वैदेशिक रोजगार : मलेशियाका अस्पतालमा नेपालीको ३५ शव

0
507

झापा ।

कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगारको गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् ।

मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शव विभिन्न अस्पतालमा रहेका छन् । ती शवहरू नेपाल ल्याउन सरकारलाई आग्रह गरिए अनुसार यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव ल्याउने र परिवारसम्म पु¥याउने गर्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेशिया पनि पर्छ । कोरोनाभाइरससँग जुझ्न भन्दै मलेशियाले गत साता मात्र त्यहाँ सङ्कटकाल लगाएको छ । उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहने बताइएको छ ।

शव किन थुप्रिए ?

कोभिड–१९का कारण कामदारको आदानप्रदानमा कमी हुँदा र अन्य मानिसहरूको आवतजावतमा पनि कडाइ भएकाले मलेशिया र नेपालबीच हुने नियमित उडानहरू कम भएको अधिकारीहरू बताउँछन् ।

त्यसले गर्दा अहिले भइरहेका उडानहरूमा पनि सबैजसो कम्पनीले साना जहाज मात्र उडाइरहेको मलेशियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताए । उनले भने– कोभिडपछि नेपाल र मलेशियाबीच हुने हवाई उडानको संख्या कम भयो ।

अहिले मलेशियाबाट जाने उडानले पनि कार्गोभन्दा यात्रुलाई नै महत्व दिन्छन् । त्यसले गर्दा यहाँ शवको संख्या बढेको हो । उनले त्यसलाई समाधान गर्न नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाइदिन आग्रह गरिएको बताए ।

त्यसै अनुरूप आगामी शुक्रवार निगमले जहाज मलेशिया पठाउने र शनिवार १८ वटा शवसहित यात्रु लिएर फर्कने खबर प्राप्त भएको उनले जानकारी दिए । निगमका अधिकारीहरूले पनि त्यसबारे मलेशियालाई उडान अनुमतिका लागि प्रस्ताव पठाएको बताएका छन् ।

तर ठूलो जहाजबाट हुने एउटा उडानले मात्र नेपालीका सबै शव स्वदेश पठाउन नसकिने देखिएको कार्कीले जानकारी दिए ।

उनले भने– हामीले सबै विमान कम्पनीलाई आग्रह गरेर एउटा÷दुइटा शव त पठाइरहेका छौँ तर त्यसले मात्र सबै शव व्यवस्थापन हुन सक्ने अवस्था छैन । त्यसैले हामीले थप वाइडबडीको उडानका लागि पहल गरिरहेका छौँ ।

वैदेशिक रोजगार बोर्डका श्रेष्ठका अनुसार कोभिडकै कारण अहिलेको समस्या उत्पन्न भएको हो । उनका अनुसार अहिले यात्रु नहुँदा नेपाल र मलेशियाबीच सातामा तीनवटा मात्र उडानहरू भइरहेको र सानो जहाजमा एउटा उडानमा एउटै मात्र शव ल्याउन सकिन्छ ।

नेपालीको मृत्यु कति ?

अधिकारीहरूका अनुसार अहिले मलेशियामा विभिन्न कारणले निधन भएका नेपालीका शवहरू रहेका छन् । त्यस्ता कारणमा दुर्घटना, हृदयाघात, विभिन्न रोग र आत्महत्यालगायत रहने गरेका छन् ।

कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएकाको शव नेपाल नल्याई उतै अन्तिम संस्कार गर्ने गरिएको श्रेष्ठ बताउँछन् । बोर्डको तथ्याङ्क अनुसार गत वर्ष मलेशियामा १७६ जना नेपाली कामदारको निधन भएको थियो । त्यसमध्ये एकजना महिला थिइन् भने अरू सबै पुरुष थिए ।

गत वर्ष विभिन्न देशमा गरेर कूल ६५६ जना वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको निधन भएको बोर्डको तथ्याङ्क छ ।

मलेशियामा कार्यस्थलको अवस्था

मलेशियामा वैधानिक कागजात भएका र नभएका गरी करिब पाँच लाख नेपाली कामदारहरू रहेको बताइने गरेको छ । कतिपय नेपाली कामदारहरू खराब अवस्थामा त्यहाँ कार्यरत रहेको विवरण पनि बेलाबेला सार्वजनिक हुने गरेको छ ।

केही महिनाअघि मात्र विश्वकै ठूलो र चर्चितमध्येको एउटा पन्जा कम्पनीमा कामदारको शोषण गरिएको भन्ने विवरणहरू सार्वजनिक भएका थिए । उक्त कम्पनीमा सयौँ नेपाली कामदारहरू कार्यरत थिए ।

त्यहाँ कार्यरत सयौँ कामदारमा एकैपटक कोभिड–१९ भएपछि उक्त कम्पनी केही समयका लागि बन्द भएको थियो भने कामदारलाई दिइएको सुविधालाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रश्न उठाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here