
बिर्तामोड ।
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष पर्शुराम सिटौलाको स्मृतिमा संस्थाले शनिबार शोक श्रदाञ्जलि सभा सम्पन्न गरेको छ । सिटौलाको ५५ वर्षको उमेरमा माघ २१ गते बुधबार निधन भएको थियो ।
संस्थाका सल्लाहकार राजकुमार पोखरेल, लोकबन्धु कन्दङ्वा लगायतले शोक मन्तब्य राख्दै सिटौलाले खानेपानी तथा समाजसेवामा पुर्याएको योगदानको चर्चा गरे ।
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव मेघराज बाँस्तोलाका अनुसार एक मिनेट मौनधारण तथा तस्वीरमा माल्यार्पण गरी स्वर्गीय सिटौलाप्रति श्रदाञ्जलि व्यक्त गरिएको थियो । सिटौलाको निधनले संस्थामा अपुरणीय क्षति पुगेको सबैको भनाइ थियो । अकल्पनीयरुपमा संस्थाका उपाध्यक्ष गुमाउदा सबै भावुक देखिन्थे । संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको श्रदाञ्जलि सभाको सञ्चालन सचिव वाँस्तोलाले गरेका थिए ।
अचानक नाक र मुखबाट अचानक रगत बगेर बेहोस भएका सिटौलालाई उपचारका लागि वीएण्डसी अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । हृदयघातका कारण उनको मृत्यु भएको बताइएको छ ।
बिर्तामोड–३ बिर्ताबजार निवासी सिटौला बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपाध्यक्ष, विराट बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष, अनारमनी पव्लिक क्याम्पसको उपाध्यक्ष, विराट भरत विश्रान्तिको सदस्य , सिटौला सेवा समाजको निवर्तमान अध्यक्ष , नेपाली काँग्रेस झापाका क्षेत्रीय प्रतिनिधी, नारायण गोपाल स्मृति प्रतिष्ठानका सदस्य, आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्रका पूर्व उपाध्यक्ष लगायतका पदमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील रहेका थिए । उनको नेतृत्वमा हालै बिर्ताबजारको दुर्गा मन्दिर नयाँ बनाइएको थियो ।
दिवंगत सिटौलाका श्रीमती पुण्यवति सिटौला, दुई छोरीहरु एलिजा र सलिजा सिटौला र एक छोरा शैलेन्द्र सिटौला रहेका छन् ।































