उत्तम रिजाल,
झापा ।

गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रले जनअदालत व्युँत्याउने र जनसेना निर्माण गर्ने तयारी गरेको छ ।
पार्टीको किलिको प्रदेशले झापाको शिवसताक्षी नगरपालिकाको पाराबारीमा आयोजना गरेको मजदुर किसान जागरण अभियानलाई सम्बोधन गर्दै महासचिव राजन तिम्सिनाले यस्तो खुलासा गरेका हुन् ।
उनले नेपालमा संविधान मान्ने, संविधान नमान्ने र आधा संविधान मान्ने गरी तीनथरि राजनीतिक शक्तिहरु रहेको भन्दै संविधानको समाजवादी पुनर्लेखन हुनुपर्ने धारणा समेत राखे । उनले संविधान पुनर्लेखन गरे विप्लव, बैद्य र मधेशवादी दलहरुलाई पनि मान्य हुन सक्ने बताए । महासचिव तिम्सिनाले यो संविधानका राम्रा पक्षलाई मान्ने र नराम्रा पक्ष खारेज गरी पुनर्लेखन गर्नुपर्ने माओवादी केन्द्रको माग रहेको बताए । उनले संसदीय व्यवस्था खारेज गरिनु पर्ने पनि बताए ।
संसदीय व्यवस्था खारेज नगरे आफूहरु त्यसको विरुद्धमा लडिरहने भन्दै उनले वैज्ञानिक समाजवाद स्थापना नभएसम्म जनताको समस्या हल हुन नसक्ने ठोकुवा गरे । महासचिव तिम्सिनाले प्रधानमन्त्री ओलीलाई अब देश लुट्ने छुट नदिने भन्दै ओली वा प्रचण्ड जोसुकै सत्तामा गएपनि विश्वबाट पतन भइसकेको संसदीय व्यवस्थालाई मजबुत बनाउने मात्र काम गर्ने बताए । सत्तामा पुगेपछि जनयुद्धबाट आएका नेताहरुले मजदुर किसान तथा सर्वहारा जनताको पक्षमा काम गर्न नसकेकाले आफूहरुले मजदुर किसान जागरण अभियान शुरु गरेको महासचि तिम्सिनाको धारणा थियो ।
प्रदेश इञ्चार्ज सुरेन्द्र कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विनोद उपाध्याय, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायामाझी, सचिव बिमल निरौला, पोलिटव्युरो सदस्य कञ्चन शर्मा दाहाल लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमसँगै सो पार्टीले झापाबाट मेची–महाकाली मजदुर किसान जागरण अभियान शुरु गरेको जनाएको छ ।


























