‘सत्तामा भएका नेताहरुससँग इमानदारिता र नैतिकता नहुँदा देशमा राजनीतिक अस्थिरता’

0
969

अमित खम्बू,
अर्जुनधारा ।

सत्तामा भएका नेताहरुसँग इमानदारिता र नैतिकता नहुँदा जनताले दिएको भोटको दुरुपयोग गर्दै देशलाई राजनीतिक अस्थिरतातर्फ ढल्काएको राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव बलदिप राईले आरोप लगाएका छन् ।

“सबै खाले विभेदको अन्त्य र पूर्ण संघियताको सुनिश्चतता, भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माण हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नारासहित राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं स्थापना दिवसको सन्दर्भमा मंगलबार अर्जुनधारा नगर परिषद्द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सचिव राईले सो आरोप लगाएका हुन् ।

पार्टीका प्रवक्ता समेत रहेका उनले संविधानको स्प्रीट विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका कारण राजनीतिक अस्थिरता भएको र मुलुक कता जाने हो भन्ने डरलाग्दो स्थिती सृजना भएको दावी गरेका छन् ।

त्यसैगरी हाल सडकमा आन्दोलनरत् दाहाल–नेपाल समूहसँगै अन्य दलहरुतर्फ संकेत गर्दै उनले हाल भइरहेको आन्दोलन कुर्सीको लागि आफू अनुकुल बनाउन नभई एकल जातिवादीको रुपमा रहेको संविधान संशोधनको लागि हुनुपर्ने जिकिर गरेका छन् ।

त्यस्तै अब देश बनाउने हो भने सबै जातिको अधिकार र विकासका निम्त्ति सघर्षरत् इमानदारिता र नैतिकता भएको नेताहरुको पार्टी राष्ट्रिय जनमुक्तिमा लामबद्ध हुनका लागि उनले आह्वान गरेका छन् ।

परिषद्का अध्यक्ष राजेन्द्र खालिङ “राज”को अध्यक्षता र पार्टी केन्द्रीय उपाध्यक्ष मीना पन्धाकको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा किरात लिम्बुवान खम्बुवान परिचालन समिति प्रदेश नं १का उपाध्यक्ष तिलसिंह माङमु लिम्बू, सचिव कृष्णकुमार थेवे, पूर्व नगर उपाध्यक्ष झलक याम्फू राईलगायतले पार्टीको धारणा व्यक्त गरेका थिए ।

उपाध्यक्ष तेजबहादुर योङहाङ लिम्बूले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार शिवकुमार चाम्लिङ राईले गरेका थिए । सोही कार्यक्रमको अवसरमा वनभोज र सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here