कनकाई वनमा नयाँ नेतृत्व छानिँदै

0
1529

सुरुङ्गा ।

कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाको नयाँ नेतृत्वको चयन हुने भएको छ ।

उक्त वन समूहको उन्नाइसौं टोल प्रतिनिधि सभाले आगामी माघ १७ गते शनिवार २३ औं साधारणसभा तथा नवौं अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।

वन समूहको सभाहलमा सम्पन्न ९ वटा टोलका १ सय ५३ र ५ मनोनित तथा ५ पदाधिकारी गरी जम्मा १ सय ६३ जनाको टोल प्रतिनिधि सभामा वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रकाश थापाद्वारा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रम एवम् लेखा समिति सदस्य माधव ढकालद्वारा प्रस्तुत आन्तरिक लेखा परीक्षण प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरिएका थिए ।

आगामी माघ १७ गते टोल प्रतिनिधि सभाद्वारा पारित सबै प्रतिवेदनहरु प्रस्तुत गरिनेछन् भने आगामी कार्यकालका लागि नयाँ नेतृत्वको पनि चयन हुनेछ । सर्वसम्मत हुन नसके केही समयावधि राखेर चुनावको मिति तोकिनेछ । २६७.०६ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वन समूहमा हाल ३ हजार ४ सय १७ घरधुरी ‘क’ वर्गको सदस्यको रुपमा रहेको कार्यालय सचिव नेत्र भट्टराईले जानकारी दिए् ।

वन समूहका अध्यक्ष ओलीको सभापतित्वमा भएको कार्यक्रममा कनकाई सब–डिभिजन कार्यालयका प्रमुख नथुनी गैवार यादवको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल, २ नं. वार्ड अध्यक्ष परशुराम गिरी, सल्लाहकार भीष्म मैनाली लगायतको विशेष आतिथ्य रहेको थियो । कार्यक्रम सचिव मान्ता खरेलले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here