झापाका १५ वटै स्थानीय तह समृद्ध बन्दै

८ माघ २०७७, बिहीबार मा प्रकाशित

सुरेन्द्र भण्डारी, सुरुङ्गा,

तीन वर्ष अघिसम्म साँझ नपर्दै सुनसान हुने झापाका अधिकांश ग्रामीण क्षेत्रका बजारमा अहिले राति अबेरसम्म निक्कै भीडभाड हुन्छ । कारण हो, जब साँझ छिप्पँदै जान्छ, तब बजार र सडकका सौर्यबत्ती झलमल बल्न थाल्छन् । गल्ली, चौक र सडकमा जडित सौर्यबत्तीले झलमल उज्यालो हुँदा साँझपख घुमफिर गर्ने र किनमेल गर्ने मानिसका कारण बजारमा राति अबेरसम्म नै भीडभाड हुने गरेको हो ।

दिउँसो अफिसको कामले नभ्याएका साँझपख किनमेल गर्न निस्कने परिपाटी बढेपछि साँझ नपर्दै सुनसान हुने झापाका ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका बजारसमेत अहिले राति अबेरसम्म खुल्दै आएका छन् । अझ बिहानको समयमा ‘मर्निङ वाक’ मा निस्कनेहरुका लागि त सौर्यबत्ती वरदान नै सावित भएको छ ।

अँध्यारै सडक पेटीमा मर्निङ वाक हिँड्दा सवारीले ठक्कर देला र मरिएला भन्ने पिरोलो समेत हराएको बिर्तामोड–२ चारपानेका स्थानीयवासी मदनगोपाल सुब्बा बताउनुहुन्छ । “मर्निङ वाकमा निस्कने मेरो बानी छ”, उहाँले भन्नुभयो, “म १० औँ वर्षदेखि मर्निङ वाकमा निस्कँदै आएको छु, हिजो अँध्यारोमा नै हिँडिन्थ्यो, आज चोकचोक र गल्ली गल्ली सौर्यबत्तीका कारण झलमल हुन्छन्, हिँड्नलाई कुनै डर छैन ।”

उहाँका अनुसार साँझ नपर्दै सुनसान र बिहान अबेर मात्रै सडकमा मानिसको चहलपहल देखिने झापाका ग्रामीण क्षेत्रका बजार र सडकमा समेत अहिले उज्यालोकै कारण राति अबेर र बिहान सबेरै चहलपहल देख्न पाइन्छ । शहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका बजार र सडक सफा भएका कारण गाउँगाउँमा अहिले मर्निङ वाकको लहरै आएको छ ।

स्थानीय तहको निर्वाचनपछि चुनिएका जनप्रतिनिधिले आ– आफ्नो ठाउँको विकासमा चासो राख्दै गाउँका बजारलाई स्मार्ट सिटी, धुलौटे सडकलाई कलोपत्रे, सडक पेटीमा सौर्यबत्ती जडान गरेकै कारण झापाका शहरी र ग्रामीण क्षेत्रका बजारसमेत चम्किएको देख्न सकिन्छ ।

“तीन वर्षअघि म विदेश (दुवई)जाँदा यहाँ केहीको सुविधा थिएन”, बाह्रदशी गाउँपालिका–१ बोक्राझाडीका कृष्ण घिमिरे ‘प्यासी’ले भन्नुभयो, “अहिले राजगढ बजार साँझपख त धपक्कै बल्दो रहेछ । गाउँपालिकाले स्मार्ट सिटीको अवधारण अगाडि बढाएर सबै सडक कालोपत्रे, स्थानीयको सक्रियतामा ठूला–ठूला सपिङ मल, उद्योगधन्दा खोलिनु र साँझ पर्दै जाँदा बजारमा देखिने झिलिमिली बत्तीले यहाँको स्वरूप नै बदलिएछ ।” तीन वर्षअघि उहाँको गाउँमा बिजुली बत्ती पुगेको थिएन ।

“कुपी (मट्टितेल र सलेदोको सहायताले बालिने बत्ती) बालेर बस्नु पर्थ्यो तर अहिले घरघरमा बिजुली पुगेको छ । विदेशमा हुँदै सुनेको थिएँ गाउँपालिकाले उज्यालो बाह्रदशी भन्ने अभियान चलाएको छ, हो रहेछ”, घिमिरेले भन्नुभयो, “बाह्रदशीका सबै वडामा अहिले विद्युत्को पहुँच पुगेको छ ।”

त्यसो त बाह्रदशी गाउँपालिकाले करोडौँ रुपैयाँ खर्च गर्दै पहिलो वर्ष नै बाह्रदशीलाई उज्यालो बनाउने योजना अघि सारेको थियो । सोही योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै बाह्रदशीका सातवटै वडामा विद्युत् विस्तार गरिएको हो । बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार गाउँपालिका गठन भएपछि पहिलो र दोस्रो वर्ष बाह्रदशीमा विद्युत् विस्तारका लागि एक÷एक करोड रुपैयाँ खर्च गर्दै विद्युत् विस्तारको पहल थालिएको थियो । प्राधिकरणसँगको सहयोगमा गरिएको विद्युत् विस्तारका कारण दुई वर्षमा सबै वडावासीलाई उज्यालोमा राख्न सकिएको उहाँको भनाइ छ ।

विकासको दृष्टिकोणले पछि परेको बाह्रदशीमा अहिले मुलुक सङ्घीय संरचनामा गएपछि विकासले फड्को मारेको छ । गाउँपालिकाभित्र रहेका सबैजसो धुलौटे सडक कालोपत्रे गरिनु, गाउँमै १५ शय्याको अस्पताल निर्माणको काम शुरु हुनु, सात वटै वडामा प्राथमिक स्वास्थ्यचौकीको निर्माण हुनु, गाउँमै बर्थिङ सेन्टरको सुविधा, विपन्न परिवारका लागि छुट्टै र चिटिक्क परेको बस्ती बसाल्न सक्नु, पक्की पुल, झोलुङ्गे पुल, कजवे र आवश्यक परेको ठाउँमा हिमपाइप राख्दै आजतजावतमा सहज बनाएसँगै स्थानीयवासीले समेत राहतको अनुभव गरेका छन् ।

अझ कृषकका लागि कृषि अनुदानका कार्यक्रम सञ्चालन गर्दै व्यावसायिक खेतीमा प्रोत्साहित गरेपछि गाउँपालिकाको कार्यशैली प्रति स्थानीयवासी खुशी देखिएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहले खानेपानी ट्याङ्की निर्माणदेखि ज्येष्ठ नागरिक चौतारी निर्माणसम्मका कार्यक्रम ल्याएर सबैलाई समेटेपछि गाउँपालिकावासी आफैँमा दङ्ग छन् ।

झापा गाउँपालिकामा छात्रा र विपन्न विद्यार्थीलाई साइकलसमेत वितरण गरिएका कारण बीचैमा पढाइ छाड्ने विद्यार्थीसमेत विद्यालय जान थालेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा हामीले अब यो गर्न बाँकी छ भन्ने ठाउँ नै राखेनौँ, सबै पक्षलाई समेटेर समानुपातिक रूपले विकास निर्माणका कामलाई अघि बढाएका कारण झापा गाउँपालिका पछिल्लो केही वर्षभित्रै समृद्ध बन्दै गएको छ ।”

सात वटै वडामा एकएक वटा मुख्य सडकको छनोट गर्दै कालोपत्रेको काम, जीर्ण अवस्थामा पुगेका विद्यालयका भवनलाई पुनः निर्माण, सबै विद्यालयमा स्मार्ट कक्षा सञ्चालन, कक्षा ११ र १२ अध्ययन गर्ने सबै विद्यार्थीलाई पूर्णरूपमा छात्रवृत्ति, कृषकलाई पशु उपहारदेखि भकारो सुधारसम्मका कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

पन्ध्र वटा स्थानीय तह रहेको झापा र बाह्रदशी गाउँपालिका उदाहरणका लागि मात्रै प्रस्तुत गरिएका गाउँपालिका हुन् । झापा र बाह्रदशीजस्तै सबै पालिकामा अहिले विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखिएको छ । सबै पालिकाले आ–आफ्नो क्षेत्रभित्र विकासका पूर्वधारलाई उच्च प्राथकिमतामा राखेर निर्माण गरिरहेका छन् ।

शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटनजस्ता क्षेत्रको विकासका लागि पनि बजेट नै विनियोजन गर्दै त्यससम्बन्धी कार्यक्रम सञ्चालन गरेका कारण झापाका सबै स्थानीय तह समृद्ध बन्दै गएका हुन् । अझ शहरोन्मुख बजारका रूपमा विकसित हुँदै गएका विर्तामोड, भद्रपुर, दमक, सुरुङ्गा, काँकडभिट्टा, धुलाबारीको विकासका लागि स्थानीय तहले थप योजना अघि सारेका छन् ।

राजमार्गसहित आवासीय क्षेत्रमा बत्तीको झिलिमिली मात्रै होइन विकासका पूर्वाधारका सबैखाले काम भइरहेका छन् । अझ प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा त झन अर्बौं रुपैयाँका बहुवर्षीय योजना सञ्चालनमा छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here