झापा ,
सोमवार झापा गाउँपालिकाका जनप्रतिनिधि फरक मुद्रामा भेटिए । गाउँपालिका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तादेवी वुढाथोकी सहितका जनप्रतिनिधि झाडु लिएर वजार सफा गरिरहेका थिए । कारण थियो २० औं सशस्त्र प्रहरीे दिवसको । सशस्त्र प्रहरीले आफ्नो स्थापनाको सन्दर्भ पारेर झापा गाउँपालिकास्थित झापा वजार सरसफाई कार्यक्रम रोखेपछि जनप्रतिनिधि पनि सरसफाईमा जुटेका हुन् । उनीहरुले विहानभर झापा वजार सरसफाई गरे ।
इलाका प्रहरी कार्यालय कुमरखोदसहित सशस्त्र प्रहरी वल टाघनडुव्वाले आयोजना गरेको सरसफाई कार्यक्रमअन्तर्गत जनप्रतिनिधिहरुले गाउँपालिकास्थित झापा बजारको सरसफाई गरेका थिए । उनीहरुसंगै स्थानीयवासी व्यवसायी समेत सो कार्यक्तममा सहभागी बन्दै आफ्नो वजार आफैं सफ ागर्ने प्रतिवद्धता समेत व्यक्त गरे । गाउँपालिकाका वडा अध्यक्षहरु राजकुमार यादव, नेत्रबहादुर खड्का, न्यायिक समिति सदस्य राजकुमार कोचलगायत कार्यक्रममा सहभागी थिए ।

उनीहरुले झापा बजारस्थित वाणिज्य बैंक अगाडि रहेको फोहोरको डंगुर र बजार आसपासका फोहोरलाई फ्याँकेर बजार क्षेत्रलाई सफासुग्घर बनाएका छन् । बजारको सरसफाई गर्दै आएका कर्मचारीहरुले फोहोरहरु संकलन गरी वाणिज्य बैंकको २५ मिटर पश्चिममा फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट बनाएका थिए । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको गाउँस्तरीय समिति संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष साहको अध्यक्षतामा सरसफाई कार्यक्रम भएको थियो । सो अवसरमा अध्यक्ष साहले विकास निर्माण कार्यसँगै गाउँ, टोल, मठमन्दिर, बजारलगायतको सरसफाई गर्दा वातावरण स्वच्छ र हराभरा हुने भएकाले यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

उनले सरसफार्ईमा प्रत्यक्ष रुपमा सहभागी भई सहयोग गर्ने इलाका प्रहरी कार्यालय कुमरखोद, सशस्त्र प्रहरी बल टाघनडुब्बा, बजार व्यवस्थापन समिति र व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

झापा बजार व्यवस्थापन समितिका अध्यक्ष विकास अग्रवालको सक्रियतामा भएको सरसफाई कार्यक्रमका लागि आवश्यक मास्क, कुचो, बेल्चा, फोहोर फ्याँक्नका लागि ट्रयाक्टर उक्त समितिले उपलब्ध गराएको थियो ।
































