निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन हुने

0
942

शिवगञ्ज ।

झापाको शिवसताक्षी नगरपालिका–६ ले वडाका युवायुवतीहरुको लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

वडा कार्यपालिकाले खरिदार पदको तयारीका लागि निःशुल्क डेढ महिने कक्षा संचालनको तयारी गरेको हो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाका ५० युवायुवतीका लागि लोकसेवा तयारी कक्षाको कार्यक्रम ल्याइएको हो ।

युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिने वडाअध्यक्ष खुलालले बताए ।

समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् । ‘अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध हुन्छ,’ उनले भने ।

लोकसेवा आयोगमा युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै वडा कार्यपालिकाले वडाका युवायुवतीका लागि खरिदार पदको लोकसेवा तयारी कक्षा सुरु गर्न लागेको वडा कार्यपालिकाले बताएको छ ।

गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन हुने भएपछि यहाँ युवाहरु खुसी भएका छन् । तयारी कक्षामा वडाका ५० जना महिला पुरुष सहभागी गराइनेछ । योग्यता पुगेका वडाका स्थानीयबासिन्दाले वडा कार्यपालिकाको कार्यालयमा सम्पर्क राख्नसमेत वडा अध्यक्षले बताए ।

युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक र अनुकरण योग्य भएको स्थानीयवासीले बताएका छन् । झापामा संभवत पहिलो पटक युवा लक्षीत लोकसेवा तयारी कक्षा ल्याउने शिवसताक्षी नगरको वडा नम्बर ६ पहिलो बनेको हो ।

यहाँका युवायुवती लोक सेवा तयारी कक्षा लिनको लागि काठमाडौँ, बिराटनगर, ईटहरी, धरान, बिर्तामोड लगायतका शहरमा जानु पर्ने झन्झट बाट अब मुक्त भएका छन् । यसका लागि वडाले १ लाखको बजेट स्वीकृत गरेको थियो ।

लोकसेवा तयारी कक्षा सञ्चान गर्नु युवायुवतीका लागि सुनौलो अवसर भएको स्थानीय जानुका राजवंशीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here