प्रजातन्त्र दिवसको शुभकामना

७ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

जनताद्वारा, जनताका लागि र जनताको शासन व्यवस्था नै प्रजातन्त्र हो । सात दशक भएको छ नेपालीले यसको अनुभूति गर्न पाएको । जनताले चुनेर पठाएका प्रतिनिधिले शासन सञ्चालन गर्नु प्रजातन्त्रको मूल आधार हो । यस्तो प्रणालीले मात्र जनताको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्छ भन्ने विश्वव्यापी मान्यता रहेको छ । यही मान्यताका लागि जनताले पटक–पटक संघर्ष गरेका छन्, तर जनताले खोजेको प्रजातन्त्रको उपभोग गर्न अझै कतिले जीवनको आहुति दिनुपर्ने हो अनिश्चित नै छ ।

हाम्रा पुर्खाहरुले गरेको त्याग र बलिदानबाट जाग्रत चेतनाले राणा शासनविरुद्ध संघर्ष गर्न प्रेरित ग¥यो । त्यही संगठित चेतनाले निरंकुश तथा जहानीया शासनको अन्त्य भई प्रजातन्त्रको प्रादुर्भाव भएको दिन हो आज । यही दिनलाई राष्ट्रिय पर्वका रुपमा मान्दै आइएकोमा अहिले यो परम्पराको निरन्तरतामा मात्र सीमित हुन पुगेको छ । मानिस जन्मदेखि नै स्वतन्त्र हुन्छ अतएव मानिस कहिल्यै पराधीन हुन मान्दैन । सायद चेतनाले मानिसलाई पराधीनता अस्वीकार गर्न लगाएको हो । त्यसैले मुलुक र जनताको स्वतन्त्रताका लागि हाँसी–हाँसी बलिदान दिन तत्पर हाम्रा वीर शहीदहरुको सम्मान, संस्मरण र योगदानको गायन प्रत्येक नेपालीको कर्तव्य हुनुपर्छ ।

स्वतन्त्रताको उपभोग गर्न संविधानले नै निर्देश गरेको हुन्छ । जनताको मौलिक अधिकारका रुपमा वाक, प्रकाशन, आवागमन, सभा–सम्मेलन जस्ता अधिकारलाई सुरक्षित गरेको छ हाम्रो संविधानले । यस आधारमा आफूलाई लागेको बोल्न, प्रकाशन गर्न, हिँडडुल गर्न नेपाली स्वतन्त्र छन् । तर, यही समय देशमा हुर्किएको राजनीतिक परिवेशले नागरिक अधिकार कुण्ठित हुने डर बढेको छ । निरंकुशता अन्त्य गरी विधिको शासन स्थापित गरिएको भनिरहँदा राज्य सञ्चालक नै निरंकुशताको यात्रामा हिँड्न थालेको टिप्पणी हुन थालेको छ । यसले वीरहरुको बलिदान खेर जाने आशंका मात्रै जन्मिएको छैन, फेरि पनि प्राणको आहुति दिनुपर्ने हो कि प्रश्न खडा भएको छ ।

जनलहर ज्वारभाटाभन्दा पनि शक्तिशाली हुन्छ, जसलाई कुनै हतियारले पनि निस्तेज गर्न सक्दैन । जनताको बोली बन्दुकको गोलीभन्दा पनि बलियो हुन्छ । त्यही कारण जनताले प्रजातन्त्रलाई रोजे, स्वतन्त्र विचरण, अभिव्यक्ति स्वतन्त्रता र फरक विचारको सम्मान लगायतका प्रजातन्त्रको स्तम्भ निर्माण गर्न जीवनको आहुति दिए । तर, आज फेरि जनताको अभिव्यक्ति स्वतन्त्रतालाई विभिन्न नाममा बन्देज लगाउन खोजिँदैछ । जनताका आवाजहरु आक्रोश बनेर मुखरीत हुँदा अनेक नाम दिएर नैसर्गिक अधिकार नै उपयोग गर्नबाट वञ्चित गर्ने असफल प्रयास भइरहेको अनुभूति गरिँदैछ । नेपाली आज ‘हातमुख जोर्नै’का लागि प्रतिदिन पन्ध्र सयभन्दा बढीको संख्यामा पलायन भइरहेका छन् । जनताले खोजेभन्दा पनि बढी उपलब्धि प्राप्त भएको छ राजनीतिक अर्थमा तर यथार्थमा हातमुख जोर्न, भूकम्पले थिल्थिलो भएको मन र ओत नपाएको शिर, खुम्चिँदै गएको भूमि, हराउँदै गरेका सीमा स्तम्भ नेपालीको नियति बनेर उभिनु दुर्भाग्यपूर्ण हुनसक्छ ।

सरकारले उपेक्षा गर्दै लगेको फागुन ७ गतेको प्रजातन्त्र दिवसले नेपाली मनहरुलाई विश्वासको बलियो आधार पनि दिन सकेन भने फेरि अर्को बलिदानका लागि प्रेरित गर्न सक्छ । त्यसैले प्रजातन्त्र दिवसले आमनेपालीमा विश्वासको भरपर्दो पर्खाल उभ्याउनुपर्छ, गरिखान सक्ने वातावरण बनाउनु पर्छ । राष्ट्रियताको बलियो डोरीभित्र मीठो, निश्चिन्तको र पूर्ण प्रजातन्त्रको अनुभूति गर्न सक्ने परिवेश निर्माण गरिनु पर्दछ । अनि मात्र बढ्दै गएको पराधीनताको जालो कमजोर हुन सक्छ र पुर्खाले आर्जन गरेको स्वाधीन, स्वाभिमानयुक्त, स्वतन्त्र र स्वावलम्वी नेपालीको पहिचान जोगाउन सकिन्छ । नेपालीको आगामी यात्रा यसै दिशातर्फ उन्मुख होस् प्रजातन्त्र दिवसको शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here