झापा ।

नेपालमा धान उत्पादन बढे पनि चामलको आयात भने नघटेको सरकारी तथ्याङ्कले देखाएको छ । मौसममा अनुकूलताका कारण यो वर्ष धानको उत्पादन बढेको कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । तर, भन्सार विभागको तथ्यांकले चामलको आयात ६१ प्रतिशतले बढेको देखाएको छ ।
चामलको खपत बढाउने कुनै उद्योगधन्दा नथपिए पनि आयात अकाशिँदै जानु र आन्तरिक उत्पादन पनि बढेको तथ्यांक देखिनुलाई कृषि अर्थशास्त्रीले अविश्सनीय भनेका छन् । भन्सार विभागको तथ्यांक अनुसार यस आर्थिक वर्षको पुस मसान्तसम्म ३ लाख ८ हजार मेट्रिक टन चामल आयात भएको छ । गत वर्षको सोही अवधिमा १ लाख ९१ हजार मेट्रिक टन चामल भित्रिएको थियो । यसबाट ६ महिनामा चामलको आयात ६१ प्रतिशतले बढेको देखिन्छ ।
मूल्यका आधारमा गत वर्ष ६ महिनामा १० अर्ब ५३ करोडको चामल आयात भएको थियो । यसपाली सोही अवधिमा १४ अर्ब ९४ करोडको चामल आयात भएको तथ्यांक छ । मूल्यलाई आधार मान्दा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा चामल छैठौं नम्बरमा पर्छ । धानको उत्पादन बढेको तथ्यांक कृषि विकास मन्त्रालयले सार्वजनिक गरिरहँदा चामलको आयात किन बढ्यो त ? कृषि अर्थशास्त्रीहरु एक त नेपालीहरु मसिनो चामलको भातमा आकर्षित भएको बताउँछन् भने अर्कातिर उत्पादन बढेको तथ्यांकप्रति नै विश्वस्त छैनन् ।
कृषि मन्त्रालयले तीन साताअघि धानको उत्पादन करिब ७१ हजार टन बढेको तथ्यांक सार्वजनिक गरेको थियो । जेठ मसान्तमै मनसुन शुरु भएको, शहरी क्षेत्रमा बस्ने श्रमिक महामारीले गाउँ फर्किएकाले बाँझो जमिनमा पनि खेती भएको, गत वर्षभन्दा १४ हजार ५ सय हेक्टर बढी क्षेत्रमा रोपाइँ भएको लगायत कारणले यो वर्ष ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको मन्त्रालयको आँकडा छ । तर, तथ्यांक संकलनको मन्त्रालयको विधि भरपर्दो छैन ।
कति जमीनमा रोपाइँ भयो र कति उत्पादन भयो भन्ने बुझ्न कृषि प्राविधिक गाउँ–गाउँ पुग्दैनन् । कृषि ज्ञान केन्द्रका कर्मचारीले हरेक जिल्लामा सीमित क्षेत्रको खेतमा देखिने बाला हेरेर भदौ र असोजमै उत्पादनको प्रक्षेपणसहितको विवरण पठाउँछन् । त्यसैलाई आधार मानेर मन्त्रालयले उत्पादनको तथ्यांक एकीकृत गर्छ, जुन विधि वैज्ञानिक नभएको मन्त्रालय आफैं स्वीकार गर्छ ।
मन्त्रालयका अधिकारी उत्पादन बढेको तथ्यांकको औचित्य पुष्टि गर्न नेपाली धान ठूलो परिमाणमा भारत निर्यात हुने गरेको बताउँछन् । तर, भन्सार विभागको विवरणले भने धान त्यसरी निर्यात भएको देखाउँदैन । आयात अकाशिनुले उत्पादन बढाउनुपर्ने खाँचो औंल्याए पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण, धान मिसन लगायत कार्यक्रम प्रभावकारी हुन सकेका छैनन् ।
झापामा प्रधानमन्त्री कृषि आधुनीकिरणका कार्यक्रम सञ्चालन गरे पनि धान बिक्री गर्ने समयमा कृषकले सहजै धान बिक्री गर्न नसकेको बताउँदै आएका छन् । पूवी नाका काँकरभिट्टा हुँदै झापामा पनि चामलको आयात उच्च रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।































