खड्गी र राजवंशी सम्मानित

५ माघ २०७७, सोमबार मा प्रकाशित
  • 605
  •  
  •  
  •  
  •  
  •  
    605
    Shares

झापा ।

कुलदीप राजवंशी स्मृति कला प्रतिष्ठान झापाले यस वर्ष प्राज्ञ सभासदस्य सरोजा खड्गी र वरिष्ठ संगीतकार बलराम राजवंशीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानको १०औं स्मृति दिवसको अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदेश १बाट पहिलो महिला प्राज्ञ सदस्य मनोनित हुने मोरङ पथरी शनिश्चरे नगरपालिका निवासी खड्गी र गौरीगञ्ज गाउँपालिका निवासी संगीतकार राजवंशी सम्मानित भएका हुन् । उनीहरुलाई संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री धर्मशीला चापागाँईले सम्मान–पत्र प्रदान गरेकी थिइन् ।

सोही अवसरमा लखन राजवंशीको ‘पितृ भोक’ कविता संग्रहको बिमोचन समेत गरिएको थियो । जलसरी राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार शिवशंकर थापाले धारणा राखेका थिए भने प्रतिष्ठानका अध्यक्ष पवन राजवंशीले औचित्यमाथि प्रकाश पारेका थिए । प्रतिष्ठानले स्मृति दिवसका अवसरमा हरेक वर्ष दुई÷दुई जनालाई सम्मान गर्दै आएको छ । कला र साहित्यका क्षेत्रमा कलम चलाउनेलाई यसअघि प्रतिष्ठानले सम्मान गर्दै आएको थियो । सोही अनुसार उनीहरुलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष राजवंशीले बताए ।

यसअघि स्व. गोकुलप्रसाद राजवंशी, हिम्मत नेम्वाङ, श्यामप्रसाद डाङ्ग्रा, विष्णु पौडेल, प्राज्ञ परिषद् सदस्य एसी सुमन, मुनराज सेर्मा, छितेन सेर्पा, हेमन्ता भण्डारी, केशव आचार्य, लीला अनमोल, गणेश निरौला, टीका भट्टराई नेपाल, लखन राजवंशी, प्रियङ्का शर्मा, ज्ञानु राजवंशी सम्मानित भएका थिए ।

झापाको कनकाई नगरपालिका–९ घैलाडुव्वा निवासी कुलदीप नाट्य क्षेत्रमा रुची राख्ने र साहित्यका माध्यमबाट समाज परिर्वतन गर्ने एक अभियन्ता थिए । २००२ सालमा जन्मिएका राजवंशीको २०३८ साल माघ १ गते निधन भएको थियो । राजवंशी समुदायमा हुर्किएका कुलदीप संगीतप्रेमी समेत थिए ।

स्मृति दिवसमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व बलराम र परदेशी राजवंशीले गीत प्रस्तुत गरेका थिए भने दयानन्द गोश्वामीले कविता वाचन गरेका थिए । अरुण राजवंशीले स्वागत गरेको कार्यक्रम अर्जुन राजवंशीले सञ्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here