हात्तीको उपद्रो नियन्त्रण गर

१३ माघ २०७७, मंगलवार मा प्रकाशित
  • 431
  •  
  •  
  •  
  •  
  •  
    431
    Shares

जंगली हात्तीको उपद्रोबाट झापाबासी तीन दशकदेखि आतंकित छन् । झापाका बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी, बुधबारे, गरामनी, हल्दिबारी, जलथल, पृथ्वीनगर, बालुबाडी, केचना, राजगढ, पथरीया, घेराबारी, अर्जुनधारा लगायतका क्षेत्रमा हात्तीले दिनहँु स्थानीयबासीले लगाएको अन्न तथा फलफूलबालीमा क्षति पु¥याउने गरेका कारण उनीहरु चिन्तित पनि छन् । वर्षभरि पसिना बगाएर उत्पादन गरेको बालीनाली जंगली हात्तीले एकैरातमा नष्ट गरेका कारण आर्थिक क्षति त व्यहोर्नु परेकै छ, त्यसमाथि कुन् बेला हात्तीले ज्यान लिने हो भन्ने चिन्ताले स्थानीयबासी पीडित छन् । भारतको आसाम राज्यबाट आहारको खोजीमा हिँडेका हात्तीले हैरानी दिन थालेपछि बाहुनडाँगी क्षेत्रमा विद्युतीय तारवार गरिएको थियो । तर, त्यसलाई पनि छल्ने जुक्ति निकालेका कारण हात्तीको आतंक दिनहुँ बढ्दै गएको छ ।

वन मन्त्रालयको छ करोड रुपैयाँको बजेटबाट राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्मको अठार किलोमिटर क्षेत्रमा तारवार लगाइएको छ । तारबारका कारण भारतबाट उक्त क्षेत्र हुँदै हात्तीको प्रवेश रोकिए पनि अन्य दक्षिणी क्षेत्रबाट रातिको समयमा जंगली हात्ती निर्वाध प्रवेश गरिरहेका छन् । यस बाहेक यहाँका जंगलहरुमा रहेका रैथाने हात्तीले रात परेपछि गाउँ पसेर घरहरु भत्काउने र भण्डारण गरिएको अन्न खाएर नष्ट गरिरहेको छ । यस्तै दक्षिणी झापाको चारकोशे वन क्षेत्रमा सौर्य तारवार गरिए पनि हात्तीको उपद्रो रोकिएको छैन । पछिल्लो समय बाह्रदशीमा जंगली हात्तीले दिनहुँ भौतिक क्षति पु¥याउन थालेको छ । यस क्षेत्रमा दुई दिनमा पाँच वटा घर भत्काएको छ भने खेतमा राखेको र ढिकुटीमा थन्क्याएको अन्न खाएर नष्ट गरेको छ । चारकोशे वन क्षेत्रमा गरिएको तारवारले पनि हात्तीलाई रोक्न नसकेका कारण त्यस क्षेत्रका बासिन्दा त्रासमा बस्न बाध्य छन् ।

जंगली हात्तीको आतंकबाट हैरानी व्यहोरिरहेका झापाबासीले पटक–पटक गरेको अनुरोधलाई गम्भीरतापूर्वक लिइएको छैन । जसका कारण हात्तीको आक्रमणबाट प्रत्येक वर्षजसो मानवीय क्षति पनि भइरहेको छ । यद्यपि वन डिभिजन कार्यालयले मृतकका परिवारलाई काजकिरियावापत भन्दै केही रकम दिने गरेको छ भने सरकारले राहत पनि प्रदान गर्दै आएको छ । तर, हात्तीपीडितहरुको माग राहत वा सहयोग होइन हात्ती आतंकको स्थायी समाधान हो । मानव–हात्ती द्वन्द्वको दीर्घकालीन समाधान विद्युतीय तारवार नहुने विज्ञहरुले बताउँदै आएका छन् । जंगली हात्ती भारतबाट आउने भएकाले भारतपट्टि तारवार गरिए हात्ती आतंक रोक्न सकिने मानव–हात्ती द्वन्द्व न्यूनीकरण क्षेत्रमा काम गरेका अमेरिकाको फ्लोरिडा विश्वविद्यालयमा प्राध्यापक ब्रिजेश थापाले बताएका छन् । यसका लागि सरकार–सरकार वार्ता जरुरी हुन्छ, जसका लागि नेपालको कुटनीतिक दक्षता आवश्यक हुन्छ । दुबै सरकारबीचको संवाद र वार्ताले सहमति खोज्न सकिने र हात्तीको उपद्रोलाई रोक्न सकिने निश्चित छ । देशबासीको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व हो । राज्य जनप्रतिनिधिहरुद्वारा सञ्चालित हुन्छ र ती वास्तवमै जनताका सेवक हुन् भने जनताको रक्षाका लागि जिम्मेवार बन्नैपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here