दिनहुँ हात्तीको उपद्रो

0
993

झापा ।

झापाबासीका लागि हात्तीको उपद्रो कुनै नौलो कुरा होइन । हात्तीको उपद्रोका कारण केही वर्षअघिसम्म पूर्वाेत्तर झापाको साविक बाहुनडाँगी, शान्तिनगर गाविसका मानिस रातभर जागै बस्थे ।

साँझ पर्नासाथ भारतीय भूमिबाट मेची नदी पार गर्दै हुलका हुल आउने जंगली हात्तीले उपद्रो मात्रै होइन जनधनको समेत क्षति पु¥याउँदै आएका थिए । आहाराको खोजीमा आउने हात्तीले पाक्न लागेको वाली, घरमा थन्क्याएको बाली सखाप पर्दै घर भत्काउँदा कतिपय परिवारको त उठिवास नै भएको थियो । तर, बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्मको १८ किलोमिटर भागमा २०६६ सालमा सौर्य विद्युतीय तारको बार लगाएपछि त्यस क्षेत्रमा हात्तीको समस्या क्रमशः हटेर गयो ।

वन मन्त्रालयको ६ करोड रुपैयाँको बजेटबाट राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत विद्युतीय तारबार लगाएको थियो । तर, झापाका जंगलमा बस्ने रैथाने हात्तीका कारण अझै पनि झापावासी पीडित छन् । चारकोशे र चारआलीको जंगलमा बस्ने रैथाने हात्तीले अहिले दिनहुँजसो उपद्रो मच्चाउँदै आएका छन् ।

दक्षिणी क्षेत्रमा रहेको चारकोशे बन क्षेत्रमा सौर्य तारवार गरिए पनि रैथाने हात्तीलाई त्यसले खासै प्रभाव पारेको छैन । जसका कारण जङ्गली हात्तीको उपद्रो झापामा अझै पनि रोकिएको छैन । दिनहुँ जङ्गल आसपासका बस्तीमा निस्किएर हात्तीले भौतिक संरचना भत्काउनुका साथै अन्नबालीमा समेत क्षति पु¥याउन थालेपछि स्थानीयवासी अझै पनि त्रासमा छन् । अहिले दक्षिणी गाउँपालिका बाह्रदशीमा दिनहुँ हात्तीले उपद्रो मच्चाउन थालेको छ ।

हात्तीले दुई दिनको अवधिमा बाह्रदशीमा पाँच वटा घर भत्काएको छ । हात्तीले आइतबार बिहान बाह्रदशी गाउँपालिका–१ निवासी काण्डारु राजवंशी र हेमनारायण राजवंशीको घरमा क्षति पु¥याएको छ । बाँसको टाँटी र टिनले बनाएको काण्डारुको घर र हेमनारायणको भान्सा घर भत्काएको छ । त्यस्तै रामचन्द्र कामतीको खेतमा राखिएको धान खाएर नष्ट गरेको छ ।

शनिवार बिहान दुईवटा हात्तीले मङ्गलु राजवंशी, कर्वली राजवंशी र भूपेन्द्र राजवंशीको घर भत्काएकोमा मंगलु र कर्वलीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उनीहरूको परिवार विस्थापित भएको बाह्रदशी–१ नम्बर वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । उनीहरूलाई सबैको सरसहयोगमा अन्यत्र बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

त्यस्तै हात्तीले भूपेन्द्रको भकारी भत्काउँदा करिब २० मन धान नोक्सानी गरेको छ । आहारको खोजीमा बिहानै आउने गरेका हात्तीले बाह्रदशी १, २ र ३मा लगातार क्षति गर्दै आएको वडाध्यक्ष राजवंशीले बताए । चारकोशे जङ्गलमा हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार जडान गरिए पनि त्यो प्रभावकारी नभएको उनको भनाइ छ ।

विद्युतीय तारबार ठाउँ–ठाउँमा हात्तीले भत्काइसकेको छ’– उनले भने– खोला र खोल्साको मुनिबाट पनि हात्ती जङ्गलबाट निस्किएर बस्तीमा आउँछन्, यसलाई नियन्त्रण गर्न विद्युतीय तारबारलाई व्यवस्थित गर्नुपर्छ ।’ खेतबारीमा आहार सकिएपछि अहिले हात्तीले विपन्नका घरलाई निशाना बनाएकाले समस्या जटिल बन्यो– उनले भने । डिभिजन वन कार्यालय झापाबाट समयमा क्षतिपूर्ति नपाउँदा ती परिवार थप पीडाबाट गुज्रिनु परेको उनको भनाइ छ ।

अटेरी बन्दै हात्ती

आहाराको खोजीमा निस्कने जंगली हात्ती पछिल्लो समय अटेरी बन्दै गएका छन् । शुरुमा आगोसँग हात्ती डराउँथे– वडाध्यक्ष राजवंशीले भने – अहिले पटका पड्काउँदा पनि डराउँदैनन् । गाउँमा हात्ती निस्किए पुल्ठो (मट्टीतेल र सलेदोको सहायताले वालिने एक प्रकारको वत्ती) बालेर हात्ती लखेटिन्थ्यो– स्थानीय बझारु राजवंशीले भने– अहिले केही गरे पनि हात्ती भाग्दैनन् । हात्ती लखेट्नका लागि विशेष प्रकारको साइरनको प्रयोग गरिए पनि हात्ती भाग्न छोडेको स्थानीयको भनाइ छ ।

भारतबाट आउने जङ्गली हात्तीले गर्नसक्ने जनधनको क्षतिबाट स्थानीयवासीलाई जोगाउन झापामा हात्तीको चरिचरन क्षेत्र तोकेर त्यसबाहिर सौर्य विद्युतको तारबार लगाउने कार्य तीव्र पारिए पनि समस्या पूर्ण रुपमा निराकरण हुन सकेको छैन । सरकारले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको कचनकबलदेखि उत्तरी भाग बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो सौर्य विद्युत्तको तारबार लगाउने कार्य अघि बढाएको छ । तर सो काम पूरा हुन सकेको छैन । त्यसमध्ये हालसम्म ४६ किलोमिटर लामो बार निर्माण भइसकेको डिभिजनल वन कार्यालय झापाले जनाएको छ । दक्षिण क्षेत्रको हल्दिबारीस्थित जलथल जङ्गलको वरिपरि २८ किलोमिटर लामो सौर्य विद्युत्को तारबार निर्माण भइसकेको र थप निर्माणकार्य जारी रहेको कार्यालयको तथ्याङ्मा उल्लेख छ ।

भारतको आसामदेखि आउने हात्ती चरनका लागि सीमावर्ती बाहुनडाँगीबाट नेपाल पसेर कोशी टप्पुसम्म ओहोरदोहोर गर्दै आएका छन् । पुख्र्यौली चरिचरन क्षेत्र भएका कारण झापाको जङ्गलमा हात्तीले बासस्थानसमेत बनाउने गरेका छन् । जङ्गलमा खानेकुरा केही नभएपछि आहाराका लागि तिनीहरु गाउँ पसेर अन्नबाली सखाप पार्ने र मानिसलाई समेत आक्रमण गर्छन् ।

झापाको सबैभन्दा ठूलो जङ्गल जलथलमा रहेको चारकोशेमा केही रैथानेसहित १३ वटा हात्ती बस्ने गरेका छन् । त्यो समूहले कहिले यता, कहिले उता घुमेर गाउँमा आतङ्क मच्चाउने गरेको छ । अहिले हात्ती जङ्गलै जङ्गल हिँडेर उत्तर–दक्षिण ओहोरदोहोर गर्न थालेका स्थानीयवासी बताउँछन् । दक्षिणी भेगको कचनकबलदेखि बाह्रदशी, हल्दिबारी, भद्रपुर, बिर्तामोड, अर्जुनधारा र बुद्धशान्ति हुँदै मेचीनगरको बाहुनडाँगीसम्म सौर्य विद्युत्को तारबार लगाउने सरकारी योजना छ । यो तारबारको काम सम्पन्न भएपछि हात्तीले गाउँ नपसी जङ्गलै जङ्गलको बाटो भएर भारतबाट नेपाल पस्ने र जलथलसम्म हिँड्डुल गर्न सक्नेछन् । यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टै नीति बनाएर अघि बढ्न् पर्ने सरोकारवालाहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here