तुलसीप्रसाद निरौला,बिर्तामोड।
बिर्तामोड नगरपालिकाले बिर्तामोडको देवी बुधबारे बजारमा वर्षौंदेखि व्यापार, व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई विस्थापित गर्ने गरी उक्त ठाउँ खाली गर्नका लागि सूचना जारी गरेपछि त्यस क्षेत्रका व्यवसायी आन्दोलित बनेका छन् ।

बिर्तामोड नगरपालिकाले २०७७ मंसिर २८ गते सूचना निकालेर अस्थायी रुपमा टहरा निर्माण गरी वर्षौंदेखि व्यापार, व्यवसाय गर्दै आएका देवी बुधबारे बजारका व्यवसायीलाई सो स्थान खाली गर्न भनेपछि त्यस क्षेत्रका व्यवसायीहरुले तीन वुँदे माग राखेर आन्दोलित बनेका हुन् ।
विगत २९ वर्षदेखि अस्थायी टहरा निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएका नगरपालिकाले कुनै विकल्प नदिई हटाउन नमिल्ने भन्दै त्यस क्षेत्रका व्यवसायीहरुले संगठितरुपमा महम्मद अलि आलमको संयोजकत्वमा देवी बुधवारे बजार संघर्ष समिति समेत गठन गरेर आन्दोलन अघि बढाएका हुन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट उद्योग, व्यवसाय थलिएको तथा उद्योगी, व्यवसायीले लगानीका लागि बैंकबाट लिएको ऋणको ब्याज समेत भुक्तान गर्न नसकेको अवस्थामा बिर्तामोड नगरपालिकाले आफूहरु संग छलफल नै नगरी सूचना निकालेर टहरा हटाउन गरेको निर्णयले आफूहरुको रोजीरोटी गुम्ने खतरा वढेको देवी बुधवारे बजार संघर्ष समितिका संयोजक मोहम्मद अली आलमले बताए ।
उक्त स्थान कुन प्रयोजनका लागि खाली गराउन लागिएको हो त्यसको उद्देश्य समेत स्पष्ट नभएको सन्दर्भमा देवी बुधबारे बजारका व्यवसायीहरुलाई अर्को वैकल्पिक व्यवस्था नहुञ्जेलसम्मका लागि साविककै ठाउमा निर्वाधरुपमा व्यापार, व्यवसाय गर्ने वातावरण बनाइदिनुहुन उनले बिर्तामोड नगरपालिकालाई आग्रह गरे ।
एकातिर कोरोनाको महामारीमा बिर्तामोड नगरपालिकाले देवी बुधबारे बजारका व्यवसायीलाई टेवा पुग्ने कार्यक्रम ल्याउनुपर्नेमा बिर्तामोड नगरपालिकाले जारी गरेको सूचनाबाट व्यवसायीहरुलाई कुनै विकल्प नदिई विस्थापित मात्र गर्ने देखिएको, कयौंको रोजीरोटी गुम्ने अवस्था आएकाले आफूहरुलाई विस्थापित गर्नुअघि वैकल्पिक व्यवस्था गरिदिनका लागि बिर्तामोड नगरपालिकासंग उनको माग छ ।
सो स्थानमा एक सय ६४ वटा पसल सञ्चालन हुँदै आएको र त्यहाँ व्यवसाय गर्नेले ऋण खोजेर व्यवसाय गरेकाले उनले आफूहरुको टहर हटाएर व्यवसाय बन्द गर्ने हो भने झन्डै एक हजारजनाको दैनिकी नै संकटमा पर्ने उनले जानकारी दिए ।
सो स्थानमा स्थायी संरचना बनाएर नगरपालिकाले व्यवस्थित गरे आफूहरु राज्यको नियमअनुसार व्यवसाय गर्न तयार रहेको र कर तिर्न समेत तयार रहेको संघर्ष समितिका सदस्य दिपेन्द्र न्यौपानेले बताए ।
आफूहरु नगरपालिकाले गर्ने विकास निर्माणको विरोधमा नरहेको तर आफूहरुलाई न्यायोचित व्यवस्थापन गर्नुपर्ने संघर्ष समितिका सदस्य लक्ष्मी भट्टराईले बताए ।
यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड नगरपालिकाले जारी गरेको सूचनाबाट व्यवसायीहरुलाई कुनै विकल्प नदिई विस्थापित मात्र गर्ने देखिएको, कयौँको रोजीरोटी गुम्ने अवस्था आएको हुँदा उक्त क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरुलाई त्यहाँबाट विस्थापित गर्नुअघि वैकल्पिक व्यवस्था गरिदिनका लागि माग गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र महासचिव पभेषराज भण्डारी प्रशान्तले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
उक्त स्थान कुन प्रयोजनका लागि खाली गराउन लागिएको हो त्यसको उद्देश्य समेत स्पष्ट नभएको सन्दर्भमा व्यवसायीहरुलाई अर्को वैकल्पिक व्यवस्था नहुञ्जेलसम्मका लागि साविककै ठाउँमा निर्वाध रुपमा व्यापार, व्यवसाय गर्ने वातावरण बनाइदिनुहुन समेत संघले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
यसैबीच, नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सो स्थानमा ५ नम्बर वडा कार्यालय र विपन्नवर्गका लागि साना सहरी अस्पताल निर्माण गर्ने नगरपालिकाको योजना रहेको बताएका छन् । उनले बिर्तामोड सहरमा दिनदिनै मानिसको चाप बढ्दै गएकाले बाँकी जग्गामा सवारी साधन पार्किङ स्थल बनाइने जनाए । सो स्थानमा नगरपालिकाको स्वमित्वमा एक बिगाह जग्गा रहेको उनले बताए ।































