झापाका किसानले माघमै धान रोपे

0
638

विष्णुप्रसाद पोखरेल,
दमक।

अन्नको भण्डार भनेर चिनिएको झापामा माघ÷फागुनमा नै धान रोप्ने काम शुरु भएको छ । पछिल्लो समयमा किसानले जिल्लामा तीन बालीसम्म धान लगाउन थालेका छन् भने नयाँ प्रविधिको प्रयोग पनि बढ्दो अवस्थामा छ ।

उत्पादन लागत कम गर्ने र तीनपटक सम्म धानवाली लगाउन किसानहरु तत्पर देखिएपछि यसले उत्पादनको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपरजोन कार्यक्रम लागू भएसंगै किसानहरु बोरो धान खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।

चक्लाबन्दी खेती पकेट योजना अन्तर्गत कचनकवल–४ फेर्कागाछीमा रहेको हरित कृषक समूहमार्फत अहिले धान रोपार्इँ भएको हो । राईस प्लान्टर (धान रोप्ने मेसिन) बाट धान रोप्नका लागि त्यसै अनुसारको धानको बीऊ तयार पारेर समूहले धान रोपेको हो । परम्परागत रुपमा बीऊ राखेर र प्लान्टरका लागि बेग्लै बीऊ राखेर बोरो धान लगाइएको समूहका अध्यक्ष कन्हैयालाल गणेशले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइमार्फत १ सय २० हेक्टरभन्दा बढी क्षेत्रमा बोरो धान खेती भएको एकाइ प्रमुख रवीन्द्र सुबेदीले जानकारी दिए । मंसीर महिनामा बीऊ राख्ने र माघ अन्तिम सातासम्म रोप्ने कार्य भएको उनको भनाइ छ ।

बोरो धान खेतीको उद्देश्य सकेसम्म तीन बाली लगाउन भएको पनि सुबेदीले बताए । सुपरजोन क्षेत्रमा सिञ्चाईका लागि सोलार प्रणाली जडान भएको क्षेत्रमा विशेष गरेर बोरो धान रोपाइँ भएको छ । चैते धानभन्दा अघि बीऊ राखेर धान रोपिएको अवस्थामा यसलाई बोरो भनिँदै आएको छ । चैते धान रोप्नका लागि बीऊ राख्ने समय फागुन दोश्रो सातादेखि शुरु हुन्छ ।

झापा जिल्लामा कार्यान्वयनमा आएको धान सुपरजोन क्षेत्रको पूर्वाधार स्थिति, उत्पादन तथा उत्पादकत्व स्थिति, यान्त्रिकीकरण, प्रशोधन तथा बजारीकरणको स्थिति साथै आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको स्थिति र कृषकले अवलम्बन गरको प्रविधिलाई दिगोपना तथा प्रतिस्पर्धाका स्थितिका आधारमा करिब ५ सय हेक्टरभन्दा बढी धानको क्षेत्रफल ढाक्ने गरी धान सुपरजोन ४ वर्षअघि स्थापना भएको थियो ।

कचनकवलसहित केही क्षेत्र समेटेर शुरु भएको धान सुपरजोन अहिले जिल्लाभर ४१ सय हेक्टर क्षेत्रफल विस्तार भएको पनि सुबेदीले बताए । सोसँगै जिल्लामा बोरो खेतीको सम्भावना पनि बढेको उनको भनाइ छ । पुरानो धान सुपरजोन क्षेत्रभित्र बोरो खेती बढी गरेको देखिन्छ– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here