कनकाईमा शिक्षक संगठनले बुझायो ज्ञापनपत्र

0
472

सुरुङ्गा ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिले कनकाई नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनले १३ सूत्रीय पेशागत मागहरु समेटेर ज्ञापनपत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई बुझाएको हो । सोमबार नगर प्रमुख पोखरेललाई निजकै कार्यकक्षमा संगठनका पदाधिकारी तथा प्रतिनिधिको उपस्थितिमा ज्ञापन पत्र बुझाइयो । ज्ञापन पत्रमा बालशिक्षक तथा न्यून वेतनभोगी कर्मचारीहरूका लागि तत्काल अतिरिक्त राहतको व्यवस्था गर्न नेपालको श्रम ऐन तथा कानुनबमोजिमको तलब रु. १३,५००।– आगामी आर्थिक वर्षदेखि देखि लागू गर्न माग गरिएको छ ।

नगरपालिकाभित्रका विद्यालयहरूमा तहगत शिक्षक दरवन्दी परिपूर्ति गर्नुका साथै आवश्यक  थप शिक्षक दरबन्दीको व्यवस्थापन गर्नुपर्ने, नगरपालिकाको शिक्षा विकास समितिलाई यथाशिघ्र पुर्नगठन गरी शिक्षाका गतिविधिलाई गति दिनुपर्ने, स्थानीय तहले शिक्षकहरूको नियुक्ति तथा सरुवा गर्दा शिक्षकका पेशागत संगठनहरूको सुझाव सल्लाहलाई समेत ध्यान दिनुपर्ने, विद्यालयमा खाजा व्यवस्थापनका लागि प्रदत्त रकम अति न्यून भएकोले उचित थप रकमको व्यवस्था गर्नुपर्ने, विद्यालयमा दिइने अनुदान मापदण्ड तयार गरी समान तथा यथोचित रूपमा वितरण गर्नुपर्ने मागपत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, नगरका सबै विद्यालयहरूमा स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने, कनकाई नगरपालिकालाई शिक्षाको केन्द्र (हब) का रूपमा विकास गर्न शिक्षाप्रेमी तथा शिक्षकका पेशागत संगठनहरूलाई सहभागी गराउनुपर्ने, नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विषयगत दरबन्दी मिलान गरी शिक्षक समस्या समाधान
गर्न पहल गर्नुपर्ने, निजी शिक्षकहरू भएका विद्यालयहरूमा शिक्षकहरूको संख्याको आधारमा अनुदानको व्यवस्था गरिनुपर्ने, आधारभूत तह (१–५) लाई यथासमयमा नै स्कुलब्याग सहित पोशाकको व्यवस्था गरी उपलब्ध गराउनुपर्ने, नगरपालिकाको बजेट निर्माण गर्दा नेपाल राष्ट्रिय शिक्षक संगठन समेतलाई सहभागी गराउनुपर्ने, बालशिक्षक तथा विद्यालय कर्मचारीको सञ्चयकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा समावेश गरिएको संगठनका नगर सदस्य संगीता उप्रेतीले जानकारी दिइन् ।

संगठनका नगर अध्यक्ष गोपीकृष्ण भट्टराई, पूर्व अध्यक्ष हरिप्रसाद तिम्सिना, सचिव चन्द्रप्रसाद पोखरेल लगायतले ज्ञापनपत्र नगर प्रमुख पोखरेललाई हस्तान्तरण गरेका थिए । सो अवसरमा अध्यक्ष भट्टराईले आधारभूत तथा माध्यमिक शिक्षा समेत स्थानीय सरकारको मातहत आउने संवैधानिक व्यवस्था भएकाले नेपाल राष्ट्रिय शिक्षक संगठन पेशागत हक, हित र अधिकारका अतिरिक्त गुणस्तरीय तथा वैज्ञानिक शिक्षाकालागि नगरसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पोखरेल, नगर शिक्षा शाखा प्रमुख उपसचिव पीताम्बर गौतम, शिक्षा अधिकृत हरिप्रसाद मिश्र लगायतले संगठनले उठाएका मागहरु नगरको स्रोतसाधनको सीमाभित्र रहेर पुरा गर्दै जाने आश्वासन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here