अश्वत्थामा वर्तमान राजनीतिको ऐना

१० माघ २०७७, शनिबार मा प्रकाशित

तपाईंद्वारा लिखित अश्वत्थामा कृतिलाई जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको छनौट समितिले वर्ष कै उत्कृष्ट कति ठहर गरी पुरस्कृत गर्ने घोषणा गरेको छ । तपाईंलाई कस्तो महसुस भएको छ ?

– आफूले लेखेको कृतिले सम्मान पाउनु आफैमा गर्व गर्ने कुरा हो । त्यस्ता कुराले कृति सिर्जना गरेर सम्मान पाउँदा सबैभन्दा बढी सो कृतिका लेखकले आफूलाई भाग्यशाली सम्झन्छन् । मेरो छैठौं कृतिका रुपमा ‘अश्वत्थामा’लाई सांग्रिला बुक्सले प्रकाशन गरिदिएर कृतज्ञ तुल्याएकै थियो, अझ सो कृतिले साहित्य क्षेत्रमा क्रियाशील संस्थाले उत्कृष्ट ठानेपछि आफूलाई पनि कृति गहकिलो नै छ कि जस्तो भान भएको छ । ‘अश्वत्थामा’लाई उत्कृष्ट घोषणा गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्दछु ।

महाभारत युद्धका पात्र अश्वत्थामालाई केन्द्रमा राखेर उनकै नाममा कृति लेख्ने प्रेरणा कसरी आयो ?

– महाभारत आफैमा एउटा संसार हो । त्यसभित्र भएका घटना र पात्रहरु नै हाम्रा समाजमा दोहोरिरहन्छन् । आफू फरक छु जस्तो लागे पनि त्यसैको वरिपरि हामी पनि हुन्छौं । कुनै पनि राज्य गठन र विघटन पनि सोही अनुरुपका पात्रका भूमिका अनुसार नै भइरहेका हुन्छन् ।

नेपाल पनि लामो प्रक्रिया पूरा गरेर विघटन उन्मुख त छैन ? भन्ने प्रश्न मनमा उब्जियो । त्यसले यो कृतिका लागि आधारभूमि तयार ग¥यो । देशमा जातीय आन्दोलन, ब्राह्मणप्रति अति वितृष्णा, राजनीतिले आक्रान्त नागरिक, वाह्य राज्यको देशभित्र अति चलखेल, देशभित्रका इमान्दार र राज्यप्रति उत्तरदायीहरुको हत्या, अनावश्यक विद्रोह लगायत कुराहरुको मदानीले पेलेर यो कृति सिर्जना गरेको हो । महाभारतका कुरामा ब्राह्मणहरुले भागेको अन्याय, दुर्योधनको इमान्दारिता र सत्यता, कृष्णको कुटिलता लगायतका कुरालाई आधार बनाएर वर्तमान राजनीतिक ऐना देखाउनुपर्छ भन्ने लागेर कृति सिर्जना हुन गयो ।

अश्वत्थामा कस्तो कृति हो, आम पाठकले यो पढेर के पाउँछन् ?

– ‘अश्वत्थामा’ कृति विशेषतः राजनीतिक घटना र परिघटनामा आधारित कृति हो । यो लीलालेखन उन्मुख छ । यो कृति समग्र ‘महाभारत’को ‘प्रतिलेखन’ कृति हो भन्दा पनि हुन्छ । यस कृतिले पाठकलाई हरेक घटनाका दुई पाटा हुन्छन् भन्ने सन्देश दिन्छ । हामी जहिल्यै पनि एउटा पाटो हेरेर धारणा बनाउँछौं । तर, आफूले देखेको भन्दा ठूलो पक्ष कहिलेकाहीँ अर्कोतिर छुटिरहेको हुन्छ भन्ने प्रष्ट पार्छ । सत्यवादीहरु राजनीतिक घेराभित्र छिरेर कसरी मारिन्छन् वा पछारिन्छन् भन्ने पनि बुझ्न यसले सहयोग गर्छ । यसको गहन अध्ययन गर्नेले नेपालको वर्तमान राजनीतिक अवस्था र हाम्रो समाज विज्ञान बुझ्न पनि सहयोग गर्छ ।

अर्थात् यस कृतिले पुरातनवादी मान्यतालाई विनिर्माण गर्छ । एकालापको विरुद्धमा बहुअलावको सिर्जना गरेको छ । एक मूख्य पात्र र अरु सहायक पात्र जस्तो लाग्छ धेरैलाई हरेक कुरामा । तर, यसले बुझाउन खोजको कुरा भने हरेक पात्र आफैमा विशिष्ट छ । ऊ आफैमा एउटा पूर्ण पात्र हुन्छ । हामी पनि आफू–आफूमा पूर्ण पात्र हौं । कहिलेकाहीँ हामीलाई लाग्छ, म आफू अपूर्ण छु । त्यो पनि सत्य हो । तर, संसारमा अनायक कोही पनि छैन ।

अश्वत्थामा कृति लेख्दै गर्दा तपाईंले परिकल्पना गरेको अवस्था र कृति प्रकाशित भएपछि आएका सुझाव, हौसलालाई कसरी तुलना गर्नुहुन्छ ?

– यो कृति लेख्छु भनेर थालेपछि यसको अध्ययन गर्न झण्डै दश बर्ष लाग्यो मलाई । धार्मिक आस्था र मान्यताप्रति प्रहार भयो भन्ने समाज ठूलो बन्ने छ भन्ने डर थियो । धेरैभन्दा धेरै मैले गाली पनि खान्छु भन्ने लागेको थियो । तर, त्यस्तो केही भएन ।

कृति पढेर प्रतिक्रिया दिनेहरु कसैले पनि पनि कृतिमा यो गलत भयो भनेर भन्नुभएको छैन अहिलेसम्म । एकदम रचनात्मक सुझाव प्राप्त भए । महाभारत पढेर र सुनेर खलपात्र लागेका पात्रहरु एकाएक नायक जस्तो देखिएपछि धेरै पाठकहरुका धारणाहरु परिवर्तन भएको पनि पाएको छु ।

लेखन यात्रामा अबको योजना के छ ?

– अहिले दुईवटा कृतिको लेखनको लागि अध्ययन र तथ्य संकलनमा जुटेको छु । एउटा झापाली राजनीतिको कडी सम्बन्धी पुस्तक छ भने अर्को बाउको मनोविज्ञानमा आधारित उपन्यास लेखनमा जुटेको छु । आउँदो साल ती दुबै पुस्तक तयार गरिसक्ने योजना छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here