नेपाली कांग्रेस र अबको बाटो

९ माघ २०७७, शुक्रबार मा प्रकाशित

प्रतिनिधिसभा विघटनपछि अदालतको आदेश कुरेर विघटन सदर भए चुनावमा जाने कि पहिला नै पुनस्र्थापनाका लागि आन्दोलन थाली हाल्ने बारे कांग्रेसमा एकमत छैन । अदालतको आदेश पालना गर्ने तर्क आफैमा लोकतान्त्रिक विधि हो । नेपाली कांग्रेस पार्टी अदालतको सम्मान गर्ने र कानूनको परिपालना गर्ने पार्टी हो । कानूनको परिपालनाबाट मात्र लोकतन्त्र र मानव अधिकारको रक्षा गर्न सकिन्छ भन्ने मान्यता नेपाली कांग्रेसमा देखिन्छ । यद्यपि, प्रधानमन्त्री केपी ओलीले चालेको अहिलेको राजनीतिक कदम लोकतन्त्रको विधि र पद्धत्तिसँग मेल खाएको देखिँदैन । यो पूर्ण प्रतिगमन पनि होइन र पूर्ण लोकतान्त्रिक तरिका पनि होइन । यस्तो जटिल परिस्थितिमा नेपाली कांग्रेसले रोज्ने आन्दोलनको चरित्र कस्तो हुने भन्ने कुरा पनि कम महत्वपूर्ण होइन ।

आम नागरिकलाई थाहा छ, नेपाली कांगे्रसको संस्थापन पक्ष वर्तमानमा प्रधानमन्त्री ओलीले चालेको कदमप्रति असहमति जनाउँदै अदालतको निर्णय जे आउँछ त्यही अनुरुप आगामी कार्यक्रमहरु निर्धारण गर्ने पक्षमा देखिएको छ । अदालतलाई सम्मान गर्ने र अदालतको निष्पक्षता र तठस्थता बृद्धि गरी संविधानसम्मत निर्णयको अपेक्षा राख्ने परम्परा नेपाली कांगे्रसको ऐतिहासिक चरित्र पनि हो । नेपाली कांगे्रसका सर्वोच्च नेता वीपी कोइरालाले संविधान अभेध्य र अउल्लंघनीय होइन भन्नुभएको छ ।

पञ्चायती व्यवस्थाले आठ वटा फाँसीको मुद्दा लगाउँदा पनि वीपी कोइराला आफैं अदालतमा बहस गर्न जानुभयो । वीपी, गणेशमान सिंहमाथि फाँसीको मुद्दा हुँदा पनि अदालतले न्याय गर्छ भन्ने विश्वास उहाँहरुमा थियो । अदालतलाई सम्मान गर्ने परम्परालाई गिरीजाप्रसाद कोइरालाले पनि कठिन अवस्थामा पनि कायमै राख्नुभयो । राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा शाही आयोग खडा गरेर थुन्दा अहिलेका पार्टी सभापति देउवा, नेता प्रकाशमान सिंह पनि अदालत गएका थिए । जेलमा बस्दा पनि अदालतबाट न्याय पाउने विश्वास उहाँहरुमा थियो । अदालतकै आदेशबाट मुक्त पनि हुनुभयो ।

वीपी कोइरालाले भने झैं संविधान अभेध्य र अउल्लंघनीय होइन । लोकतान्त्रको विधि र पद्धत्तिलाई अनुशरण नगरेको संविधानको उल्लंघन गर्नु लोकतन्त्रमा विश्वास गर्नेहरुको जिम्मेवारी पनि हो । तर, अहिलेको संविधान जनताद्वारा निर्माण गरिएको संविधान हो । केही विषयमा फरक मत रहे पनि संविधानको सर्व–स्वीकार्यता अहिले पनि कायमै छ । यसैले संविधानका बारेमा नेपाली कांग्रेसले प्रश्न उठाउने वातावरण तयार देखिन्न । तर, संविधानको कार्यान्वयन गर्ने संवैधानिक निकायबाट हुने त्रुटीलाई नेपाली कांग्रेसले कसरी रोक्ने भन्ने विषय अहिलेको सन्दर्भमा महत्वको देखिएको छ ।

अहिले सर्वोच्च अदालतबाट कस्तो निर्णय आउला भन्ने बारेमा सार्वजनिकरुपमा ठूलो चासो बढेको छ । यसै चासोको भुँमरीमा नेका पनि रुम्मल्लिन पुगेको छ । नेकाका नेताहरु यस सन्दर्भलाई आ–आफ्नै प्रकारले ब्याख्या गरिरहेका छन् । यसरी गरिएका ब्याख्याले नेकामा प्रष्ट दुई धार तयार गरेको देखिन्छ । पहिलो धार– अदालतको निर्णयलाई स्वीकार गर्न ‘पर्ख र हेर’को पक्षमा देखिन्छ । अदालतले संसद पुनस्र्थापना गरेमा सोही अनुरुपको राजनीतिक आन्दोलन र समाधान खाज्ने र अदालतले संसद विघटनको घोषण सदर गरेमा निर्वाचनमा जाने र जनताको अदालतबाट आएको अभिमतको सम्मान गर्ने । नेकाभित्रको दोस्रो धार अहिले नै बेजोडको आन्दोलन गर्ने तर्क गरिरहेको छ । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी भएको संस्थागत ठहर गरिसकेको नेपाली कांग्रेसभित्रको अहिले नै निर्णयक आन्दोलनमा गई हाल्नुपर्छ भन्ने पक्षले आन्दोलनको उद्देश्य प्रष्ट पार्नु पर्ने बेला भएको छ । तर, यस विषयमा अहिले नै आन्दोलन शुरु गर्ने धारका पक्षधरहरु आफैमा प्रष्ट भएको देखिँदैन ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनिसकेपछि कसकाविरुद्धमा आन्दोलन ? अदालतमा प्रवेश गरेको विषयलाई अदालतललाई प्रभावित पार्नका लागि हो कि, अदालतले संसद विघटनको निर्णय सदर गरो भने सो निर्णय नमान्नका लागि आम नागरिकलाई सचेत पार्नका लागि आन्दोलन ? वा यो संविधान समाप्त भयो अब नयाँ संविधान निर्माण गरौं भन्नका लागि आन्दोलन ? यस्ता प्रश्नहरुको उत्तर अहिलेसम्म आउन सकेको छैन । कसकाविरुद्धमा आन्दोलन ? कुन स्वरुप र चरित्रको आन्दोलन ? र, यो आन्दोलनको लक्ष्य के हो ? सो कुराको प्रष्टता ल्याउन जरुरी छ । त्यति मात्र होइन यो आन्दोलनको उपलब्धि र राजनीतिमा पार्ने प्रभावका बारेमा पनि प्रष्टता ल्याउन जरुरी छ । हरेक आन्दोलनको वकालत गरिरहँदा, नेपाली कांगे्रसको ऐतिहासिक चरित्र अन्य दलहरुभन्दा भिन्न छ भन्ने हेक्का नेकाका सबैले राख्न जरुरी छ ।

कम्युनिष्टहरुले सञ्चालन गर्ने आन्दोलनको चरित्र सदैव विध्वंसकारी र रक्तपातपूर्ण देखिएका छन् । तोडफोड, आगजनी, हत्या, हिंसा र आतंकका भरमा नेपालको कम्युनिष्ट आन्दोलन बाँचेको छ । आशंका र अविश्वास, अवसरवादी कार्यशैली, फुटाउ र शासन गर भन्ने नीति कम्युनिष्टहरुको मूल नीति हो । अझ, नेपालीको गरिबी र उत्पीडनलाई उपयोग गर र राजनीति गर भन्ने कुरा कम्युनिष्टहरुको रणनीतिक कार्यशैली हो । कुनै पनि विषयवस्तुको वास्तविकताभन्दा हौवा खडा गर्दै अफवाह फैलाउनु र यस्ता कुराबाट उत्पन्न क्षणिक आकर्षणबाट राजनीतिक फाइदा लिनु उनीहरुको चरित्र हो । राजनीति र सम्बोधनहरुमा उत्तेजनक र आपत्तिजनक शब्दको प्रयोग, हदैसम्मको गालीगलौज र अपमानित व्यंग्य उनीहरुको शैली र संस्कृति हो । यस्ता कुराबाट नेका अहिलेसम्म टाढा नै देखिएको छ । ‘गद्दार’ र ‘सफाया’ जस्ता शब्दको प्रयोग नेकाका नेता त के सामान्य कार्यकर्ताहरुले समेत अहिलेसम्म गरेका छैनन् । शान्तिपूर्ण संस्कृति नेकाको मूल चरित्र रहेको छ । यसैकारण नेकाका हरेक आन्दोलनहरु सत्याग्रहमा आधारित शान्तिपूर्ण आन्दोलनका रुपमा रहेका छन् ।

तर, नेपालको राजनीतिको पछिल्लो अवस्थामा नेपाली कांगे्रसका केही नेताहरुमा कम्युनिष्ट कार्यशैली, संस्कार र चरित्रले प्रवेश पाउन थालेको छ । उग्रता, आशंका, अधैर्यता, लघुताभाष, कुण्ठा जस्ता गलत चरित्रहरु नेकाका केही नेताहरुमा पनि देखिन थालेका छन् । धारातलीय यथार्थताभन्दा पनि अफवाहको शैली केही नेताहरुमा देखिन्छ । यस्ता चरित्रहरु हावी बन्दै जाने हो भने नेपाली कांग्रेसले अरु दलभन्दा फरक रुपमा रहेको आफ्नो मूल चरित्र नै गुमाउन सक्ने खतरा देखिन थालेको छ ।

राजा महेन्द्रले २०१७ सालमा संसदीय व्यवस्था खारेज गरी निर्दलीय शासन गर्दा मृत्युप्रयन्त वीपी कोइरालाले निर्दलीयताका विरुद्धमा कठोर लडाई लडिरहनु भयो । अन्ततः निरंकुश राजतन्त्र समाप्त भयो । लोकतन्त्र सर्व–स्वीकार्य शासन प्रणाली हो । लोकतन्त्रमा कसैकोे हार हुँदैन । यो सबैको जित हुने शासन प्रणाली हो । यही कुरा २०४६ सालको जनआन्दोलन सफल भएपछिको काठमाडांैको खुल्ला मञ्चमा नेता गिरीजाप्रसाद कोइरालाले भन्दा कम्युनिष्टहरुबाट ढुंङ्गा प्रहार भयो । तर, विस्तारै उनीहरुले यसलाई स्वीकार गरे । तात्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्न संसद भंग गरेपछि निरन्तर दरवारतिर औंला उठाएर संसद पुनस्र्थापनाको लडाई शान्तिपूर्वक लडेका आन्दोलका प्रमुख कमाण्डर गिरीजाप्रसाद कोइरालले शान्तिपूर्ण आन्दोलनबाटै संसद पुनस्र्थापना गराएरै छाडे ।

सशस्त्र युद्धका नाममा हजारौं मानिसको हत्यामा संलग्न माओवादी पार्टीलाई निरन्तरको संवादबाट शान्ति प्रक्रियामा आउन बाध्य नै पारे । अर्थात्, अहिलेसम्मको नेपालको राजनीतिमा नेपाली कांगे्रसले लिएको राजनीतिक अडान परिपक्व र परिवर्तनको मुख्य अङ्गका रुपमा नै रहेको छ । यसो हुनुमा नेपाली कांगे्रसका नेताहरु भित्र रहेको गहिरो सुझबुझ, अन्तर्राष्ट्रिय बैधता, नेपालको राजनीतिक चरित्रको परिपक्व ज्ञान नै हो । तसर्थ, पनि वर्तमानमा देखिएको राजनीतिमा नेपाली कांगे्रसले कम्युनिष्टहरुको उक्साहटमा उत्ताउलो हुन जरुरी छैन । नेपाली कांगे्रसबाट संयमतापूर्वक लोकतन्त्रलाई संरक्षण गर्न अभिभावकीय भूमिकाको आशा नेपालीहरुले गरिरहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here