
मानव संसारका सबै प्राणीहरुमा सर्वोत्कृष्ट प्राणी हो । त्यसैले अरु प्राणीभन्दा खान, पान, बसाइ, व्यवहार र सोचमा समेत ऊ भिन्न रहेको छ । परिवर्तनशील भएकाले नै मानव नयाँ आविष्कार गर्छ, हिजोभन्दा आज नयाँ शैली अपनाउन चाहन्छ । नयाँ ठाउँमा घुम्न, हेर्न र नयाँ कुरा बुझ्न चाहन्छ । यो सचेत र परिवर्तशील प्राणी भएकै कारणले पनि हो । नयाँ–नयाँ खोज अनुसन्धान गरी मानवीय व्यवहार र जीवनशैलीलाई सहज बनाउन सशक्त प्रयास पनि मानवले नै गर्दछ । यिनै खोज र अनुसन्धानले नै मानव आजको अवस्थामा आइपुगेको हो । त्यसैले मानवलाई संसारको सर्वोत्कृष्ट प्राणी मानिएको हो । मानव राम्रो–नराम्रो, सुखी–दुःखी, विचार अनुसार हुन्छ ।
राम्रो अथवा सकारात्मक विचार भए मानवले राम्रो काम गर्छ, परिणाम शान्ति प्रदायक बन्दछ । तर, नराम्रो अथवा कलुषित विचार भए नराम्रो निन्दित कार्य गर्छ, परिणाम अशान्तिप्रद बन्न पुग्दछ । विचारलाई आहारले प्रभाव पार्दछ । मानवीय व्यवहार सेवाभावले ओतप्रोत बन्नु पर्ने, अहङ्कार बिना कर्तव्यबोध गरी कर्म गरे मात्र सुख हुने कुरा हाम्रा शास्त्रहरुमा वर्णन गरिएको छ । हरेक व्यक्ति व्यवहारमा सहज, मनमा शान्ति, शरीरमा सुख तथा रोग शोक भयरहित जीवनयापन गर्न चाहन्छ । यो कसरी सम्भव छ भन्ने कुरा यस लेखमा शास्त्रीय चिन्तनका आधारमा प्रस्तुत गरिएको छ । मानव जीवन दुर्लभ छ । चाहेर पाउन नसकिने जीवनलाई पाएर बुझिएन भने त्यो व्यर्थ एवम् दुर्भाग्यपूर्ण जीवन हो ।
दुर्लभो मानुषो देहो देहिनां क्षणभङ्गुरः ।
तत्रापि दुर्लभं मन्ये वैकुण्ठप्रियदर्शनम् ।।
(भा. स्क. ११ अ. २ श्लो.२९)
अर्थः देहधारी प्राणीहरुमा मानव जीवन अत्यन्त दुर्लभ जीवन हो । यस्तो अमूल्य भएर पनि जीवन नाशवान् छ । नाशवान् भए पनि अमूल्य जीवन प्राप्त हुनु अत्यन्त दुर्लभ कुरा हो । त्यसमा पनि भगवद्विचारले युक्त सज्जनसँग संसर्ग हुनु अझै दुर्लभ कुरा हो । यस भनाइ अनुसार मानव अध्ययन अनुशन्धान, सत्सङ्गबाट जीवन बदल्न सक्ने विवेकी प्राणी भएकाले अरु प्राणीभन्दा उत्कृष्ट प्राणी भएको हो । यस्तो सर्वोत्कृष्ट प्राणीको रुपमा मानव जीवन प्राप्त गर्नु अत्यन्त दुर्लभ कुरा हो । जन्मजन्मान्तरको तपोप्रभावले प्राप्त जीवनमा सत्सङ्गी सकरात्मक शोच भएका व्यक्तिसँग मिलन हुनु अझै ठूलो सौभाग्य हो ।
खाने सुत्ने, डराउने, खुसी हुने, मैथुन गर्ने, बच्चा जन्माउने, हुर्काउने जस्ता काम त सामान्य प्राणीले समेत गर्दछन् । मानवले यति मात्र ग¥यो भने पशु समान मानिएको छ । मानवले त परोपकार, सत्सङ्ग, प्राणीमात्रमा दया, मानव मात्रमा मैत्र्य भाव, नयाँ खोज अनुसन्धान, विवेक र सचेतनाले नै मानवलाई अरु प्राणीभन्दा अलग बनाएको हो । हरेक व्यक्तिलाई राम्रो हुन अनि असल कुशल स्वाभिमानी र सकरात्मक शोच भएको ज्ञानी बन्न त रहर हुन्छ । अरुको त के कुरा चोर हत्यारा, शोसक एवम् भ्रष्ट व्यक्तिलाई समेत समाजमा सबैले राम्रो भनुन् भन्ने अपेक्षा रहेको हुन्छ । तर, असल बन्न के गर्नुपर्छ भन्ने कुरा चाहिँ थाहा पाएको हुँदैन । कि थाहा पाए पनि अधुरो अपूर्ण थाहा पाएको हुन्छ । कि थाहा पाएर पनि प्रवृत्तिले आफूलाई बदल्न दिँदैन । संसारमा हरेक व्यक्तिले अथवा असल, कुशल बन्न चाहने मानवले जीवनको मूल्यवत्तालाई पहिचान गर्नुपर्दछ, जीवनशैलीलाई बदल्नु पर्छ । जीवनलाई बदल्न वा सकारात्मक मार्ग अवलम्बन गर्न, व्यवहारिक सुख र मनका शान्ति प्राप्त गर्न समेत निम्न कुराहरु परिवर्तन गर्न आवश्यक पर्दछ । १) विचारपरिवर्तन, २) आहारपरिवर्तन, ३) व्यवहारपरिवर्तन यी तीन सूत्रहरुलाई शास्त्रीय चिन्तनका आधारमा विश्लेषण गरेर हेर्न आवश्यक छ ।
१) विचार परिवर्तन
विचार मानवमा हुने अमूर्त चीज हो । विचार मस्तिष्कबाट उत्पन्न हुन्छ, मस्तिष्क केन्द्र नै विचारहरुको माध्यम यन्त्र हो । (विचार विज्ञान) यसरी हामीभित्र तरङ्गित हुने विचारले हाम्रो शरीरलाई नियन्त्रित गर्दछ । विचार अनुसार नै मानवको जीवन बन्दछ । विचार अनुसारको जीवनशैली, इष्टमित्र, व्यवहार, चिन्तन मनन्, रुची समेत हुने गर्दछ । भागवतको एकादश स्कन्धमा भनिएको छ–
यत्र यत्र मनो देही धारयेत् सकलं धिया ।
स्नेहात् द्वेषात् भयात् वापि याति तत्तत्सरुपताम् ।।
(भा. स्क.११अ.१० श्लो.२२ )
मानवले बुद्धिको सहाराले मन वा विचारलाई सबलीकरण गर्दछ । स्नेहले, द्वेषले र भयले क्रमशः विचार बदलिल्छ । त्यसमा पनि स्नेहले जति चाडो विचार बदल्न सकिन्छ द्वेष र भयले त्यति चाडो बदल्न सकिँदैन । किनभने द्वेष र भयमा दमनात्मक शैली अपनाएको हुन्छ । अनि त्यही विचार अनुसारको मानवको स्वभावगत स्वरुप बन्दछ । विचार कलुषित भएमा मान्छे नै खराब, चोर, डाका बन्न पुग्दछ । असद्विचारले रोग, शोक, भय आक्रान्त बनाउँदछ अनि गरीब पनि मान्छेलाई विचारले नै बनाउँदछ । सम्पत्ति प्रशस्त भएर पनि विचारका गरीबहरु अत्यन्तै दुःखी हुन्छन् । बरु सामान्य जीवनचर्या सञ्चालन गर्ने मात्र सम्पत्ति छ, तर सकारात्मक विचारका धनी मान्छेहरु अत्यन्तै सुखी हुन्छन् । किनकि सुख कुनै पसलमा धनले किन्न पाइँदैन, बुद्धिमानीका लागि धनले त केबल व्यवहार मात्र सहज बनाउँदछ भने घमण्डी व्यक्तिको त झन् प्रशस्त धनले व्यवहार नै अस्त व्यस्त बनाइदिन्छ । त्यसैले केवल धनले सद्विचार आउँदैन, तर सद्विचारले चाहेमा धन प्रशस्त आउँछ ।
विचारले व्यक्ति अजर अमर पनि बन्दछ । हाम्रा आर्ष वैज्ञानिक हजारौं ऋषिहरु सद्विचारका कारणले आज पनि वैचारिकरुपमा शास्त्रमा समाजमा अनि हामीभित्रै सल्बलाइरहेका छन् । प्लेटो, दाँते, कालमाक्र्स जस्ता हजारौं पश्चिमका चिन्तकहरुका विचारले समाजका विभिन्न पक्षलाई प्रभाव पारिरहेकै छ । यसरी हेर्दा व्यक्ति मरे पनि विचार मर्दैन बरु विचार त पुस्तौं पुस्ता सरिरहन्छ । गलत विचारको समाजमा युगौंयुग निन्दा मात्र हुन्छ भने सद्विचारको सदैव प्रशंसा भइरहन्छ । गलत विचारका उदाहरणीय पात्र भनेका रावण, कंश, महिसासुर धुन्धुकारी आदि हुन् भने सद्विचारका प्रतिक राम–सीता, कृष्ण–राधा गोकर्ण आदि हुन् । आजसम्म छोरा–छोरीको नाम कस्तै खराब प्रवृत्ति भएका व्यक्तिले पनि रावण, महिसासुर राखेको पाइँदैन । तर, गर्वसाथ राम–सीता, कृष्ण–राधा जस्ता नाम राखेको हुन्छ । यो असतो मा सत्गमय, तमसो मा ज्योतिर्गमय, मृत्युर्मा अमृतं गमय भन्ने वैदिक आदर्शको प्रभाव हो । त्यसैले गलत विचारको शिकार नबनी बुद्धिमानीले सद्विचारलाई आत्मसात् गर्नुपर्दछ ।
सकारात्मक सोचले सकारात्मक विचारलाई उद्दीप्त बनाउँदछ । सकारात्मक विचारले मानव धनी बन्न सक्छ, रोगी रोगबाट मुक्त हुन सक्छ, शोकबाट सम्हालिन सक्छ, अभावमा सद्भाव र सफलतामा सामाजिक सहिष्णुता सद्विचारले प्राप्त हुन्छ । मानवले आफूलाई परिवर्तन गर्न नकारात्मक विचारलाई सकारात्मक विचारमा रुपान्तरण गर्न सक्नु पर्दछ । विचार परिवर्तन नै जीवन परिवर्तनको सबल उपाय हो । विचार परिवर्तन नभएका केवल भाषा, भेषभूषा परिवर्तन गरेका व्यक्तिले समाज र राष्ट्रलाई धोकाभन्दा अरु केही पनि दिन सक्दैनन् । चाहे राजनीतिक, चाहे सामाजिक, चाहे धार्मिक, चाहे आध्यात्मिक, चाहे दार्शनिक जो कोही भए पनि केवल स्वरुप र भाषा मात्र बदलेको छ, तर तत्परक विचार परिवर्तन गरेको छैन भने ती सबै समाज र राष्ट्रका धोकेवाज हुन् भनेर बुज्न आवश्यक छ । त्यसैले परिवर्तन हुन चाहने व्यक्तिले विचार परिवर्तन गर्नुपर्दछ ।
२. आहार परिवर्तन
मानवलाई जीवनयापन गर्न सबल र स्वस्थ आहाराको आवश्यकता पर्दछ । जीवनलाई सकारात्मक सक्षम र सबल बनाउन सद्विचारको आवश्यकता पर्दछ भने सद्विचारलाई स्थिरीकरणका लागि स्वस्थ, अग्र्यानिक, शाकाहारी मानवीय आहारको आवश्यकता पर्दछ । हाम्रा शरीरका सम्पूर्ण अवयवले काम गर्न सक्ने क्षमता हामीले खाएको आहाराद्वारा नै प्राप्त हुन्छ । आहाराले नै शरीरलाई स्वस्थ राख्ने गर्दछ । मनको स्थिति पनि आहारा अनुसार हुने भएकाले ‘यथा अन्नं तथा मन’ भन्ने गरिएको छ । शास्त्रहरुमा आहाराका विषयमा निकै बहस र विश्लेषण गरिएको छ । जीवन परिवर्तन गर्न चाहने व्यक्तिले आहार बदल्न अत्यन्त आवश्यक छ । किनभने प्रकृतिमा वस्तुशक्तिले ज्ञानको अपेक्षा राख्दैन । यसको तात्पर्य सन्त, ज्ञानीले मदिरा पिए पनि मदिराले आप्mनो मताउने क्षमता देखाएरै छोड्दछ । खोर्सानीले पीरो, कागतीले अमिलो, नीमले तीतो जस्ता प्राकृतिक गुणहरु बालक, वृद्ध, ज्ञानी, मूर्ख सबैलाई समान रुपमा आ–आफ्नो गुण देखाएर छोड्दछन् । आहाराले मानवलाई चयन गर्दैन, आहार मानवले चयन गर्नुपर्दछ । मदिरा, गाजा चरेस, अफिम जस्ता पदार्थको सेवनले मानवको मनस्थितिलाई आकुल–ब्याकुल बनाउँछ अनि भाषा र व्यवहार उपद्रव बन्न पुग्दछ । तर, खीर–मिठाइ जस्ता खानेकुरा खाएका व्यक्तिले प्रायः उपद्रव गरेको देखिँदैन । त्यसैले जीवन परिवर्तन गर्न आहार चयन महत्वपूर्ण कुरा हो । आहारा सात्विक, राजस र तामस गरी तीन प्रकारको शास्त्रमा ब्याख्या गरिएको पाइन्छ । श्रीमद्भगवद्गीताको १७ अध्यायमा निम्न अनुसार सात्विकी राजसी र तामसी आहार अथवा भोजनको बारेमा चर्चा गरिएको छ ।
मानवको आयु बढाउने, सत्वगुण वृद्धि गर्ने, शरीर मन र बुद्धिलाई सात्विक बल प्रदान गर्ने, शरीर आरोग्य पार्ने, सुख–शान्ति प्रदान गर्ने अनि प्रीति बढाउने वाला, रसयुक्त फलफूल, घिउ, मख्खन, बदाम, काजु, किसमिस जस्ता सात्विक पदार्थबाट निस्किएका तेल आदिबाट बनिएका स्नेहयुक्त भोजन, शरीरमा लामो समयका लागि शक्ति र उत्साह प्रदान गर्ने वा स्थिर, स्वभाविकरुपमा मनलाई प्रिय लाग्ने र परिणाम समेत सुखद् हुने आहार सात्विक आहार हो । यस्तो (भोज्य, पेय, लेह्य, चोस्य)भोजन सात्विक मनुष्यलाई मात्र प्रिय लाग्दछ । पीरो, अमिलो, नुनिलो,अत्यन्त तातो, तीखो, सुखा रुखा, दुःख, चिन्ता, रोग उत्पन्न गरने आहार राजसी आहार हो ।
वेसिजनमा जवर्जस्त फलाइएको, रस नभएको, अत्यन्तै नराम्रो गन्ध निस्कने, बासी, जुठो अथवा आधा खाएर रहेको आहार अपवित्र एवम् तामसी भोजन हो । यसरी सात्विक, राजस र तामस गरी तीन भागमा आहारलाई विभाजन गरिएको छ । सात्विक आहारले सत्वगुणको वृद्धि हुने भएकाले यसले सकारात्मक सोच विचार पैदा हुन्छ । सकारात्मक विचारले सद्बुद्धि, सद्भाव जगाउँदछ । सद्भावले मानव मनमा शान्ति प्राप्त हुन्छ, त्यसद्वारा अपार सुखको अनुभूति गर्न सकिन्छ र परिणाम पनि श्रेयस्कर बन्न पुग्दछ । संसारका सम्पूर्ण मानवको खोज नै सुखप्रद एवम् श्रेयस्कर जीवन प्राप्ति हो । यो केबल सात्विक आहारले मात्र सम्भव छ न कि राजसी र तामसी आहाराले । विचार जति राम्रो लिन चाहे पनि आहारा दूषित भए राम्रो विचार मानवभित्र रहनै सक्दैन । सकारात्मक विचारलाई उद्दीपन गर्न र सदैव राखिरहन समेत सात्विक आहार सेवनको आवश्यकता पर्दछ । त्यसैले पनि शास्त्रहरुमा आहारको विषयमा जताततै विषद् चर्चा गरिएको हुनुपर्छ ।
३. व्यवहार परिवर्तन
व्यवहार परिवर्तन जीवन परिवर्तनको एक मुख्य आधार हो । जीवन परिवर्तन भेषभूषा र भाषाले हुन सक्दैन । विचार परिवर्तन भएको छ कि छैन भन्ने कुरा केवल व्यवहार परिवर्तनले स्पष्ट पार्दछ । विचार मानवको आन्तरिक शक्ति हो भने व्यवहार वाह्य स्वरुप हो । व्यवहार ले व्यक्तिको मनोभावलाई छर्लङ्ग पार्दछ । त्यसैले व्यक्तिको गहन नियतगत अध्ययनको आधार व्यवहार नै हो । एक जना नेताले देशभक्ति र विकासको ठूलो आशा र भरोसा सुनाउन सक्छन्, तर यथार्थका लागि भने उनको व्यवहार हेर्न आवश्यक पर्दछ । केवल नेता मात्र नभएर पण्डित, व्यापारी, समाजसेवी, धार्मिक, शिक्षक प्राध्यापक, डाक्टर, नर्स जस्ता अनेकौं मान्छेहरुको औपाधिक नाम अनुसार व्यवहार भएन भने त्यसले समाज र राष्ट्रलाई ठूलो धोका हुन्छ । त्यसैले जीवन परिर्वतनको मुख्य आधार व्यवहार परिवर्तन पनि हो । विचार अनुसारको व्यवहार भयो भने मात्र त्यो व्यक्ति असल व्यक्ति बन्दछ । कसैलाई देखाउन र प्रभाव पार्न गरिएको व्यवहार केवल अतिरञ्जित चलचित्र समान बन्दछ । अभिनयात्मक व्यवहारभन्दा यथार्थपरक व्यवहारले मात्र मानव सुखी हुन सक्दछ । स्वभाविक व्यवहार नै सर्वोत्तम व्यवहार हो ।
व्यवहारलाई तीन भागमा बाड्न सकिन्छ । आफूले गरेको व्यवहारले अरुको हित र आफ्नो कल्याण होस् यो प्रथम कोटीको उत्तम व्यवहार हो । अर्काको अहित नहुने, तर आफ्नो हित हुने व्यवहार मध्यम कोटीको व्यवहार हो । अर्काको अहित र केवल आफ्नो मात्र हित हुने व्यवहार निकृष्ट प्रकृतिको तामसी व्यवहार हो । हत्या, हिंसा, चोरी, आतङ्क, भ्रष्टाचार, शोषण, दमन जस्ता कार्यहरु सबै निकृष्ट प्रकृतिका व्यवहारहरु हुन् । निकृष्ट व्यवहारद्वारा मानवले धन जोड्न सक्छ, धनले भोगविलासका सामग्रीहरु जोड्न सक्छ । तर, मन जोड्न सक्दैन र मनमा शान्ति लिन पनि सक्दैन । मनमा शान्ति नभएको व्यक्तिलाई सुन्दर भवन, गाडी, भेषभूषा अनेकन भोगविलासका सामग्रीहरुले आनन्दित तुल्याउन सक्दैन । उत्तम व्यवहार भएका व्यक्तिहरु सामान्य आवास, सामान्य रहनसहन र सामान्य दिनचर्यामा रहेर पनि असिम सुख लिन सक्दछन् । किनकि उनीहरुले कसैलाई नियतवस रुवाएका हुदैनन् सके हसाएका हुन्छन् । हसाउने स्वभाव भएका व्यक्तिले प्रायशः तनावले रुनु पर्दैन । यो व्यवहार सम्बन्ध गहन र मननीय विषय समेत हो । उत्तम व्यवहार नै मानवको कल्याण कारक महापथ हो । यतः जीवनलाई सुन्दर, सफल र श्रेयस्कर बनाउन हरेक क्षेत्रका व्यक्तिले सकारात्मक व्यवहार गर्न आवश्यक छ । भेषभूषा र भाषा मात्र बदलेर जीवन नबद्लिने भएकाले जीवन परिवर्तन गर्न चाहने व्यक्तिका लागि व्यवहार परिवर्तन पनि आधारभूत परिवर्तन हो ।
सुखी बन्नका लागि मानवले सरल बाटो अपनाउन आवश्यक छ । अफ्ट्यारो बाटो रोजेर सुख खोज्नु भनेको मुख्र्याइ हो । सुखी हुन मानवले असल विचार लिनुपर्दछ । जुन विचार सद्ग्रन्थको अध्ययन, अनुशन्धान र सद्सङ्गबाट ग्रहण गर्न सकिन्छ । स्वस्थ विचारले धन आर्जन गर्न सकिन्छ, रोगलाई जित्न सकिन्छ, शोकबाट मुक्त हुन सकिन्छ र मनमा शान्ति प्राप्त गर्न सकिन्छ । मान्छेको अमूल्य जीवन असद्विचारका कारणले बर्वाद बन्दछ । त्यसैले बुद्धिमानी मानव सद्विचारलाई स्वीकार गरी सदैव सुखी बन्न सक्दछ । सात्विक अथवा सद्विचारलाई स्थिर बनाउन सात्विक आहार स्वीकार गर्नुपर्दछ । सज्जन मूर्ख जस्तै व्यक्तिले पिए पनि मदिराले मदान्वित बनाएर नैसर्गिक स्वभावलाई विपरीत बनाइदिन्छ ।
यसबाट वस्तु शक्तिले ज्ञानको अपेक्षा राख्दैन भन्ने कुरा स्पष्ट हुन जान्छ । यसरी अध्ययन गर्दा जीवन परिवर्तन गर्न आहार परिवर्तन गर्न नितान्त आवश्यक छ । तामसी आहार त्याग गरी सात्विक आहार वरण गर्नेलाई व्यवहारिक सरलता, शरीरमा सुख र मनमा शान्ति प्राप्त हुन्छ । सद्विचारलाई सात्विक आहारले संरक्षण एवम् सबलीकरण गर्दछ भने तामसी आहारले विचारलाई दूषित बनाउन मद्दत गर्दछ । व्यवहार परिवर्तन नै जीवन परिवर्तनको मुख्य श्रृंखला हो । विचार आन्तरिक शक्ति हो भने व्यवहार वाह्य स्वरुप हो । विचार अमूर्त हुनाले व्यवहारका माध्यमले विचार ठम्याउन सकिन्छ । त्यसैले जीवन परिवर्तन गर्न चाहने व्यक्तिले क्रमशः विचार, आहार र व्यवहार परिवर्तन गर्नुपर्दछ । सुन्दर, सुखी र खुसी जीवनयापन गर्नका लागि यो नै एकमात्र सर्वोत्तम शाश्वत् उपाय हो ।

























