट्राफिक नियमको उल्लंघन गर्ने गरेको र पैदलयात्रीले पनि सडकको जथाभावी प्रयोग गर्ने गरेकाले दुर्घटना न्यूनीकरण गर्न सकस भएको ट्राफिक प्रहरीको दुखेसो छ । त्यसो त दुर्घटनाको पूर्वानुमान गर्न सकिँदैन, तर थोरै पनि सचेतता अपनाउने हो र सडक प्रयोगकर्ताले संयमित, उत्तरदायीपूर्ण र नियमको पालना गर्ने हो भने यसलाई कम गर्न सकिन्छ ।

ट्राफिक प्रहरीले तीब्रगतिमा सवारी चलाउनु, ट्राफिक संकेतको पालना नगर्नु, जथाभावी पार्किङ गर्नु वा बिसाउनु, क्षमताभन्दा बढी यात्रु तथा भार बोक्नु, सडकको जीर्ण अवस्था जस्ता कारणले दुर्घटना रोक्न नसकिएको जनाएको छ । यो सँगै जाडोको मौसममा हुस्सु लाग्ने भएकाले सवारी दुर्घटना बढेको उसको भनाइ छ । झापामा मात्रै चालू आर्थिक वर्षको छ महिनामा दुई सय त्रिचालीस वटा सवारी दुर्घटना भए । त्यसमा परेर अड्तीस जनाले ज्यान गुमाएका छन् भने एक सय छैसठ्ठी जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरीको तथ्यांक अनुसार ती मध्ये दुई सय उन्नाइस वटा मोटरसाइकल दुर्घटना हुन् । यो तथ्यांकले पनि सडकमा दुई पाङ्ग्रेको चाप अत्यधिक रहेको देखाउँछ । सवारी चालकले थोरै पनि ट्राफिक नियमप्रति सचेत रहने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, अनुशासित रहने हो भने दुर्घटना न्यूनीकरण गर्न सहज हुने थियो । त्यसैगरी सडक व्यवस्थापन गर्ने नियकाले नियमित मर्मत–सम्भार गर्ने हो भने दुर्घटना रोक्न सकिने थियो । दुर्घटनाले हुनसक्ने क्षति कम गर्न सचेतनाका कार्यक्रमलाई तीव्रता दिँदै ट्राफिक जनशक्तिको उचित प्रबन्ध अहिलेको मुख्य आवश्यकता हो । यसो भए अकाल मृत्युको दरलाई कम गर्न र सुरक्षित जीवनको प्रत्याभूति गर्न सकिने थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here