अस्पताल सार्ने विवादमा अन्तरिम आदेश

८ माघ २०७७, बिहीबार मा प्रकाशित

भद्रपुर ।

हल्दिबारी गाउँपालिकामा बन्न लागेको अस्पतालमा विवाद शुरु भएको छ । १५ शय्याको अस्पताल विवादका कारण अदालतसम्म पुगेको छ । अदालतले जग्गा विवाद देखिएकोले अस्पतालको काम कारबाही तत्काल रोक्न गाउँपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

स्थानीय दिलकेशर थापाको नामबाट उच्च अदालत विराटनगर, इलाममा मुद्दा दायर गरिएको छ । निवेदक थापाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सबै वडाध्यक्ष, दुई कार्यपालिका महिला सदस्य तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाई मुद्दा दायर गरेका हुन् ।

मुद्दा दायर भएपछि माघ ४ गते उच्च अदालत विराटनगर, इलामका न्यायाधीश शिवनारायण यादवको एकल इजलासले माघ १२ गतेसम्मका लागि गाउँपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा हल्दिबारी गाउँपालिकाले जग्गा छनौट सम्बन्धी निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भनी उल्लेख गरिएको छ ।

सरकारले १५ शय्याको अस्पताल साविकको गोलधाप गाविस हाल वडा नम्बर १ मा बनाउने तोकेर पठाएको थियो । गाउँपालिकामा बन्न लागेको स्तरीय अस्पताल पायक पर्ने ठाउँमा बन्न नलागेको भन्दै गाउँ कार्यपालिका बैठकले स्थान परिवर्तन गर्दै वडा नम्बर १ कै तीन किलोमिटर पूर्वमा जमिन लिएर अस्पताल बनाउने निर्णय गरेको थियो ।

करिब १८ करोडको लागतमा अस्पताल बन्न लागेको थियो । गोलधापको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल बनाउने भनी मन्त्रालयले तोकेर पठाएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । पछि गाउँ कार्यपालिकाको बैठकले ठाउँ परिवर्तन गर्दै त्यहाँदेखि केही पर सार्ने निर्णय गरेको उनले बताए ।

कार्यपालिकाको बहुमतले अस्पताल सार्ने निर्णय गरेको बताउँदै उनले अहिलेसम्म अस्पताल बनाउने भनी जमिन प्राप्त नभइसकेको र टेन्डर पनि नलागेको बताए । गत पुस १६ गते स्वास्थ्य चौकी नजिकैको १३ कट्ठा जमिनमै प्रदेश नम्बर १ का तत्कालीन सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्पतालको शिलान्यास गरिसकेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here