तिमीले मलाई भुल्नै आँटेकी छ्यौ रे !

१० माघ २०७७, शनिबार मा प्रकाशित


सुन्दैछु साइँली ! तिमीले मलाई भुल्नै आँटेकी छ्यौ रे ! खै किन हो आजभोलि तिम्रो हाम्रो भेट पनि हुन छाडिसको । मुबिल फुनमा कुराकानी पनि हुन छाड्यो । मुबिलमा मुसेज पनि गर्न छाडी सकेउ । मेरो मुसेजको जवाफ पनि दिन छाडेऊ । कुनै खबर सम्चार कुरोकन्थो केही सुनिन्न तिम्रो तर्पmबाट । के भुल गरेँ साइँली ! मुइले र तिम्रो मुन दुख्यो ? मुइले बुझ्नै सकेन ।

यो कुरो सत्ये नभइदियोस् साइँली ! कि तिमीले मलाई भुल्नै आँटेकी छ्यौ रे । यस्तो सुन्दैमा म त बेहोश भैजान्छु । अस्ति जब मैले यो कुरो सुने । म त एकदिन एकरात पुरै बेहोश भएर बाटैमा लडेछु । कतिले पानी छेपेछन् । कतिले रुमालले पङ्खा हम्केछन् । कतिले मेरो बटारिएको मुन्टो सोझ्याएछन् । कतिले मलाई अलि सजिलो होस् भनेर बाटा किनारमा सुताएछन् । कतिले सालको पातको सिरानी बनाइ दिएछन् ।

रातभरि झ्याउँकिरीहरुले मेरो कानमै गीत गाएछन् । स्यालहरु पनि आएर कराएछन् बेहोशीबाट बौरियोस भनेर । कमिलाहरुले जीउभरी गुण लाएछन् । धमिराले माटोको ढिप उठाउन थालेछन् । मोरा कुकुरहरुले मेरो मुखैमा तुक्र्याएछन् । कति कुकुरहरु मेरो साथी बनेर मसँगै गुँडुल्किएर सुतेछन् । तिमीले मलाई भुल्नै आँटेकीमा म त बिरत्तिएर अब बाँच्दिन भन्दै भिरबाट हामफाल्ने हुँदा पो सपनाबाट झल्यास्स बिउँझेछु रातिउँदो । अनि पो म बेहोशीबाट उठेर बाँचे । नत्र त म बाटैमा मर्ने थिएँ । त्यसैले तिमीलाई धन्येवात । तिम्रै पीरले बाँचे । थाहा छ साँइली ? कोही भन्दै थिए मेरो माथिमाथि आकाशमा गिद्ध पनि घुम्दै थियो रे ।

मुया पिरती लाउनु उस्तै सारो । मुया पिरती बसिसकेपछि थामेर राख्नु कति गारो । थामेर राखे पनि बिहे गर्न झन् गारो । कोही बेला एउटा ठुसुक्क कोही बेला अर्को ठुसुक्क । तर, हाम्रो मुया पिरतीमा कसरी चिरा परो । म हजार पल्ट सम्झन्छु कि मैले गल्ती चैँ के गरेँ ? तिमीले गल्ती गरे त के भो मैले सहेकै छु । सहुँला भनेरै त तिमीलाई प्यारी बनाको । हुन सक्छ नहुन पनि सक्छ तिमीले मलाई कहीँ कतै गरीब त सम्झिनौ ? अन्तिममा आएर यस्तै लाग्दो रछ साइँली ! के गर्नु उहीले बाजेबराजुले खुर्पा ठ्याक लगाएर जग्गाजमिन ओगट्न भुलेछन् । बाउले पनि सम्पत्ति जोड्न सकेनन् । मेरो त के गर्नु कुरा ? भको पनि दिनदिनै रित्याउँदैछु । कहिले के निहुँमा कहिले के निहुँमा । गरीब भएर बाँच्न गारो छ । त्यो भन्दा पनि मुया पिरती थामेर राख्नु झन् सारो रछ ।

लु म गरिब भएर मलाई भुल्न आँटेकी होइनौ अरे । तर, मलाई किन भुल्दैछ्यौ त साइँली ? म रुपमा नराम्रो भएर हो की ? ऊ बेला चाहिँ कसरी म तिम्रो लागि अरुभन्दा राम्रो भएँ ? यो पहाड अनि त्यो पहाडका लक्का जवान केटाहरुलाई छाडेर किन मलाई नै रोज्यौ ? तिम्रो लागि म राजकुमार भएको थिएँ त । अहिले आएर खै कसरी मेरो हिस्सीपनमा खिया लागो ? हेर्छु म त उस्तै छु । हुनसक्छ तिमीलाई अब अरु नै मन पर्न थाल्यो होला ।

आजभोलि मुबाइल फुनको फ्याँसबुकमा नानाथरीका केटाहरुको फोटाहरु आउने गर्छन् । तिनीहरु पो मन पर्न थाल्यो कि तिमीलाई । फ्याँसबुके मुया पिरतीमा परेर धेरै–धेरै नेपाली चेलीहरुको जीवन बर्बाद भको कथा पनि थाहा पाउने गरन है साइँली । मेरो जख्रक्क पेरेको कपाल, डाडु जस्तो कान, चप्लेटी ढुंगा जस्तो निधार, सुगाको ठोँड जस्तो दाँत अनि मुड्को गाँसेको जस्तो जीऊडाल, ढ्याबे्र खुट्टा देखेर तिमीलाई म घिन लाग्न थालेको होला । तर, साइँली नेपाली राष्ट्रिय पोशाक दौरा–सुरुवाल, अस्कोट, कोट, ढाका टोपी, गोडामा कालो जुत्ता र कम्मरमा पटुकीमा खुकुरी भिरेपछि म जस्तो राम्रो अरु को पो देखिएला र ? मेरो त्यस्तै रुप देखेर तिमी मसँग भुतुक्कै परेकी हौ कि होइनौँ ?

हुन सक्छ साइँली ! म किसानको छोरा भएकाले तिमीलाई म मन नपर्दै गएको हुँला । तर, विचार गर साइँली तिमी पनि किसान आमा बाबुकै छोरी हौ । हाम्रो धरातल एउटै हो साइँली । खेतबारी, मेलापात, कुटो कोदालो, डोको नाम्लो नै हाम्रो जीवनशैली हो । किसान हुनु कति धेरै महत्वपूर्ण रछ तिमीलाई पनि थाहा भयो नै होला त । कोरोना भाइरासको महामारीमा आखिर मुन्छेहरु गाऊँमा नै धाइफाल हान्दै आइपुगे शहरबाट । सबै खेतबारीमा काम गर्न थाले । सबै सब्जी व्यापारी बने । हामी किसान भएकोमा हामीले गर्व गर्नुपर्छ । पृथ्वीका सबै कुरा ध्वस्त भए पनि कृषि प्रणालीले मानव सभ्यतालाई जोगाउन सक्छ भन्ने कुरा सबैलाई थाहा भको छ । अनि तिमी चाहिँ कसरी फ्याँसबुके केटाहरुको लप्पनछप्पनमा पर्दैछ्यौ ? तिमी सात समुद्रपारी गका केटाहरुको गुलिया मीठा कुरामा भुल्यौ कि ? यतैका उरेन्ठेउलाका चङ्गुलमा फँस्यौ ?

साइँली । तिम्रो खुशीको कुरा हो । तिम्रो खुशीमा म बाधा बन्न चाहन्न । तर, एकपटक सम्झ त तिम्रो लागि मैले कोशी पौडेर तरेँ । तिमी कोशी पारी किनारमा मलाई पर्खि बसेकी हुन्थ्यौ । साइँलो कतिबेला आउला भनेर । कोशीमा गोहीले बाँकेटे हान्दा साइँला कोशी तर्दैछ भन्ने ठान्दथ्यौ । तिम्रो मुया पिरतीको शक्तिले म मा अथाह शक्ति आउँथ्यो । कोशी तरेर तिमी कहाँ पुग्दा तिमी जुनतारा जस्तै हँसिली हुन्थ्यौ । त्यतिबेलाको तिम्रो त्यो मुस्कान मोनालिसाको मुस्कानभन्दा कति हो कति हजारगुना धेर मन हर्ने हुन्थ्यो । मलाई पाउँदा तिमीले संसारकै बहुमूल्य चिज पाएको महशुस गथ्र्यौ ।

यी गोरेटाहरु सुनसान छन्, पहाड रित्तोरित्तो छ । डाँडा बजार पनि सुनसान लाग्छ । तिमीबिना मेरो लागि सबै सबै सुनसान । गोरेटाहरुमा, चौतारामा तिमीलाई नै पर्खी बस्छु । हाटबजारमा हजारौँ मान्छेहरुबीच तिमीलाई नै खोज्छु । अहँ तिमी भेटिन छाड्यौ । लु छिनो फानो गरुँ न त साइँली । तिमी कोशीपारी आऊ । म वारी आउँला । तिम्रो मनमा अझै पनि पितिक्क मेरो माया बाँकी भए तिमीले कोशीपारीबाट हात हल्लाएर मलाई बोलाऊ । मलाई बिर्सन नै चाहेकी हौ भने तिमी फरक्क फर्केर जाऊ । टाढैबाट भए पनि तिमीलाई एक झल्को हेरेर म पनि बाटो लागुँला । केही दुःखमनाउ गर्दिन, तर म कुन बाटो समातुँला म यसै भन्न सक्दिनँ । तिम्रो जीवन लालीगुँरास जस्तै सुन्दर होओस् । तिम्रो चाहना पूरा होओस् ।

–उही तिमीले बिर्सनै आँटेको अभागी चुइसे साइँलो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here