रेड पाण्डा, जिवित अवशेष र बोटल नेक चेञ्ज

१३ माघ २०७७, मंगलवार मा प्रकाशित
  • 741
  •  
  •  
  •  
  •  
  •  
    741
    Shares

दुर्लभ वन्यजन्तुको सूचीमा परेको एउटा हिमाली क्षेत्रमा पाइने जनावर हो हाब्रे अर्थात् रेड पाण्डा । नेपालमा पाइने हिमालयन रेड पाण्डा तथा चीनमा पाइने चाइनिज रेड पाण्डा एकै प्रजातिका रहेको अनुमान लामो समयसम्म कायम रह्यो । भर्खरै मात्र तिनीहरु फरक–फरक प्रजातिका जनावरहरु रहेको पुष्टी भएको छ । जर्नल साइन्स एडभान्सेजमा प्रकाशित अनुसन्धानहरुको निचोडको आधारमा उक्त निष्कर्ष निकालिएको थियो । स्पेसीज अर्थात् प्रजाति टेक्सोनोमिक स्टडीको सबैभन्दा तल्लो टेक्सन वा वर्ग हो । एउटै स्पेसीज वा प्रजातिभित्र फरक–फरक भेराइटीहरु हुन सक्छन् । पहिले–पहिले नेपाली हिमालयन रेड पाण्डा र चाइनिज रेड पाण्डालाई एउटै प्रजातिका फरक–फरक भेराइटिज वा सब स्पेसीजको रुपमा ब्याख्या हुँदै आएको थियो ।

नेपालमा पाइने हिमालयन रेड पाण्डा नेपाल, भुटान, उत्तरी म्यान्मार, उत्तरी भारत, तिब्बत तथा चीनको पश्चिमी युनान प्रान्तमा पाइन्छ । चाइनिज एकाडेमी अफ साइन्सका दशजना र एकजना नेपाली अनुसन्धाकर्ताहरुले यस क्षेत्रका ६५ वटा बिभिन्न रेड पाण्डाको डीएनए परीक्षणबाट उक्त कुराको खुलासा गरेका हुन् । उनीहरुले तिनीहरुका रगत, छाला र रौँ का नमूनाहरुमा अध्ययन गरेका थिए । यस बिधिलाई ‘होल जेनोम स्वीकेन्सिङ’ भनिन्छ । त्यस्तै ४९ वटाको ‘वाइ क्रोमोजोम’ तथा ‘माइटोक्रोन्डियल जेनोम’को तथ्याङ्क लिइएको कुरा नेपाली अनुसन्धानकर्ता अर्जुन थापाले ब्याख्या गरेका छन् । अर्जुन थापाले रेड पाण्डामै बिद्यावारिधी गरेका हुन् ।

साइन्स एड्भान्स जर्नलमा प्रकाशित यो अनुसन्धानमा दुबै प्रजातिलाई चीनको यार्लुङ जाङ्बु (ब्रह्मपुत्र) नदीले भौगोलिक रुपमा छुट्याउने कुरा उल्लेख छ । यो अनुसन्धानभन्दा पहिले चीनको नुजियाङ नदीको पूर्वतिर पाइनेलाई चाइनिज र पश्चिमतर्फ पाइनेलाइ हिमालयन रेड पाण्डा भनिन्थ्यो । यो अनुसन्धानपछि यार्लुङ ज्याङ्बु (ब्रह्मपुत्र) नदी पूर्व म्यानमार, चीनको सिचुवान तथा युन्नानमा पाइने चिनियाँ रेड पाण्डा हुन भने बाँकी स्थानमा पाइने हिमालयन रेड पाण्डा हुन् भनिएको छ । पहिलेको वर्गीकरणमा समेत तिनीहरुको रङ्ग, टाउकोको बनोट, पुच्छरमा पाइने खण्डहरुको बनोट तथा भौगोलिक वितरणलाई आधार मानिएको थियो । तर, तिनीहरुको वंशाणुगत भिन्नतालाई ध्यान दिइएको थिएन । अहिलेको वर्गीकरणमा आनुवंशिक भिन्नतालाई समेत आधार बनाइएको छ । चाइनिज रेड पाण्डाको मुख अलि बढी रातो र हिमालयन रेडपाण्डाको मुख तुलनात्मक रूपमा सेतो हुन्छ । पुच्चरका खण्डहरु चाइनिज प्रजातिमा प्रष्ट, गाढा रातो देखिन्छ भने हिमालयन प्रजातिमा खैरो सेतो खण्डहरु देखिन्छन् ।
भौगोलिक बिभाजनको नदीको दुबैतर्फ पाइने दुवै प्रजातिहरुले अर्को प्रजातिसँग प्रजनन् गर्न सक्ने आधारमा उक्त प्रकारको वर्गीकरण नै अन्तिम या निर्णायक हन सक्छ त भन्ने आधारहरू अझ प्रष्ट नहुने समेत धेरैको प्रश्न रहेको छ । अर्कोतर्फ हिमालयन रेड पाण्डाको आनुवंशिक विविधता निकै कमजोर र कम छ । यसको बिविधता हराउन सक्छ । त्यसकारण यिनिहरुबिचमा हुने ईन ब्रिडिङ रोक्नुपर्छ भनेर अनुसन्धानकर्ताहरुले बताएका छन् । स्तनधारीहरुको ‘एलुरिडे’ समूहमा अब रेड पाण्डामात्र बाँकी रहेका अन्य सबै जनावरहरु अवशेषको रुपमा मात्र पाइने हुनाले यिनिहरुलाई लिभिङ फोसील अर्थात् जिवित अवशेष समेत भनिन्छ । खप्परको बनोटलाई हेर्दा पश्चिमी तिब्बतमा पाइने रेड पाण्डा र चाइनिज रेडपाण्डाबीच धेरै मिल्दाजुल्दा कुराहरु देखिन्छन् । यस मानेमा हिमालयन रेड पाण्डा केही फरक देखिन्छन् । प्रजाति वितरणमा ब्रह्मपुत्र अर्थात् यालुज्याङ्बु नदीलाई नै भौगोलिक वितरणको प्राकृतिक सीमा रेखाको रुपमा मानिएको छ ।

नेपाल ‘हिन्दू कुष हिमालय क्षेत्र’को झण्डै बीच भागमा पर्दछ । यो हिमालय श्रृंखला अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म फैलिएको छ । यसको लम्बाइ झण्डै २५ सय किलोमिटर रहेको छ । नेपालले बीचको आठ सय किलोमिटर लम्बाईलाई प्रतिनिधित्व गर्दछ । यसलाई सेन्ट्रल हिमालय भनिन्छ । नेपाल पूर्वको हिमालय सिक्किम हिमालय, भुटान हिमालयलाई इष्टर्न हिमालय तथा नेपाल पश्चिमको वेष्टर्न हिमालय हो । जैविक बिविधताले सम्पन्न यो क्षेत्रको बीचको नेपालले ट्रान्जिसन रिजनको काम गरेको छ । पूर्व र पश्चिमी हिमालयमा पाइने दुबै प्रकारका प्रजातिहरु, बीचको क्षेत्रमा बिकसित भएका आफ्नै प्रकारका प्रजातिहरु र दुबै तर्फका प्रजातिहरुको प्रजनन्बाट बनेका वर्ण शंकर प्रजातिका जीव तथा वनस्पतिहरु नेपालमा पाइने कुरा अझ रोचक छ । यस प्रकार पनि नेपाल हिमाली जीवजन्तु र वनस्पतिका विविधतामा सम्पन्न बन्न पुगेको हो ।

नेपाली हिमालयन प्रजातिका रेड पाण्डाहरुलाई आइयुसीएनको रेड लिष्टमा तथा साइटिस (कन्भेन्सन अन इन्टरनेशनल ट्रेड इन इन्डेन्जर्ड स्पेसीज अफ वाइल्ड फउना एण्ड फ्लोरा)को अनुसूची एकमा राखिएको छ । त्यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण संरक्षण ऐन सन् १९७३ मा यसलाई घरेलु बिरालोभन्दा केही ठूलो संरक्षित स्तनधारी जनावरको रुपमा मानिएको छ । नेपाल सरकारले सन् २०१९÷२०२३ को पाँच बर्षलाई रेड पाण्डा कन्जर्भेसन एक्सन प्लानको रुपमा मनाइरहेको छ । नेपालमा रेड पाण्डा बिभिन्न २४ जिल्ला तथा सात वटा संरक्षण क्षेत्रहरुमा रहेको बताइएको छ । तर, तिनीहरुको निश्चित संख्या भने गणना हुन सकेको छैन् । नेपालको कूल भू–भागको १४.२३ प्रतिशत क्षत्र रेड पाण्डाको लागि उपयुक्त बासस्थान भएको समेत अनुसन्धानले बताएको छ । कुनै समय रेड पाण्डा एसिया र युरोप (युरेसिया) क्षेत्रमा पाइन्थे । हाल यिनीहरु नेपाल, भारत, म्यानमार, चीन, भुटान गरी पाँच वटा मुलुकमा पाइन्छन् ।

करिब दुई लाख ५० हजार बर्ष पहिले यिनीहरु फरक–फरक प्रजातिको रुपमा बिकास क्रममा आएको अनुसन्धानहरुले बताएको छ । यसको अवशेष युरोपमा पनि भेटिएको छ । परापूर्व समयमा एसिया युरोप तथा अन्य स्थानहरुमा यो फैलिएको थियो । हाल मध्ये एसियाका पाँच मुलुकका उच्च हिमाली क्षेत्रमा यिनीहरु सिमित भएका छन् । यस क्रमलाई ग्लेशियल पेररियोड याने हिमयुगमा देखिएका पर्यावरणीय कुराहरुले ठूलो महत्व बोकेका थिए । त्यो समयदेखि हालसम्म बिकासको क्रममा आउँदा पर्यावरणमा आएका धेरै परिवर्तनहरुसँग अनुकूल हुँदै जाँदा यिनिहरुको शारीरिक बनोट तथा आन्तरिक शरीर संरचनामा पनि धेरै परिवर्तनहरु देखापरे । तिनीहरुका शारीरिक क्रियाकलापमा पनि केही न केही परिवर्तनहरु भएका देखिन्छ । यस बीचमा तिनीहरुमा ‘बोटल नेक चेञ्ज’ भएको देखिन्छ । वातावरणमा हुने परिवर्तनको कारण प्रजातिमा देखिने उतार–चढावलाई बोटलनेक परिवर्तन भनिन्छ । यस परिप्रेक्षमा चाइनिज रेड पाण्डाले दुई पटक र हिमालयन रेड पाण्डाले तीन पटक बोटल नेक उतार चढावको सामना गर्नु परेको छ । रेड पाण्डाको संरक्षणमा स्थानीय, प्रादेशिक तथा संघीय सरकारले दीर्घ र अल्पकालीन रणनीति अनुसार कार्य गर्नुपर्ने मात्र होइन स्थानीय सरोकारवालाहरु समेत सचेत हुनु उत्तिकै जरुरी छ ।

(खरेल निदि–इन्द्रेणी क्याम्पस तथा महेन्द्र–रत्न माध्यमिक बिद्यालय बिर्तामोडका जीव बिज्ञान बिषय शिक्षक हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here