सिमसार जोगाऊ

0
799

आज विश्व सिमसार दिवस । प्रकृतिको मृगौला भनिन्छ सिमसारलाई । सिमसारमा जल र जमिनको क्रिया–प्रतिक्रियाबाट जल परिचालन तथा शुद्धीकरणको प्रक्रिया निरन्तर चलिरहने भएकाले यसलाई प्रकृतिको मृगौला भनिएको हो । यसले पानीको स्रोतको संरक्षण गर्छ, गुणस्तर कायम राख्छ, जलवायुलाई नियमित गर्छ, तापमानलाई सन्तुलित राख्दै पहिरो रोकथाम र माटोको पोषण तत्व कायम राख्न महत्वपूर्ण योगदान दिन्छ । जैविक विविधता र कार्बन सञ्चय गर्न सिमसारकै भूमिका रहने हुँदा मानव सभ्यता विकासको आधार पनि यही नै हो ।
सिमसार प्राकृतिक वा मानव निर्मित पानी भएको, पानी बगेर बनेको भास (दलदल), धाप, जरुवा क्षेत्र (जमिनभित्रबाट आफंै निस्किएको पानी), नुनयुक्त वा क्षारयुक्त पानीको भाग हो । यस अर्थमा ताल, तलैया, पोखरी, दह, नदी, झरना, धानखेत, खोला लगायतका क्षेत्र सिमसार हुन् । यसको विशेषता भनेको पानी र जमिन नै मुख्य हो । जीवनको अस्तित्व रक्षाका लागि यिनै दुई स्वतःनिर्मित वस्तु अत्यावश्यक छन् । सिमसारकै कारण विश्वका करिब चालीस प्रतिशत जीव तथा वनस्पतिहरुको अस्तित्व बाँचेको छ । यसैले मानव सभ्यताको प्रारम्भको आधार तयार गरेको थियो । यही आधारमा पनि जल र जमिनलाई प्रकृतिको अनुपम उपहार मान्न सकिन्छ । जसले मानव जातिको रक्षाका लागि अनन्तकालदेखि आजपर्यन्त निरन्तर, निःशुल्क र निस्पृह योगदान दिएको छ ।

नेपाल आफैंमा पर्वतीय र हिमाली मुलुक हो । जल, जंगल, जमिन, जीवजन्तु र वनस्पति हाम्रा अमूल्य र अपार प्राकृतिक सम्पदा हुन् । हाम्रो भूूगोलका हिसाबले हिमाल, पहाड र तराईमा यस्ता सिमसारहरु थुप्रै थिए र छन् पनि । ती मध्ये केही अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । हामीकहाँ पाँच हजार तीन सय अन्ठाउन्न वटा ताल, तीन हजार दुई सय बाउन्न वटा हिम नदी, दुई हजार छत्तीस सय तेईस वटा हिमताल छन् । सिमसारहरु तराईमा एक सय त्रिसठ्ठी वटा र पहाडमा उनासी वटा छन् । हाम्रा यी सिमसार क्षेत्रहरुमा दुई सय तीन प्रजातिका माछा छन् । त्यसमध्येका सोह्र प्रजातिका माछा अन्त कहीँ पाइँदैन । हाम्रा सिमसारहरु भ्रमणशील चराहरुको विश्रामस्थल पनि जहाँ वर्षेनि हजारौंको संख्यामा डुलन्ते चराहरु आउँछन् । जीवनका लागि नभई नहुने पानी जल विद्युत उत्पादन गर्न, घरपालुवा जनावरहरुलाई खुवाउन र कृष कर्मका लागि अनिवार्य छ । त्यसको स्रोत भनेको सिमसार नै हो । त्यसैगरी आर्थिक क्रियाकलाप विकास–निर्माण, पर्यटन, उद्योग, कलकारखाना आदिको क्षेत्रमा पनि पानी अनिवार्य हुने र त्यसको स्रोत सिमसार नै भएकाले यसको संरक्षण गर्नैै पर्छ ।

नेपालका सिमसार क्षेत्रहरु अहिले खतरामा परेका छन् । यसको महत्व जान्दाजान्दै पनि, कानून निर्माण गरिए पनि यसको क्षेत्रफल खुम्चिँदैछ, गुणस्तर घट्दै गइरहेको छ । यसो हुनुका पछि जनसंख्या वृद्धि, बसाइँसराइ, गरिबी, वेरोजगारी, परम्परागत कृषि प्रणाली आदि मुख्य हुन् । यस बाहेक सिमसार क्षेत्रको दोहन, अतिक्रमण, जलवायु परिवर्तन, फोहोर वस्तुको मिसावट, अव्यवस्थित शहरीकरण, सडक लगायतका पूर्वाधारहरुको निर्माण र अज्ञानता पनि सहायक कारण हुन् । झापा लगायतका देशभरका सिमसार क्षेत्रहरुको समुचित संरक्षण र प्रवद्र्धन गर्ने हो भने यो धनसारमा रुपान्तरण हुनसक्छ । पर्यटकीय गन्तव्य बनाएर लाखौं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउन सकिन्छ । यसका लागि दिगो व्यवस्थापन, कानूनी आधार निर्माण तथा कार्यान्वयनमा ध्यान दिनु पर्दछ । यसबाट त्यस्ता क्षेत्रको संरक्षण हुनुका साथै आर्थिक लाभको स्थायी आधार पनि तयार हुन्छ । यसतर्फ तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here