एकीकृत अग्रसरताको खाँचो

७ माघ २०७७, बुधबार मा प्रकाशित
  • 323
  •  
  •  
  •  
  •  
  •  
    323
    Shares

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतका समकक्षी मन्त्रीसँग वार्ता गरिरहेका बेला पूर्वी–नेपालको सीमान्त जिल्ला इलामको पशुपतिनगरस्थित सीमानामा भारतीय पक्षले सीमा अतिक्रमण गर्दै थियो । सीमा रक्षाका लागि खटिएका एसएसवी फौजले नेपालतर्फको भूमि मिचेर सीमा स्तम्भ सार्दै गर्दा स्थानीयबासीले प्रतिवाद गरे । त्यसकै परिणाम एक पटकको भारतीय पक्षको सीमा विस्तार गर्ने सपना पूरा हुन पाएन । पूर्वी मेचीदेखि पश्चिमको महाकालीसम्मका सीमावर्ती नेपाली भू–भाग भारतको अतिक्रमणको शिकार भइरहेका छन् । सरकारका तर्फबाट प्रतिवाद नगरिँदा, प्रभावकारी उपस्थिति नहुँदा अतिक्रमणको चपेटामा पर्नु परेको यो नै पहिलो घटना होइन, तर सीमा विवाद लगायतका समस्याहरुको समाधान खोज्न भारत सरकारसँग वार्ता गर्न परराष्ट्रमन्त्री नै पुुगेका समय भारतीय पक्षको यस्तो हेपाहा प्रवृत्ति देखिनु हाम्रो दुर्भाग्य हो । भारतीय पक्षले एसएसवीको अग्रसरतामा कहिले नेपालतर्फको भू–भाग मिचिन्छ, कहिले निर्माण कार्य अवरुद्ध गरिन्छ त कहिले सीमा स्तम्भ नै रातारात सारिन्छ, यो वर्षौंदेखि भोग्दै आएको पीडा हो ।

इलामको सूर्योदय नगरपालिकाको पशुपति नगर क्षेत्रको हिलेमा गएको शनिबार भारतीय सुरक्षा बल एसएसवीले नेपालतर्फ सीमा मिचेर ‘बार’ लगायो । नेपाली भू–भाग कब्जा गरेको देखेपछि स्थानीयले एकजुट भएर प्रतिकार गर्दा भारतीय पक्ष पछि हट्न बाध्य भयो । आफ्नो माटोको रक्षा गर्न जीवन बलिदान गर्न सक्ने वीर पुर्खाको सन्तानहरुले भारतको हेपाहा प्रवृत्ति, मिचाहा नीति र लवस्तरो व्यवहारको कतिञ्जेल प्रतिवाद गर्ने ? सोच्नुपर्ने भएको छ । अभिभावक भनिने स्थानीय, प्रदेश तथा संघीय सरकार यस्तो प्रवृत्तिविरुद्ध खरोरुपमा प्रस्तुत हुन नसक्दा सीमा अतिक्रमण असाध्य रोग जस्तै पीडादायी भएको छ । यस्तो ‘दादागिरी’ हाम्रा लागि नौलो कुरा होइन । पश्चिमी सीमाना लिपुलेक, लिम्पियाधुरा र कालापानी अतिक्रमणविरुद्ध खरो रुपमा प्रस्तुत भएको सरकार पछिल्लो समय अन्तरद्वन्द्वमा अलमलिएको छ । सरकारको नेतृत्व गर्ने आफैं सत्ता रक्षालाई एकमात्र अभीष्ट ठानेर कार्यकर्तालाई आकर्षित गर्ने खेलमा मात्रै लागेको छ । देश, जनता, राष्ट्रको सम्प्रभुता र स्वाधीनता सत्ता लिप्साका अघि गौण बनिएका छन् ।

अन्तर्राष्ट्रिय कानून अनुसार ‘मानिसविहीन भूमि’ अर्थात् दशगजा क्षेत्रमा भारतले अतिक्रमण गरेको मात्र छैन, भौतिक संरचनाहरु निर्माण गरिरहेको छ । हाम्रा तर्फबाट सीमा रक्षाका लागि सशस्त्र प्रहरीको सुरक्षा इकाइ बोर्डर आउट पोष्ट राख्न थालिएको छ । तर, त्यसको उचित व्यवस्थापन नहुँदा, जनशक्ति कम हुँदा तिनको प्रभावकारिता देखिएको छैन । इलाम तर्फको नेपाली भू–भाग मिचिँदा स्थानीयबासीले जहिल्यै प्रतिवाद र प्रतिकार गरेर भारतलाई चुनौति दिइरहेका छन् । अनि पनि सीमास्तम्भ हराउने क्रम जारी छ, रातरात स्तम्भ नेपालतर्फ सर्ने, भौतिक संरचना बनाउने क्रम रोकिएको छैन । हाम्रंो सरकारले सीमा रक्षा गर्ला भन्ने आशा राख्नुको परिणाम निराशा मात्र हुने हुँदा आ–आफ्नो ठाउँबाट आफूले संगठित प्रतिवाद गर्नैपर्छ । त्यही बहादुरी र एकता प्रदर्शन गरेका इलामेलीको साहसको सम्मान गर्नुपर्छ । उनीहरुको संगठीत, एकीकृत र देशभक्तिपूर्ण भावनाको अनुशरण गर्दै कालापानीसम्मको मिचिएको भू–भाग फिर्ता गराउनु पर्दछ । अनि मात्र पुर्खाको गौरव, वीरता र देशभक्ति भावनाको पनि सम्मान गरेको ठहरिने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here