
गत सन् २०१९ को डिसेम्बर महिनाको अन्तिमतिर कोरोना भाइरस फैलिएको समाचार आयो । संसारभर यसको संक्रमण भइसकेको र यसबाट लाखौंको मृत्यु भइसकेको थियो । यो भाइरसको संक्रमण शरु हुने बेलामा म वैदेशिक रोजगारीमा दुबईमा थिएँ ।
चीनको बुहान सहरबाट फैलिएको यो भाइरसलाई विश्व स्वास्थ संगठनले विश्वव्यापी महामारीको संज्ञा दियो । भाइरसको संक्रमण धेरै फैलिएपछि विश्वभर बन्दाबन्दी ‘लकडाउन’ गरिएको थियो । सबै कामधन्दा छोडेर घरभित्र नै बस्नुपरेको थियो । यो भाइरसले गर्दा रोजगार गुम्यो । आयआर्जन हुने स्रोत नै बन्द भयो । फलस्वरूप, धेरै जना मानसिक तनावसम्म पुगे । कतिले तनाव खप्न नसकेर आत्महत्या गरे । कति त ‘डिप्रेसन’को शिकार समेत भए ।
संस्मरण
मानिसहरुको जीवनशैली नै अस्तव्यस्त भएको थियो । यस्तो समय आउला भनेर कहिल्यै सोचेका थिएनन् । अझै पनि दुक्क भएर हिँड्न सक्ने अवस्था छैन । जताततै डराउने समय आएको छ । आफ्नासँग पनि टाढा बस्नुपर्ने स्थिति छ । यो कोभिड–१९ भाइरसको संक्रमण शुरु भएपछि मान्छेको सोचमै परिवर्तन आएको छ । भौतिक दूरी कायम राख्नुपर्ने छेउछाउ आउन नहुने, अलग–अलग बस्नुपर्ने, नाकमुख छोपेर हिँँड्नुपर्ने कस्तो अनौठो रोग दुनियाँमा फैलियो ।
कोरोना फैलिँदै गर्दा म दुबईमा रोजगारीमा थिएँ । भिसाको म्याद सकिन एक महिना अगाडि काम बन्द भएको थियो । कतिको त रोजगारै गुमेको थियो । कतिको तलबमा कटौती गरिएको थियो । कोरोना भाइरसले गर्दा महिनौंसम्म कोठामा बस्नु परेकोले मलाई बिस्तारै दुबई बस्न मन लाग्न छाडेको थियो । सन् २०१८ मे महिना म दुबई गएको थिएँ । नेपाल फर्किनका लागि धेरै संघर्ष गर्नुपरेको थियो । हवाई उडान बन्द थियो । लकडाउनको समय थियो । एअरपोर्ट खुलेको थिएन । माक्स, ग्लोब्स लगाएर हिँड्नुपर्ने बाध्यता । कुन बेला कस्तो समयमा कोरोनाले भेटाउन सक्छ, डर पालेर बस्नु पथ्र्यो । भिसा पनि सकिन लागेको हुनाले फेरि भिसा थप्न मन लागेन ।
यस्तो नाजुक समयमा परिवारको साथमा बस्न पाए भन्ने लागेको थियो । भिसाको म्याद कोठामै बस्नुपर्ने केही तनाव खेप्नुपरेको थियो । घर कहिले पुगिएला लागेको भन्ने मात्र थियो । दुबई जानुभन्दा आउन समस्या प¥यो । मसँगै काम गर्ने साथीहरू फर्किन नपाएर आत्तिएका पनि थिए । काम रोकिएपछि धेरै दिन कोठामै बसेकोले कोरोना कहरको कारणले मलाई विदेश बस्न मन छोड्यो त्यसपछि फर्किए । अहिले म नेपाल फर्किसकेको छु । दुबई फर्किएको पनि धेरै समय बितिसकेको छ । घुम्ने साथीभाइसँग जमघट गर्ने त्यो समय पनि छैन । अहिले पनि सजगता सतर्कता अपनाउन जरुरी छ । लकडाउन हटे पनि हामी अझ पनि सुरक्षित महशुस गर्न सकिरहेको छैनौं ।


























