
सत्ताधारी नेकपाको फुट जुनेली रातमा बिस्कुन सुकाउने ‘अति चतुर’ मानिसहरुको कथासँग तुलना गर्न सकिन्छ । टन्टलापुर घाम लागेको बेलामा बिस्कुन सुकाउँदा बिस्कुन त सुक्ने भयो, तर उधुम गर्मीले बिस्कुन हेर्नेलाई सास्ती हुने भयो । गर्मीबाट कसरी मुक्ति पाउने भनेर टोलाइरहेको बेलामा तथाकथित सल्लाहकार, कुटिल षडयन्त्रकारी र विरोधीहरुले जुनेली रातमा बिस्कुन सुकाउँदा बिस्कुन पनि सुक्ने र गर्मीबाट पनि जोगिने सुझाएपछि घाममा सुकाइएको बिस्कुन उठाइयो र जुनेली रातमा सुकाउन शुरु गरिएको थियो ।
हो, यस्तै भएको छ यसपटक नेकपाको विभाजनमा पनि । पटक–पटक फुटको सँघारमा पुगेर वैतरणी दानपछि पनि बौरिँदै गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यस पटक कानूनीरुपमा फुटेको घोषणा हुन नसके पनि राजनीतिक र व्यवहारिक रुपमा विभाजन भइसकेको छ । संसदको लगभग दुईतिहाइ र मुलुकका मतदाताको लगभग आधा जनमतको साथ, सहयोग र समर्थन प्राप्त सत्तारुढ नेकपा अहिले अस्थायी युद्धबिरामको अवस्था भंग भएर युद्धमैदानमा शत्रुतापूर्ण आक्रमणको अवस्थामा छ । पार्टी फुट्छ या जुट्छ यसै भन्न सक्ने अवस्था छैन भन्दाभन्दै आन्तरिक किचलोले पिलोको रुप लियो र पिलो निचोर्नेका कथाहरु सृजना गरिए । यो बीचमा द्वन्द्वरत् पक्षबीच सहमति र सहकार्यका लागि प्रयत्न गर्नेभन्दा पार्टी विभाजन गराउने, आफ्नै घर जलाएर आगो ताप्ने र खरानी घसेर आत्मसन्तुष्टी लिनेको सघन बोलबाला र गहिरो दिलचस्पी बढेको छ । एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष यति कमजोर भएको छ कि पार्टी नफुटोस् भन्नेहरु बोल्न पनि डराउँछन् । कार्यकर्तालाई म सिंगो र एकीकृत नेकपाको सदस्य हूँ भन्न पनि छुट छैन ।
कुनै विदेशी शक्तिकेन्द्रप्रति लक्षित गर्दै पार्टी विभाजनको दोष अर्काको थाप्लोमा हाली दिने र आफू पानीमाथिको ओभानो हुने नेपालका कम्युनिष्टहरुको दीर्घरोग हो । पार्टीभित्र अन्तरविरोध सदैव रहन्छ भनेर स्वीकार गर्ने, तर अन्तरविरोधलाई मित्रता पूर्णरुपमा हल गर्न नसक्ने नेपाली कम्युनिष्टहरु कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स, भ्लादिमिर इल्यिच लेनिन, जोजेफ स्टालिन, माओत्सेतुङ, चे ग्वेभारा, फिडेल क्यास्ट्रो, होचि मिन्ह आदिका पथगामी भएको दावा गर्छन् । तर, यथार्थमा आफ्ना स्वार्थ, महत्वकांक्षा, लालसा, कुण्ठा र मपाईवादका मनोरोगबाट आक्रान्त छन् । राणा शासनको अन्त्यकालमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायणबिलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठले २००६ साल बैशाख १० अर्थात् सन् १९४९, अप्रिल २२ तारिख लेनिन जयन्तीका दिन भारतको कोलकाताको श्यामाबजारमा नेपालमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने लक्ष्यका साथ नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
पार्टीमा वि. सं. २००८ सालदेखि नै विजातीय, अस्वस्थ र असैद्धान्तिक अन्तरसंघर्ष शुरु भएर २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनपछि टुक्रा–टुक्रामा विभक्त हुन पुगेर पार्टीको दुःखद् इतिहास रचना भयो । बीसको दशकको मध्यसम्ममा नेपाल कम्युनिस्ट पार्टी २५ बढी स–साना भँगालामा बाँडियो । बीसको दशकको उत्तराद्र्ध र तीसको दशकको पूर्वार्धमा कम्युनिस्टहरु दुई ध्रुबमा स्वीकृत हुन शुरु गरे । एकातिर झापा विद्रोहको पृष्ठभूमिमा को–अर्डिनेशन केन्द्र हुँदै २०३५ साल पुस ११ मा माओ जन्मजयन्ती अवसरमा सीपी मैनाली, गोविन्द न्यौपाने, मुकुन्द न्यौपाने, माधव नेपाल, झलनाथ खनाल अमृत बोहरा, रत्नकुमार बान्तवा, ईश्वर पोखरेल, मदन भण्डारी, प्रदीप नेपाल, जीवराज आश्रित लगायतको पहलमा नेकपा (माले)को स्थापना भयो । नेकपा मालेलाई झापाली राजबन्दीहरु केपी ओली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, नरेश खरेल, घनेन्द्र बस्नेत, डा. नारद वाग्ले लगायत र नेपाली प्रगतिवादी साहित्याकाशका उज्ज्वल नक्षत्र, वामपन्थी चिन्तक मोदनाथ प्रश्रितको सहानुभूति र समर्थन थियो । यो धारले माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै माओत्सेतुङ विचारधारा वा माओवादलाई परित्याग गर्दै अन्ततः नेकपा एमाले बन्यो । अर्कोतिर तीसको दशकको शुरुवातमा मोहनविक्रम सिंह, निर्मल लामा सहितको पहलमा केन्द्रीय न्युक्लियस बनाइएको थियो र पछि नेकपा चौथो महाधिवेशन गठन गरिएको थियो । यो धारमा बेग्लाबेग्लै समयमा मोहन बैद्य, हरिबोल गजुरेल, सीपी गजुरेल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल (प्रचण्ड) सामेल भए । यो धार विभिन्न पटक विभाजन र एकताका श्रृंखला पार गर्दै अन्ततः नेकपा माओवादी बनेर १० वर्षे जनयुद्ध सञ्चालन गर्न पुग्यो । को–अर्डिनेसन केन्द्रको धार र केन्द्रीय न्युक्लियस धारबीच लगभग तीन वर्षअघि सहकार्य र तालमेल शुरु भएर एकीकृत नेकपा बन्न सफल भएको थियो ।
फेरि एकीकृत पार्टी विभाजन भएको दुःखद् इतिहास दोहोरिएको छ । मुलुकमा राजनीतिक स्थिरता र जनपक्षीय राजनीति अहिलेका तुच्छ वाकयुद्ध, अस्वस्थ गतिविधि र झाँगिदै गएका अस्वस्थ, असैद्धान्तिक र व्यक्तिवादी सोच र सो अनुरुपका आत्मघाती र विध्वंसात्मक क्रियाकलापले शिथिल भएको छ । नेपाली कम्युनिस्टमा फुट र विभाजनको पुरानो रोग दबिएको र मौका पाउनासाथ उजागर हुने पुष्टि भएको छ । एकताको महाधिवेशन सुनिश्चित गर्नको सट्टा शक्तिको केन्द्रीकरणमा शीर्ष नेतृत्वमा अस्वस्थ होडबाजी चलेका कारण नेकपाका कार्यकर्ता लुरुलुरु आफ्नो पार्टीको विभाजनको मलामी हुन, टुलुटुलु विग्रह र विनाशको नाटक हेर्न अभिषप्त छन् । गुट हेरेर बोल्ने र नेता हेरेर सही वा गलत बुझ्ने कार्यकर्ता बहुमतमा भएपछि यो दुर्दशा भएको हो नेकपामा । माक्र्सवाद लेनिनवाद मार्गनिर्देशक सिद्धान्त र समाजवादउन्मुख जनताको जनवाद पार्टीको मुख्य कार्यक्रम पार्टीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
यो पार्टीको नेतृत्वमा दुईतिहाइ हाराहारीको बहुमतसहितको सरकार थियो । आफ्नो चुनावी घोषणापत्रमा विकास, समृद्धि र सुशासनको प्रतिबद्धता जनाइएको थियो– ‘समृद्ध नेपाल सुखी नेपाली’को अति आकर्षक नारालाई जनताको अपार समर्थन रहेको थियो तर सत्ता सञ्चालनको मध्यतिर आउँदा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गिराएर नयाँ प्रधानमन्त्री र नयाँ मन्त्रीहरु बन्नुपर्ने कुरा नै नेकपा विभाजनको मुख्य कारण बन्न पुग्यो ।
यो पार्टी विभाजन पदका लागि हो । मुख्य तीन वटा पद प्राप्तिको अभिलाषा फुटका मुख्य कारण हुन्– प्रधानमन्त्रीको पद, राष्ट्रपतिको पद र पार्टी अध्यक्षको पद । नेकपा शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा पार्टीको जीत हुने र सरकार बनाउन सकिने विश्वास हराउँदै गएको कारण तात्तै खाउँ जली मरुँ भन्ने भावनाका कारण यो विभाजन भएको हो ।
मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक रुपान्तरणका लागि नेकपालाई जनताको अभिमत प्राप्त भएको साँचो हो, तर राजनीतिक अस्थिरताको शुभारम्भ गरेको अपजसको एकमात्र भागीदार नेकपा बन्दैछ । २०१७ सालको लोकतन्त्र हरणको कुरा नगरौं, तर नेपाली कांग्रेसलाई नेपाली जनताले २०४८ साल र २०५६ साल गरी दुई पटक स्पष्ट बहुमत दिएका हुन्, तर जनविश्वास माथि घात ग¥यो कांग्रेसले । त्यसैले त जनताले कांग्रेसलाई दण्ड दिए र भारी बहुमत दिए नेकपालाई । तर, नेकपाले के ग¥यो ? त्यही ग¥यो, जुन नेपाली कांग्रेसले गरेको थियो । राणा शासनपछि नेपालमा कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् र पूरा गर्न दिइएको छैन । यतिबेला पनि त्यही अस्थिरताको पुनरावृत्ति भएको छ । आगामी चुनावमा पार्टीका आम कार्यकर्ता जनतासामु राजनीतिक अस्थिरताको खलनायकीय पात्रको रुपमा चित्रित भएर शिर झुकाएर मत माग्न जानुपर्ने परिस्थिति बन्दैछ । पार्टीभित्रको यो विवाद र यो विभाजनको अन्तर्य जनहितभन्दा पनि व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा भएको अनुमान गर्न जोकोहीलाई अप्ठेरो छैन । नेकपा विभाजन भनेको जनादेशमाथिको घात हो, मतादेशको घोर अपमान हो ।
२००७ सालदेखि नै सरकार बनाउने र गिराउने खेलको दुश्चक्रमा परेको नेपाल फेरि संयुक्त र मिलिजुली सरकारको बाटोमा लाग्न अभिषप्त हुँदैछ । नेकपामा नीतिभन्दा नेता प्राथमिकतामा पर्न थाल्नु र पार्टी गुटबन्दीले थलिनु नेपाली लोकतन्त्रको लागि अति दुःखद् पक्ष हो । पार्टीको नेतृत्व व्यक्तिकेन्द्रित हुनु र राज्यका स्रोतसाधन दलभित्रका गुटका लेनदेनको विषय बन्नु विधि र पद्धतिभन्दा बाहिर जानु हो । खुला छलफल र चिन्तन नगर्ने परिपाटीले कार्यकर्तालाई समेत नेताहरुको गतिविधिबारे प्रश्न गर्न दिँदैन । कार्यकर्ताले भेला, बैठक, सम्मेलन वा महाधिवेशनमार्फत प्रश्न गर्ने हो । तर, जब प्रश्नहरू निषेध हुन्छन्, तब निरंकुशता हावी हुन्छ र दासता मौलाउँछ । अहिलेका अभ्यासहरूले पार्टी कमजोर भएको छ, कार्यकर्ता निरीह पछुवा भएका छन् र नेता बलिया भएका छन् । जहाँ विधि र पद्धतिले काम गर्छ, त्यहाँ नयाँ नेतृत्व जन्मिन्छन् । नेकपामा पन्पिएको यस्तो प्रवृत्तिले विचारले खारिएका, केही गरौं भन्ने युवा नेताहरूलाई पार्टी नेतृत्वमा पु¥याउन सक्दैन ।
अर्कातर्फ, नेकपा विभाजन गरी अन्य दलसँग गठबन्धन गरी संयुक्त सरकार बनाउने इरादा र गतिविधिले मुलुक असहज र अलमलको अवस्थामा फँस्दैछ । नेकपा नेतृत्वमाथि राजनीतिक अस्थिरताको बिजारोपण गरेको संगीन आरोप लागेको छ । इतिहासले नेकपा नेतृत्व सत्तास्वार्थ, शक्ति आर्जन र पदलोलुपताको गोलचक्करमा फँसेर विवेक शून्य भई आफ्नो खुट्टोमा आफै बञ्चरो हानेको र नेपाली जनताले कम्युनिष्ट प्रति देखाएको सद्भावमाथि तुषारापात गरेको भनी कलंकको टीका लगाइदिएको उपल्लो तहका नेताहरु आफैं भन्न थालेका छन् । यो आरोप पखाल्न प्रशान्त महासागरको पानी पनि पर्याप्त हुँदैन । स्वार्थान्धताले पागल बनेर आत्मघाती कदम चाल्न र जोडेर जानुपर्नेमा फोडेर हिँड्न खोजेपछि दुर्घटना हुने त स्वभाविक हो । पार्टीभित्रको कलह अब पार्टीमा मात्रै सीमित रहेन । यसले देशलाई अस्थिरतातर्फ धकेलेको छ, मुलुक नै तरङ्गित गराएको छ ।
सुविधाजनक बहुमतमा रहेको सरकारले संसद विघटन नगरेको भए हुने थियो, के फरक हुन्थ्यो प्रधानमन्त्री र मन्त्री फेर्दा भन्ने आवाज पनि उठेको छ । यो सही कुरा हो, तर त्यतिकै सही कुरा भनेको बाँकी डेढ वर्ष केपी ओलीलाई प्रधानमन्त्री छोडेर आउँदो चुनावको तयारीमा सिंगो पार्टीपंक्ति परिचालन गरेको थियो भने प्रचण्ड, झलनाथ र माधव कमरेडको पनि के बिग्रन्थ्यो भन्ने पनि छ । शुभेच्छुकले केही गर्न सक्दैनन्, कार्यकर्ता त निरीह छन् र गाउँ–गाउँ÷टोल–टोलसम्म विभाजनका रेखाहरु कोरेर बोलचाल बन्द गराउने र अनावश्यक तर्कवितर्कमा कार्यकर्ता र शुभचिन्तकलाई फँसाउने क्रमको शुरुवात भएको छ । के बेर, केही समयपछि, केही महिना वा वर्षपछि शीर्ष नेताहरु मिल्न पनि सक्छन् ।
कार्यकर्ता जिल्लिनुपर्ने दिन आउन सक्छ । आफ्नै प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्न तयार हुनुले आजको परिस्थिति जन्मेको हो । जुनेली रातमा बिस्कुन सुकाउने, रातमै बिस्कुन सुकाउन बाध्य पार्ने, घाममा बिस्कुन नसुकाउन सल्लाह दिने, जुनमै बिस्कुन सुकाउने नारा बोल्ने पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं हुँदै अन्य दर्जनौं नम्बरी पछुवा पण्डित, बाजे, बुबा, हजुरबुबा, बडाकाजी र बडाहाकिमहरुले पार्टी विभाजन गरेर, सरकार गिर्ने अवस्था सिर्जना गरेर आनन्द मनाइरहेका छन् यतिबेला । यी सबै गतिविधिको कुलयोग भनेको जनताका सपनामाथि तुषारापात भएको छ र यसको मुख्य जिम्मेवारी नेकपाकै शीर्ष नेतृत्वको हो ।


























