स्वास्थ्य सेवासंगै समाज सेवामा उदाए डा.रामबाबु गिरी

0
594

नेपालमा निकै कम मात्र यस्ता मानिस छन् जो ठूला र सफल व्यवसायी, राजनीतिज्ञ अनि समाजसेवी भएर पनि चर्चामा आउन त्यति रुचाउँदैनन् । नामलाई भन्दा पनि कामलाई बढी विश्वास गर्ने ती सफल व्यक्तिमध्ये एक हुन, डा. रामबाबु गिरी । जसले व्यवसायसँगै राजनीति, समाजसेवालाई सक्रियताका साथ अङ्गालेका छन् ।

आफ्नो पेशामा निकै सफल, स्थापित रेडियोलोजिस्ट गिरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पनि हुन् । उनको पहिलो रोजाइ हो राजनीति । उनी राजनीतिबाट नै मुख्यतः उत्पीडित वर्ग अनि उत्पीडित समुदायको सेवा गर्न सकिन्छ भन्ने विश्वास राख्छन् । त्यसैले उनी उत्पीडित समुदायमा राजनीतिक जागरण ल्याउन जनता समाजवादी पार्टीमा आबद्ध भएको बताउँछन् ।

उनले आफ्नो अस्पतालबाट आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग त गर्छन् । तर, त्यो सहयोगले मात्र उत्पीडित वर्ग, समुदायको सेवा हुन सक्दैन, मुख्यतः उनीहरुको चेतना माथि उठाउन, त्यो समुदायको जीवनमा परिवर्तन ल्याउन राजनीतिक जागरणबाट नै मुलतः बढी सकिन्छ भन्ने लागेर उनी राजनीतिमा होमिएका हुन् । उनको जोड छ, ‘जहाँ सामूहिक हितका लागि सामूहिक प्रतिबद्धता जनाउन सकिन्छ । सामूहिक प्रयासमा समाजलाई छिट्टै रुपान्तरण गर्न सकिन्छ ।’

उनी झापा जिल्लाको विर्तामोडमा रहेको बी.एण्ड.सी. अस्पतालको फाउण्डर हुन् । बाबु भगवान गिरी र आमा चन्द्रमाया गिरीको नामले बीएण्डसी अस्पताल स्थापना गरिएको हो । उनकी सहोदर दिदी इन्द्रा गिरी बी.एण्ड.सी. की अध्यक्ष छिन । उनी त्यो अस्पतालको मेनेजिङ डाइरेक्टर छन् । यसको अलावा उनको लगानी इनरुवामा रहेको सप्तकोशी न्युरो अस्पतालमा छ । त्यतिमात्र होइन बर्दिवासमा रहेको न्युरो अस्पतालमा पनि उनी संलग्न छन् । डा. गिरी काठमाडौं क्यान्सर अस्पतालको संस्थापक सदस्य र हाल डाइरेक्टर पनि हुन् । १० वर्षभित्रमा २० वटा अस्पतालमा उनको लगानी छ । नवलपरासीसहित नेपालका दूरदराजका अस्पतालमा पनि लगानी गरेर स्वास्थ्य सेवा मार्फत उनले जनताको सेवा गरिरहेका छन् ।

स्वास्थ्य क्षेत्रमा निरन्तर लागेपछि अधिकांश नेपालीको दयनीय अवस्था देखेर उनलाई स्वास्थ्य बीमामार्फत उपचार गराउने सोंच पलायो । र, उनले स्वास्थ्य बीमाको कार्यक्रमलाई पनि अगाडि बढाए । उनले स्वास्थ्य बीमाको सुरुवात बीएण्डसी अस्पतालबाट गरे ।

गम्भीर तथा जटिल खालका रोग लागेमा उपचारको क्रममा उत्पीडित वर्ग र समुदायका अर्थात् असहाय गरीव नेपालीहरुको घरवास उठ्ने अवस्था छ । स्वास्थ्य बीमा गरे बीमाले उपचार गर्ने भएकाले त्यसले ठूलो राहत मिल्ने उनको विश्वास छ । यद्यपि स्वास्थ्य बीमालाई अझ फराकिलो बनाउँदै आम नेपालीमा राज्यको तहबाट लैजानुपर्ने उनी ठान्दछन् । तर, राज्यले गर्न नसकेको अवस्था निजी क्षेत्रबाट भए पनि आफूहरुले जनतालाई राहत प्रदान गरेको उनको विश्वास छ । डा. गिरीको तीन वर्षमा ७७ जिल्लामा नै बीमा पु-याउने योजना रहेको छ ।

डा. रामबाबु गिरीको व्यवसाय मुलतः उनको व्यक्तिगत जीवन भएको ठान्दछन् । राजनीतिमा लागेर स्वयम्सेवी रुपमा समाजसेवा गर्ने अनि व्यवसायबाट मुलतः आफ्नो, आफ्नो परिवारको जीवनयापन र आर्थिक समृद्धि गर्ने ध्येय रहेको उनी बताउँछन् । हरेक राजनीतिककर्मी कुनै न कुनै व्यवसायसँग जोडिनु पर्ने मान्यता राख्छन उनी । भन्छन्, ‘त्यसो भएमा राजनीति कमाउने पेशा वा धन्दा नभएर जनता र राष्ट्रको पक्षमा स्वयमसेवी रुपमा सामूहिक काम गर्ने क्षेत्र हो भन्ने कुरा स्थापित हुन्छ । गर्नु पनि त्यही पर्छ । यसो भनेर व्यवसायमार्फत् समाजसेवा हुँदै हुँदैन भन्ने होइन, हामीहरुले कमाएको एक अंश असहाय गरीवको पक्षमा योगदान गरेकै छौं ।’

डा. गिरी मेनेजिङ डाइरेक्टर रहेको बीएण्डसी अस्पतालले पाँच वर्षको अन्तरालमा १८ करोड रकम गरीव असहायलाई छुट गराएको छ । यसरी गरीवको सेवा गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्ने गरेको बताउँछन् । उनले अस्पतालबाट मात्र होइन गरीवको सेवा अन्य क्षेत्रमा गएर पनि गरिरहेका छन् । झापाको अनारमनीमा उच्च माध्यमिक विद्यालयमा हरेक वर्ष गरीव तथा जेहन्दार एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । डा. गिरी सीके प्रसाई प्रतिस्ठानका संस्थापक सदस्य पनि हुन् । यस संस्था मार्फत बृद्धहरुलाई सहयोग दिने कार्य गर्दै आएको उनको भनाइ छ ।

समाजसेवा र राजनीतिक चेतना उनलाई पारिवारिक विरासतबाट मिलेको हो । २०१५ सालमा डा. गिरीका बुबा भगवान गिरी गोर्खा परिषदबाट चुनाव लडेका थिए । राजा महेन्द्रले ०१७ सालमा जब कू गरे उनका बुबा भगवान गिरीलाई पनि तत्कालीन सरकारले जेल हालेको थियो ।

२०२२ सालमा उनका बुबाले इलाममा गिरीबन्धु टी स्टेटको स्थापना गरे । इलाममा पोखरी र भगवती (हजुरआमाको नाममा) अहिले एक हजार पाँच सय विद्यार्थीले निशुल्क पढ्ने सुविधा पाइरहेका छन् । उनको संस्थाले धेरै क्षेत्रबाट सेवा गरेको छ तर उनी वाहिर देखिने गरी चर्चामा आउन रुचाउँदैनन् ।

नेपालमा मात्र होइन डा गिरीको व्यवसाय विदेशमा समेत छ । ७२ मुलुक घुमेर अनुभव सङ्गालेका डा. गिरीले किर्गिस्तान, उज्वेकिस्तान, कम्बोडिया र अफ्रिकाका केही मुलुकमा क्यान्सर अस्पतालको विस्तार गर्ने लक्ष्य समेत राखेका छन् । त्यसका निम्ति केही देशमा पूर्वाधार समेत बनाइसकेका छन् ।

एशियाकै पाँच वटा राम्रो प्रविधियुक्त अस्पतालमा बीएण्डसी क्यान्सर अस्पताल पर्छ । क्यान्सरजस्तो घातक रोगको उपचारको लागि खोल्नुको मुख्य कारणमा उनी बाबु–आमा दुवै जनालाई बाल्यकाल अवस्थामा गुमाउनु रहेको बताउँछन् । बाल्यावस्थामा आफ्ना बाबु आमा गुमाउन पर्दाको पीडाले उनलाई गहिरो चोट पु-याएको थियो । त्यसैले गिरीलाई बी.एण्ड.सी. अस्पताल खोल्नलाई उत्प्रेरित ग-यो । यसरी स्वास्थ्य क्षेत्र उनको रुचीको क्षेत्र बनेको छ । स्वास्थ्यका साथै कृषि क्षेत्रमा पनि उनको रुची छ । झापा र इलामको सिमानामा करिव सात बिघा जग्गामा बुद्ध शान्ति इको फार्म स्थापना गरेर झापामा पहिलो पटक ट्राउट माछाको उत्पादन र जडिबुटीको प्रशोधन गरेर सय जनालाई रोजगारी प्रदान गरेका छन् ।

उनले सञ्चालन गरेका व्यवसायमा हालसम्म एक हजार दुई सय मान्छेलाई रोजगारी प्रदान गरेको छ । उनी व्यवसायमा अझ अगाडि बढ्न चाहन्छन् । आउँदा दिनमा १० हजार मान्छेलाई रोजगारी दिने लक्ष्य उनले राखेका छन् ।

उनी जन्मदै उद्योगपति परिवारमा जन्मिए । तर आफैंले भने झापामा पहिलो हिमालय राइस मिल उद्योग खोलेका हुन् । उनी गिरी परिवारको पहिलो डाक्टर हुन् । तर, अहिले भने उनको परिवारमा सात जना डाक्टर भइसकेका छन् ।

उनी यति सफल व्यवसायी भएर पनि किन राजनीतिमा जोडिए भन्ने खुल्दुली धेरैलाई हुन्छ । यसबारे उनको भनाइ छ, ‘उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि राजनीतिमा जोडिएर मात्र सम्भव छ । अरु क्षेत्रबाट व्यक्तिगत सुधार हुनसक्छ तर सही राजनीतिले समग्र पक्षलाई रुपान्तरण गर्नसक्ने शक्ति निर्माण गर्छ ।’

झापा जस्तो कांग्रेस–कम्युनिस्टको गढमा जन्मे/हुर्केका र राजनीतिका लागि बलियो सम्भावना बोकेका युवा भएर पनि मधेसको उत्पीडनको अन्त्यका लागि भन्दै उनी जनता समाजवादी पार्टीमा सक्रिय छन् । जहाँ बढी हेपिएका, दबिएका वर्ग र समुदाय छन् त्यही बढी मेहनत गर्नुपर्ने ठानेर नै मधेस केन्द्रित दलमा आवद्ध भएको डा. रामबाबु गिरी बताउँछन् । समयबद्ध साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here