त्रास यथावत सतर्कता जरुरी

९ माघ २०७७, शुक्रबार मा प्रकाशित
  • 404
  •  
  •  
  •  
  •  
  •  
    404
    Shares

नेपालमा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढेको विज्ञहरुको औंल्याएका छन् । बेलायतबाट शुरु भएको भनिएको नयाँ प्रजातिको कोरोनाको संक्रमण तीन जनामा पुष्टि भएसँगै नेपालमा संक्रमणको जोखिम बढेको उनीहरुको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बदलिएको राजनीतिक परिस्थिति, संसद विघटनको पक्ष–विपक्षमा भइरहेका भेला, प्रदर्शन, स्वास्थ्य मापदण्डको उल्लंघन, बढ्दो भिडभाड जस्ता कारणले दोस्रो चरणको संक्रमणको जोखिम बढेको उनको भनाइ छ । पहिलो चरणको कोरोना संक्रमणको दर घट्दै गएका कारण आम मानिसले सुरक्षा सतर्कता अपनाउन छाडेका छन् भने मास्क प्रयोग गर्नेहरुको संख्या पनि घट्दै गएको छ । यही समय कोरोना रोकथामका लागि विश्व स्वास्थ्य संगठनले निर्देशन गरे अनुसारका मापदण्डको पालना गर्न÷गराउन सरकारका तर्फबाट कुनै पहल भइरहेको छैन । अझ स्थानीय सरकारको जिम्मामा दिएपछि त कोरोना भाइरसको विस्तारमा ‘मलजल’ हुने गतिविधि ह्वात्तै बढेको छ । त्यसकै नतिजा हुनसक्छ आम मानिसले संक्रमणको जोखिमप्रति लापर्वाही मात्र गरिरहेका छैनन्, विद्यालय, सिनेमाहल, जिमखाना, सौन्दर्य प्रशोधन स्थलहरु खुल्ला गरेर जोखिमलाई आमन्त्रण गरिरहेका छन् ।

नयाँ प्रजातिको कोरोना संक्रमण विश्वका साठी देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसका बारेमा अनुसन्धान नभइरहेको र विस्तारको गति तीव्र रहेको कारण नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ । हाम्रो लापर्वाही, सरकारका कारण उत्पन्न राजनीतिक अस्थिरता, दिनहँुजसो भइरहेका सभा, जुलुस, भेला तथा प्रदर्शन लगायतले परिस्थिति घातक बन्न सक्ने भन्दै चिकित्सकहरुले चेतावनी नै दिएका छन् । सम्भावित जोखिमको न्यूनीकरण, रोकथामप्रति गम्भीर नहुने हो भने तथा राजनीतिक दल र आम मानिस स्वयम् सचेत, सजग र सतर्क नरहने हो भने त्यसले पार्ने दीर्घकालीन असरबाट कोही पनि जोगिन सक्ने छैन । समृद्ध देशहरुले कोरोना संक्रमणको विस्तारलाई रोक्न अनेक स्वास्थ्य उपायको अवलम्वन गरेका छन् । अझै कतिपय देशहरुमा बन्दाबन्दी यथावत छ । कोरोनाविरुद्ध खोपको आविष्कार मात्र होइन प्रयोग नै गर्न थालेका छन् उनीहरुले । यद्यपि त्यसको प्रभावको प्रत्याभूति हुन सकिरहेको छैन तथापि आफ्ना जनतालाई कसरी सुरक्षित राख्न सकिन्छ त्यसतर्फ स्वास्थ्य सेवा, उपचार, विकल्प, राहत तथा खोप उपलब्ध गराइरहेका छन् ।

कोरोना संक्रमणको जोखिम बढिरहेका बेला छिमेकी देशभारतले दश लाख खोप निःशुल्क प्रदान गरेको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक खोप भारतले नेपाललाई निःशुल्क प्रदान गरेको हो । उक्त खोप बिहीबार नै नेपाल ल्याइ पु¥याइएको छ । उच्च जोखिममा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने र सफाईकर्मीहरुलाई उक्त खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एकातिर कोरोनाको पहिलो चरण नियन्त्रणमा आएको छैन भने अर्कोतिर आममानिस त्यसले पु¥याउन सक्ने क्षति प्रति गम्भीर हुन छाडेका छन् । यस्तो बेला भिडभाड हुने विद्यालय, सिनेमाघर खुल्ला गरिनु कोरोनाको दोस्रो चरणलाई स्वागत गर्नु सरह भएको छ । हामीमा बढ्दो उदासीनता र लापर्वाहीले उत्पन्न गर्ने क्षतिको जिम्मेवार आफैं हुनुपर्नेछ । त्यसैले पनि विश्व समाजमा कोरोना महामारीले पु¥याएको मानवीय तथा अन्य क्षति प्रति गम्भीर हुनैपर्छ । खोप आउला, लाउँला र अकाल मृत्युबाट जोगिऔंला भनेर निश्चिन्त हुन थालियो भने प्रतिकूलताको सामना गर्नैपर्छ । त्यसैले पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरुप्रति सतर्क रहौं, सतर्कता अपनाऔं अन्यथा अनेक क्षति व्यहोर्न बाध्य हुनुपर्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here