‘भद्रपुर भन्सारलाई बदनाम गराउने खालका गतिविधि तुरुन्त बन्द हुनुपर्छ’

0
491

पार्थ मण्डल/भद्रपुर ।

भद्रपुर भन्सार कार्यालयलाई बदनाम गराउने खालका गतिविधि तुरुन्त बन्द हुनुपर्ने व्यवसायीहरूले जोड दिएका छन् ।

६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मङ्गलवार भद्रपुर भन्सार कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरूले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका कारण भद्रपुर भन्सार कार्यालयलाई पटक पटक विवादको घेरामा ल्याउने काम गरिँदै आएको छ । भन्सारलाई बदनाम गराउने छुट कसैलाई छैन, त्यस्ता गतिविधिहरू तुरुन्त बन्द गराउन उनीहरूले भन्सार प्रशासन पक्षसँग आग्रह गरेका छन् ।

कर्मचारी प्रशासन वा व्यवसायी पक्ष नै किन नहोस् कसैलाई पनि भन्सारलाई बदनाम गराउने छुट र अधिकार नभएको झापा उद्योग बाणिन्य सङ्घका अध्यक्ष नवराज पनेरु (राजु)ले बताए । ‘सुरुमा भन्सारलाई खुकुलो बनाई त्यस्ता गतिविधिलाई प्रशय दिँदै जाँदा भन्सारमा काम गर्न आउने इमानदार व्यवसायीहरू पलायन हुने अवस्था सृजना भएको छ,’ अध्यक्ष पनेरुले भने, ‘यस्ता घटनाले गर्दा अहिले भन्सार कर्मचारी, सुरक्षाकर्मी र उद्योगी–व्यवसायीहरू बदनाम हुँदैछ, भन्सारले नै त्यस्ता गतिविधिलाई रोक लगाएमा कोही पनि बदनामको भागिदार हुनु पर्दैन ।’ ‘व्यवयासीहरुले पनि आफ्नो काम, कर्तव्य र अधिकार भुल्नु हुँदैन,’ उनले भने, ‘बढी नाफा कमाउने उद्देश्यले गलत काम गर्ने, भन्सारसँग सेटिङ मिलाउने काम व्यवसायीले पनि छाड्नु पर्छ, त्यस्ता व्यवसायीको पक्षमा झापा उद्योग वाणिज्य सङ्घ उभिँदैन ।’

भद्रपुर भन्सार मूल कार्यालय रहे पनि राज्यले नै यसलाई हेर्न दृष्टिकोण फरक राखेको बताउँदै उनले भने, ‘सीमा नाका बनाइएको मेची पुलको उपयोग चाहे जस्तो आम नागरिक र व्यवसायीले गर्न सकेको छैन, भन्सारले आफ्नो जग्गा प्राप्ति गरी भौतिक संरचना बनाउन सकेको छैन ।’ यसतर्फ पनि सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने उनले जोड दिए ।

त्यस्तै नेपाल उद्योग बाणिन्य सङ्घ प्रदेश नम्बर १ का अध्यक्ष टीकाराज ढकालले व्यवसायीले भन्सारभित्र गर्ने गलत क्रियाकलाप रोक्नु पर्छ । गलत क्रियाकलापकै कारण उद्योगी व्यवसायीहरूलाई सडकमा प्रहरी प्रशासनले दुःख दिने गरेको बताउँदै झापा उद्योग सङ्घका अध्यक्ष समेत रहेका ढकालले भने, ‘यस विषयमा तपाँईहरु आफै गम्भीर बन्नुपर्छ, प्रहरी प्रशासनले सडकमा सामान समात्यो भन्दै हामी कहाँ आउनु हुन्छ, हामीले केही गरेनौँ भनेर भन्नुहुन्छ रु गर्नुहुन्छ गलत क्रियाकलाप अनि हामीले त्यस विषयमा बोल्दा उल्टै कुरा सुन्नु पर्छ ।’

‘त्यही भएर ठग हिसाबमा व्यवसायीहरूले काम गर्नु भएन, सबै सचेत भएर काम गर्नुपर्छ, भन्सार कर्मचारी पनि सचेत भई काम कारबाहीलाई अघि बढाउनु पर्छ,’ उनले भने ।’ ‘भन्सार कार्यालयहरूको काम कारबाहीमा एकरूपता छैन, त्यसले पनि व्यवयासीहरुलाई समस्या भइरहेको छ,’ उनले भने, ‘यस बारेमा भन्सार विभागले आवश्यक कदम चालेर एकरूपता बनाउनुपर्छ ।’ जिल्लामा दुई वटा मुख्य नाका छन् । काँकडभिट्टा र भद्रपुर । तर, काँकडभिट्टा नाकाबाट सहजै आवतजावत भइरहेको छ । भद्रपुर नाका बन्द राखिएको छ । यस्तो अन्याय राज्यले किन गरेको हो । यस विषयमा पनि जिल्ला प्रशासन कार्यालय झापाले तत्काल कदम चाल्नु पर्ने उनको भनाई छ ।

भद्रपुर भन्सार कार्यालयका प्रमुख प्रमोद पौडेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भद्रपुर भन्सारभित्रको विकृतिहरू बाहिर आएकोले यस विषयमा आफू गम्भीर रहेको बताए । भन्सार कर्मचारीको इमानदारी र निष्ठा अत्यन्त महत्त्वपूर्ण हुनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भने, ‘भन्सारमा काम गर्न आउने व्यवसायी पनि इमानदारी पूर्वक आफ्नो भूमिका निर्वाह गरी कानुनको पालना गरी दिनुहोला, अनि मात्र सुशासन युक्त मुलुकको कल्पना गर्न सक्छौँ ।’

‘खुल्ला सीमाका कारण अवैध धन्दा रोक्न सुरक्षाकर्मीलाई चुनौती छ, तर त्यस्ता गतिविधि रोक्न झापा प्रशासन लागी परेको छ,’ उनले भने ।’ ‘नाका खुलाउने विषयमा गृह मन्त्रालयसँग कुराकानी भइरहेको बताउँदै उनले भने, ‘फागुनभित्र नाकाहरू सहज रुपमा सञ्चालन हुने जानकारी पाएको छु ।’ कार्यक्रममा भन्सार विभागले भद्रपुर भन्सारमा कार्यरत कम्प्युटर अपरेटर जगदीश्वर काफ्ले र रविलाल सिंह राजवंशीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको थियो । स्वागत मन्तव्य नायव सुब्बा नानुका पोखरेलले राखेकी कार्यक्रमको सञ्चालन लेखापाल देवी चरण भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here