
केही समयदेखि माधव नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड)ले नेतृत्व गरेको नेकपाकी युवा नेतृ रामकुमारी झाँक्री सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्धमा अभिव्यक्ति दिएर चर्चामा छन् । झाँक्रीले गोरखाको कार्यक्रममा बोलेको भिडियो पनि केही समयदेखि भाइरल भएको थियो । ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु– निर्वाचनको तयारीका लागि सुख–सुविधा, ऐस–आराम छाडेर, शीतल निवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सून्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ –झाँक्रीले गोरखामा भनेकी थिइन् ।
नेतृ झाँक्रीले कसैको आलोचना गर्न पाउने संवैधानिक हकको उपयोग गरेकी हुन् कि त्यो भन्दा पनि बढी केही हो भन्ने सवाल मुख्य हो । नेपालमा कानूनभन्दा माथि कोही छैन, सबै नागरिक आलोचनाको परिधिभित्रै रहेका हुन्छन् । तर, यसो भन्दैमा जस्तासुकै अभिव्यक्ति दिनु पनि संवैधानिक र कानूुनतः हुन्छ ? प्रत्येक व्यक्तिलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ । यस अधिकारमा बिना कुनै हस्तक्षेप आफ्ना मत राख्ने र बिना रोकतोक, कुनै भौगोलिक सीमानाको अधिनमा नरही जुनसुकै सञ्चारमाध्यमद्वारा सूचना तथा विचार प्राप्त गर्ने, खोजी गर्ने र प्रसार गर्ने अधिकार समेत समावेश छ । अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्दा नियन्त्रणहरू कानूनद्वारा स्पष्ट रूपमा व्यवस्था गरिएको र अरूको अधिकार वा प्रतिष्ठाको सम्मानका लागि वा राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था, सार्वजनिक स्वास्थ्य वा नैतिकताको संरक्षणका लागि आवश्यक ठानिएको समयमा मात्र लागू हुनसक्छ भन्ने व्यवस्था गरिएको छ ।
नेपालमा वाक तथा प्रकाशन स्वतन्त्रता वा हकको अवधारणा नेपालमा राणा शासनकालदेखि नै विकसित हुँदै आएको हो । २००७ को जनसंघर्षले ल्याएको परिवर्तनले वाक अर्थात् अभिव्यक्ति गर्न पाउने स्वतन्त्रताका साथै पत्रपत्रिका प्रकाशन गर्न पाउने कानूनी हक नेपाली नागरिकले पाएका हुन् । विश्वका विकसित मुलुकका संविधानले अभिव्यक्ति तथा विचारको स्वतन्त्रता, पत्रपत्रिका तथा छापाखाना सञ्चालनको हक जस्ता मौलिक हक मात्र होइन सूचनाको, हकको व्यवस्था गरेका छन्, तर यो स्वतन्त्रताको संवैधानिक दायरा निकै फराकिलो हुन सकिरहेको छैन । किनभने अभ्यास र प्रयोगमा अनेक घुम्ती र मोडहरुमा अनेकौँ समस्या, अवरोध र नियन्त्रणात्मक कानूनी जटिलताहरू रहने गरेको सबैतिर पाइएको छ । अभिव्यक्ति स्वतन्त्रताको दायरा संवैधानिकरुपमा उदार नै रहे पनि यसको उपयोगका लागि नेपाली नागरिकले अनेकौँ बाधा अवरोधको सामना गरिनै रहनुपरेको छ । नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।
धारा १७ (२) (क)मा प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने’ उल्लेख गर्दै प्रतिबन्धनात्मक वाक्यांशमा त्यस्तो अधिकार भएतापनि त्यस व्यवस्थाले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय एकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्नेे, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली–बेइज्जती, अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन भनी उल्लेख गरिएको छ ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय एकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवम् लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन । रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उठेर पार्टी राजनीतिमा आएकी हुन् । उनले आफूलाई राष्ट्रपति र प्रधानमन्त्रीको चर्को र भद्दा आलोचना गरेर चर्चामा ल्याउन खोजेको स्पष्ट देखिन्छ । झाँक्रीको पक्राउपछि अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार अनुदार भएको टिप्पणी भइरहेको छ । झाँक्रीको पक्राउलाई लिएर सबैजसो राजनीतिक दलले सरकारी रबैया अव्यिक्ति स्वतन्त्रताप्रति कठोर देखिएको भन्दै आलोचना गरेका छन् । झाँक्रीलाई पक्राउ गरेर सरकारले शीर्ष नेताहरूलाई तर्साउन खोजेको आरोप समेत लागेको छ ।
कतिपय कानूनविद्ले झाँक्रीको पक्राउ राज्य आतंक भएको बताएका छन् । राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीले रिहा भएपछि व्यक्तिको आचरणविरुद्ध बोलिरहने दोहो¥याउँदै आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको र प्रतिगमनकारीहरूको झुक्ने प्रक्रिया शुरु भएको प्रतिक्रिया दिइन् । नेतृ झाँक्रीले गोरखामा एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर उनलाई पक्राउ गर्न केही दिन अघिदेखि नै प्रहरीलाई दबाब परेको थियो । लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैन भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनलाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन भनेर सरकारी कदमको विरोध गरिएको छ ।
झाँक्रीको अभिव्यक्तिलाई अर्को कोणबाट पनि हेर्न सकिन्छ । एउटा जनताको प्रतिनिधि राष्ट्रपति जस्तो सम्मानित संस्थाप्रति यति गैरजिम्मेवार बन्न निश्चय नै सभ्यताको परिचायक होइन । कोही कसैप्रति अत्यन्त निम्न स्तरको टिप्पणी गर्नु, मानाहानी गर्नु, अपमान गर्नु, निर्लज्जता प्रकट गर्नु उदीयमान नेतृको छवि बनाउन प्रयत्नरत् भएको बुझिँदैन । उनले यसरी बोलिन् कि उनको व्यक्तिगतरुपमा राष्ट्रपतिसँग धेरै ठूलो दुश्मनी छ । राष्ट्रप्रमुखको बदनामी गर्ने र बदनामीको खरानी घसेर आफू चाहिँ सग्लो, सफा, अग्लो भएको भ्रममा जिउनेलाई त केही भन्न सकिन्न । झाँक्रीले एकल महिलाको समेत भाषिकरुपमा हुर्मत लिने काम गरेकी छन् । राष्ट्रपतिविरुद्ध अपमानजनक अभिव्यक्ति दिएर झाँक्रीको प्रसिद्धिको उचाइ बढेन । आफ्नो राजनीतिक जीवन सिध्याएर राष्ट्रपति माथि अत्यन्तै प्रतिशोध राखेको, बदलाभाव राखेको, चरम इख र इष्र्या भएको प्रतित हुन्छ ।
राजनीतिमा अत्यन्त अस्थायी प्रकृतिको चुरीफुरी काम लाग्दैन, यो त खहरे झैं उर्लिन्छ । सभ्य, शालीन र शान्त प्रकृतिका अभिव्यक्ति कालजयी हुन्छन् । अरुलाई गाली गरेर उचाइ बढ्दैन । २४० वर्षदेखि नेपाली जनताका सम्पूर्ण अधिकार खोसेर तानाशाही व्यवस्था चलाउने राजतन्त्रको विरोध गर्न तत्कालीन राजा वीरेन्द्रलाई चुनावमा लड्न आउन लल्कारेको इतिहासको प्रतिध्वनित गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनौति दिनु तुलनीय हुन सक्दैन । नेपालमा अहिले तानाशाही व्यवस्था छैन । भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् भने यसपछि निश्चय नै अर्को व्यक्ति राष्ट्रपति हुनेछन् । झाँक्रीको अभिव्यक्तिले उनको कद घटाएको छ । आलोचना गर्दा शिष्ट, मर्यादित र सभ्य भाषाको प्रयोग गर्नु राम्रो हो । सामाजिक शिष्टताको गरिमा राख्न सके आफ्नो उचाइ बढ्ने हो, तर गालीगलौजको भाषा प्रयोग गर्दा आफ्नै प्रतिष्ठा गिर्ने हो भन्ने कुरा सार्वजनिक पद र सामाजिक हैसियत प्राप्त गर्न चाहने हरेकले सोच्ने हो ।
























