आज अंग्रेजी महिना फेबु्रअरीको ९ तारिख । आजको दिनलाई विशेषतः सुरक्षित इन्टरनेट दिवसका रुपमा मनाउन थालिएको छ । डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगलाई बढाउन यो दिवस मनाउन थालिएको हो । युरोपेली आयोग तथा युरोपका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरुको सहयोगमा इन्सेक र इनहोम नामक संस्थाहरुले संयुक्त रुपमा संयोजन गर्ने यो दिवस अहिले विश्वका एक सय सत्तरीभन्दा बढी देशमा मनाउने गरिएको छ । इन्टरनेट दिवसले प्रविधिको सकारात्मक प्रयोग सम्बन्धी जानकारी दिन र सुरक्षित अनलाइन समुदाय सिर्जना गर्न आफूले निर्वाह गर्न सक्ने भूमिकाको खोजी गर्न अवसर दिन्छ ।
आजको युगलाई डिजिटलको युग भनिन्छ । अहिले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र विकास भइरहेको छ । यो सँगै प्रविधिको क्रान्तिले थुप्रै नकारात्मक प्रभावहरु पनि जन्माइरहेको छ । यसको प्रभाव र असरबाट हामी जस्ता विकासशील देशहरु बढी प्रभावित भइरहेका छन् । डिजिटल प्रविधिको अनुचित उपयोगले बालबालिका र युवा वर्ग प्रताडित छन् । असुरक्षित र अनुचित प्रयोगका कारण बालबालिका तथा युवायुवती यौन दुव्र्यवहारको शिकार भइरहेका छन् । यौन शोषण बढ्दैछ र उनीहरुको संवेदनामाथि खेलबाड हुँदैछ । जसका कारण उनीहरुको मानसिक स्वास्थ्य पनि प्रभावित भइरहेको छ । बालबालिका तथा युवा वर्गमा पर्न जाने सबैखाले दुव्र्यवहारले उनीहरुका अभिभावक, शिक्षक तथा सिंगो समाजलाई नै असर पारिरहेको छ ।

इन्टरनेट सेवाको सदुपयोगले मानसिक, शारीरिक, बौद्धिक विकासमा सहयोग पु¥याउँछ । त्यही इन्टरनेटको दुरुपयोग भयो भने हतोत्साही गर्छ, आत्मसम्मानमा चोट पु¥याउँछ र आत्महत्या गर्नसम्म बाध्य बनाउँछ । त्यसकारण पनि इन्टरनेटलाई सुरक्षित बनाउन समाजका अगुवा, स्थानीय तह, प्रशासन, प्रहरी, अभिभावकसँगै सरोकारवाला सबै समूह र संगठनहरुले गम्भीर हुनुपर्दछ । यसका लागि विद्यालयीय शिक्षासँगै सामाजिक संस्था, संघीय सरकार, कानून व्यवसायी, सञ्चारमाध्यम लगायत समाज सम्बद्ध सबैको जिम्मेवार अग्रसरता र भूमिका हुनुपर्दछ । सबैको सहकार्य र हातेमालोमा इन्टरनेट सेवा प्रदायक संस्थाहरुले पनि जिम्मेवार बन्नु पर्दछ ।
हामीकहाँ इन्टरनेटको दुरुपयोग रोक्न कानून नै निर्माण गरिएको छ । साइबर अपराध भनिने यसलाई नियन्त्रण गर्न तल्लोतहसम्म इकाइ नै गठन गरिएको छ । तर, यतिले मात्र बढ्दो हिंसा रोक्न सम्भव छैन । शायद त्यहीकारण स्थानीय प्रहरीले स्कूल तथा कलेजहरुमा पुगेर यसखाले प्रशिक्षण प्रदान गर्दै चेतना प्रवाह गर्ने काम गरिरहेका छन् । यस्तो कार्यलाई अभियानका रुपमा लाँदै कानून व्यवसायीहरु तथा स्थानीय सञ्चारमाध्यमहरुसँगको सहकार्यमा साइबर अपराधविरुद्ध कार्यक्रम सञ्चालन गर्नुपर्दछ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिलाई सुरक्षित बनाउन, यौन दुव्र्यवहार र शोषण नियन्त्रण गर्न साक्षरता शिक्षा आजको आवश्यकता हो । यो दिनले सम्बद्ध सबै संस्थाहरुलाई सजग बनाओस् ।




























