
नाम : छत्रमानकेशरी प्रसाई
सी.के. प्रसाई अर्थात् भरतबाबु कहिल्यै मरेनन् पनि । यस पृथ्वीको भ्रमण मिति ः ०७।१९८८ देखि फागुन ०८।२०५० सम्म ।
रजनिश समाधिस्थलमा यस्तै सूचनाको बोर्ड लगाइएको छ अथवा मैले यहाँ रजनिशको समाधिस्थलको सूचनाको नक्कल गरेको छु ।
बालकृष्ण समको मूलढोकामा यस्तो लेखिएको थियो–
‘यो कुनै बास हो मेरो नित्य जीवन मार्गको
कतैतिर म हिँड्नेछु बास पूरा भएपछि ।’
सायद समजीको बास परेपछि यो सूचना छैन, अर्थात् मैले केही दिन अगाडि यो सूचना देखिनँ ।
भरतबाबु आउनु भयो, भरतबाबु जानु भयो । सृष्टिको क्रमदेखि अहिलेसम्म कति मानिस आए, कति गए लेखाजोखा हुन सक्दैन । तर, केही मानिसको सम्झना केही कालसम्म र केहीको त अनन्तसम्म रहिरहन्छ । मलाई लाग्छ –त्याग, निष्ठा, विचार, जीवनयापनको शैलीको आधारमा भरतबाबुले जुन छाप यो समाजलाई छोड्नु भएको छ, त्यो चिरकालसम्म रहिरहनेछ । ०२७ सालको आसपासमा कैले हो यकिन थाहा भएन–बिर्ताबजारमा हाटको दिन एकजना धम्मरधुस मानिस हटियाको खाटमा बसेर निकै गफ हाँकिरहेका थिए । जीऊ–डाल, अनुहारमा नेपालीपन थिएन, तर यति परिस्कृत र शुद्ध नेपाली बोलिरहेका थिए कि म निकै आकर्षित भएँ । गफ हाँकिरहेका ती मानिससँग म नचाहँदा–नचाहँदै पनि आकर्षित भएँछु । मलाई लागेको थियो– उनी लामो समयदेखि यतै बसोबास गरेको भारतीय मूलको मानिस रहेछन् । जसले नेपालको बस्तुस्थिति र राजनीति राम्रोसँग बुझेका रहेछन् । मलाई कसैले उनीसँग परिचय गराइदियो । उनीसँग मेरो भेटघाट मात्र नभएको रहेछ, उनको बारेमा त धेरै पहिलेदेखि मैले सुनी आएको थिएँ । भद्रपुरबाट निस्कने एउटा पत्रिकामा उनका लेखहरु निरन्तर छापिएका हुन्थे । परिचयको क्रममा उनले मेरो नाता–गोता, पिता–पुर्खा, मावली, जन्मस्थल, मेरो अध्ययन सम्पूर्ण आफैं भने । मेरो बारेमा यत्रो जानकारी कसरी प्राप्त भयो ? म आश्चर्यचकित भएँ । उनीसँगको मेरो पहिलो परिचय यही हो ।
समय बित्दै गयो । म भेटघाट गर्दै गएँ, म अझ प्रभावित हुँदै गएँ । म जब उनको अगाडि हुन्थेँ, आफूलाई अनपढ ठान्थेँ । एकदम केटाकेटी छु जस्तो लाग्थ्यो । म अत्यन्त कम बोल्थँें, धेर सुन्थेँ । उनका अभिव्यक्ति मलाई गीत सुने जस्तो लाग्थ्यो । आवाजमा अत्यन्त मिठास थियो । यस्तो मिठास कि कैले अमन नहुने । बडो रोचक तर्कले आफू उनीसँग पराजित भएको अनुभव गर्थेँ । म यो नभनूँ कि उनी एक प्रजातान्त्रिक योद्धा थिए । समाजवादी व्याख्याता थिए, सरल एवम् कुशल वक्ता थिए । र, समाजवादी चिन्तक एवम् दार्शनिक थिए । त्याग र अनुशासनको प्रतिमूर्ति थिए । यो सब भन्नका लागि त म पनि उनीभन्दा बढी वा सो सरह सो विषयमा दक्ष हुनु प¥यो । समुद्रको विषयमा सम्पूर्ण जानकारी बताउन सारा समुद्रमा डुबुल्की लगाएको हुनुपर्छ । मैले समुद्रको परिचय कसरी दिने जब कि मैले कुनै एकदिन, एकछिन समुद्रको किनारमा उभिएर त्यसको लम्बाइ, चौडाइ, गहिराइ भेट्टाएको छैन । उनको कुनै लम्बाइ, चौडाइ, गहिराइको आङ्कलन गर्न सक्दिनँ । म उनको चिन्तनको गहिराइ, ज्ञानको सीमा या बाकपटुताको क्षमता या निष्ठा र अनुशासनको पहाडमा चढेर सीमाबद्ध गर्न सक्दिनँ, तर, अन्धाले हात्ती छामे जस्तो छामेर उनलाई यस पुण्यतिथिमा सम्झने आँट गरेको छु । परिचित भरतबाबु अब आदरार्थी शब्दको पात्र भएका छन् ।
कुलिन, सम्भ्रान्त परिवारमा जन्मेर कहिले कुनै कुराको अभाव नदेखेका भरतबाबुले पारिवारिकरुपमा एकलौटी सम्पत्तिको हक–भोग छाडेर भोलिको नेपालको खाका कोर्नु भयो । उहाँको नेपाल भनेको प्रजातान्त्रिक शासन व्यवस्था भएको नेपाल थियो । कानूनी राज्य व्यवस्था भएको नेपाल थियो । सबै नागरिकको समान अधिकार भएको नेपाल थियो । प्रजातन्त्र उहाँको भाषामा गरीबहरुको उत्थानका लागि थियो र राष्ट्रको दायित्व भनेको जनताको सेवा र गरिबीको उन्मुलन थियो । सबैलाई समान अवसर, समान सहभागिता, समान अधिकारको खाका उहाँले बीपीले प्रतिपादन गर्नुभएको समाजवादको सुन्दर तस्वीर तयार गर्नुभएको थियो । २०१७ साल पश्चात आफ्नो अनुकूलको राजनीतिक परिस्थिति नभएपछि राष्ट्र निर्माणको खाका आफैंसँग राखी घरबार छोडी विदेशिनु एक मात्र विकल्प उहाँसँग रह्यो ।
प्रजातन्त्रको आगमन पश्चात नयाँ नेपालको निर्माणको सुन्दर तस्वीर थियो भने भरतबाबुसँग नै थियो । सरकार कस्तो हुनुपर्छ ?, सरकारका प्राथमिकताका काम के–के हुन् ?, जनप्रतिनिधिहरुको काम, कर्तव्य र आचरण कस्तो हुनुपर्छ ? अर्थनीति कस्तो हुनुपर्छ ? शिक्षा क्षेत्र कस्तो हुनुपर्छ ? उद्योग, व्यापार, परराष्ट्रनीति आदि विषयमा उहाँको स्पष्ट धारणा थियो । उहाँका प्रकाशित लेख तथा पुस्तक अत्यन्त उपदेशात्न्मक, अग्रहपरक, अनन्यात्मक छन् । प्रजातन्त्रमा राजनीतिक दलहरुको भूमिका, सरकारमा प्रतिपक्षको भूमिका, सत्तारुढ पार्टी र विपक्षी पार्टीको विरोध र समर्थनको सीमाङ्कन उहाँले गर्नुभएको थियो । अरु अहिलेका राजनीतिक दलहरुले उहाँको लेखहरु खोजी गरी अध्ययन गरिदिए मुलुकको हालतमा सुधार आउने थियो कि ? सबैलाई बिनयपूर्वक उहाँ आग्रह गर्नुहुन्छ । उहाँको आग्रहमा अनुशासनको पाठ हुन्छ, उत्साह र प्रोत्साहनको प्रसाद हुन्छ । सबैलाई देशका लागि, समाजका लागि केही गर्ने कर्तव्यबोधको खाजा दिनुहुन्छ ।
धेरै दुःख सहन सक्ने व्यक्तिको नाम हो– भरतबाबु । अभाव नै अभावको जिन्दगी उहाँले जीउनु भयो । अरुको जस्ता उहाँका तीव्र आकांक्षा थिएनन् । सयौं बिगाह जमिन, दरवार जस्तो घर, जीप, गाडी, निजी चिडियाखाना, आराम तथा मन बिसाउने अनेकौं साधन, नोकर–चाकर, लाखौंको आयस्रोत आदि छोडेर आफ्ना नितान्त व्यक्तिगत आवश्यकतामा तड्पिएर सारा जीवन गुजार्नु कुनै एक दिनको सनक मात्र थिएन । अभावग्रस्त अवस्थामा पनि उहाँले कार्यकर्तालाई बाटो खर्च दिनुभयो, आश्रय दिनुभयो, आफूसँग राखेर पाल्नु भयो । र, पार्टीको काममा निरन्तर सहयोग पु¥याउनु भयो, कुनै काम बाँकी राख्नु भएन । पञ्चायतका दलालहरु नेपाली कांग्रेस परित्याग गरे सम्पत्ति फिर्ता दिने लोभ बाँड्थे, उनीहरु पञ्चायतमा प्रवेश गरे राम्रा–राम्रा पद दिने लालसा देखाउँथे । यी सबै कुरालाई उहाँ आफ्नो नेपाली कांग्रेसप्रतिको समर्पण र प्रजातन्त्रप्रतिको निष्ठा भत्काउने षड्यन्त्र ठान्नु हुन्थ्यो । उहाँ जवाफ दिनुहुन्थ्यो– ‘आफू बनिएर केही हुँदैन, तपाईहरु राष्ट्र उत्थानको कुरा लिएर आउनुहोस्, जनताको उत्थानको कुरा लिएर आउनुहोस्, मुलुक र मुलुकबासीको भलो हुने कुरा लिएर आउनुहोस्, आइन्दा यस्ता कुरा लिएर नआउनुहोस्’ । निष्ठालाई बिटुल्याउने कुरामा कुनै हालतमा पनि उहाँ प्रभावित हुनु भएन । बरु भोक मञ्जुर गर्नुभयो, दुःख मञ्जुर गर्नुभयो । आफ्नो मात्र होइन सारा परिवारको आकांंक्षामा करेली लगाउनु भयो या यो भनूँ सारा परिवारले उहाँको निष्ठाको पहाड भत्कन नदिन सबै व्यक्तिगत चाहनाहरुलाई नियन्त्रण गर्न अटुट परिश्रम गरिरह्यो । पूर्ण पारिवारिक सहयोग रह्यो, कहिल्यै बिचलन आउन दिएन ।
सीके प्रसाईंका लागि राजनीति भनेको असल मानिसहरुले असल समाज निर्माणका लागि गरिने सुन्दर र सम्मानित सेवामूलक कार्य थियो । उहाँ भन्ने गर्नुहुन्थ्यो कि– ‘सबै कुराको मुहान भनेको नै राजनीति हो । मुहान सफा भए सबै कुरा सफा हुन्छ । राजनीति राम्रो भए समाजका सबै कुरा राम्रा हुन्छन् । प्रजातन्त्रमा सबै वर्गबीच इमान्दारी र नीतिवान्हरुको प्रतिस्पर्धा हुन्छ । सेवाको भावनाको प्रतिस्पर्धा हुन्छ । बेइमानी र खरावीहरु किनारा लाग्दै जान्छन् ।’ उहाँलाई बहुदलीय संसदीय व्यवस्थामा ठूलो भरोसा थियो । बहुदलीय व्यवस्थामा मात्र असल मानिसहरु टिक्न सक्छन्, इमान्दार, नैतिकवान मानिसहरु काम गर्न सक्छन् । सेवामूलक कार्यको वातावरण बन्न सक्छ । राजनीतिज्ञहरु अझ सच्चारित्रवान बन्दै जानेछन् । तर, उहाँको यो विश्वास फगत विश्वास मात्र रहन गयो । बीपी कोइरालाको निधन पश्चात उहाँ राजनीतिमा अभिभावकविहीन बन्न पुग्नुभयो । यद्यपि उहाँ किशुनजीको कार्यशैली, चिन्तन, स्वार्थहीनता माथि बढो प्रभावित हुनुहुन्थ्यो । २०३१ सालतिर उहाँ शिलगढी नर्सिङ्गहोममा बस दुर्घटना पश्चात औषधि उपचार गराइरहनु भएको बेला तत्कालीन पार्टीका महामन्त्री गिरिजाप्रसाद कोइरालाले झापा जिल्लाको पार्टी सभापतिको कार्यभार उहाँलाई दिनुभयो । तर, उहाँले स्वतन्त्र भएर जिल्ला कमिटी निर्माण गर्न नपाएपछि एक प्रकारको समझदारीमा कमी उहाँहरुबीच आइरह्यो । गिरिजाबाबु पञ्चायतबाट फर्केका केही व्यक्तिलाई जिल्ला समितिमा राख्न चाहनुहुन्थ्यो, तर भरतबाबुको यसमा सख्त विरोध थियो । उहाँको तर्क थियो– निष्ठाहीन व्यक्तिलाई पार्टी नेतृत्वमा ल्याउनु हुन्न । उहाँको यो पनि तर्क थियो कि एउटा मानिस एकैचोटी दुईवटा अलग–अलग विचारधारा भएको राजनीतिक दलको सदस्य हुन सक्दैन । यदि यसो भएमा पार्टीको प्रभावकारिता र स्वच्छता समाप्त हुन्छ । पार्टीको आदर्शलाई बचाएर नराख्ने हो भने पार्टीको आकर्षण समाप्त हुन्छ । त्यो पार्टीले केही परिवर्तन ल्याउन सक्दैन । स्वच्छ र शुद्ध मानिसहरु नै पार्टी नेतृत्वमा हावी हुनुपर्छ । यही अडानका कारण नेपाली कांग्रेसको पार्टी संगठनभित्र उहाँ अल्पमतमा पर्दै जानुभयो । पटक–पटक राजीनामा दिने स्थिति आइलाग्यो । उहाँको विरुद्ध अविश्वासको प्रस्ताव र असहयोगको आन्दोलन चली नै रहे । २०४१ सालतिर उहाँले पार्टी जिल्ला सभापति पदबाट राजीनामा दिनुभयो ।
२०३६ सालको जनमत संग्रहको आन्दोलन भरतबाबुको बौद्धिकता प्रदर्शनको सुनौलो अवसर रह्यो । पहिलोपल्ट उहाँले जनता समक्ष आफ्नो विचार राख्ने मौका पाउनुभयो । नाम मात्र सुन्न पाएका मानिसहरुले उहाँलाई देख्न, जान्न पाए । २०३६ सालभरि उहाँ कहिले पैदल, कहिले गोरुगाडीमा झापाभरि घुम्न भयो । गाउँ–गाउँ, हाटबजारमा बहुदलको तर्फबाट उहाँको नेतृत्वमा आमसभाहरु भए । पञ्चहरुले अनेकौं पटक बहुदलवादीतर्फ आक्रमण गरे । सभा बिथोलिए । जुलुस बिथोलिए । गाडी पल्टाई दिएर अनारमनीमा उहाँ र उहाँका साथीहरुमाथि सांघातिक हमला भयो । यी सबै घटनाहरुलाई उहाँले बढो बुद्धिमानीतापूर्वक, संयमतापूर्वक सुल्झाउँदै जानु भयो । बहुदलको प्रचार–प्रसारमा उहाँलाई डा. शंकरप्रसाद उप्रेती, केशवकुमार बुढाथोकी, फत्तेबहादुर बुढाथोकी, पर्शुराम भण्डारी, रामबाबु प्रसाई, डिल्ली सिटौला, रत्नबहादुर थापा, रत्नकुमार कार्की, तुर्सा हेमरम, पूर्णानन्द शर्मा, कृष्ण सिटौला, राजेश खड्का, सुधिर शिवाकोटी, भूपाल सिटौला लगायतको ठूलो सहयोग रहेको थियो । उहाँको बाकपटुता एवम् बौद्धिकताको कारण जिल्लाबाहिर पनि उहाँलाई निम्तो गरिन्थ्यो र प्रत्येक बोलाएको ठाउँमा उहाँ पुग्ने गर्नुहुन्थ्यो । भाषणको क्रममा उहाँ ‘नेताको चरित्र राम्रो भएमा संगठन स्वतः राम्रो हुन्छ’ भन्दै भारतका प्रधानमन्त्री स्व. लालबहादुर शास्त्रीजीको उदाहरण दिनु हुन्थ्यो र भन्नुहुन्थ्यो कि– ‘मृत्यु पश्चात पनि उहाँको गाउँमा सानो घर र बैंकमा १०÷२० रुपैयाँमात्र थियो । सदाचार र सच्चरित्रको नमूना हुनुहुन्थ्यो लालबहादुर शास्त्री ।’ भाषणको क्रममा उहाँ भारतको आन्दोलनमा कसले के–के गरे ?, कुन प्रान्तमा को को मन्त्री छ ? न्यायपालिकामा कुन न्यायाधीशले कुन मुद्दामा के फैसला दियो ? विश्वका कुन मुलुकका शासक के गरिरखेका छन् ? नेपालको पश्चिम भागमा कसको के योगदान छ ? कुन ठाउँमा कुन जातिको प्रभुत्व छ ? कुन ठाउँको प्रभावशाली व्यक्ति को हो ? को कति सदाचारी छ ? कसले कहाँ कसरी छलकपट ग¥यो ? हाम्रा नेताहरु कति आदर्श, वीर, त्यागी सुझबुझपूर्ण छन् ? आदि विषय यसरी प्रसङ्ग मिलाएर राखी दिनुहुन्थ्यो कि स्रोताहरु मन्त्रमुग्ध हुन्थे । उहाँ साह्रै धेरै पत्रपत्रिकाको अध्ययन गर्नुहुन्थ्यो । कुनै कुरा पनि नोटबुकमा टिपेर राख्नु हुन्नथ्यो, एकपटक पढेपछि या सुनेपछि कहिले नबिर्सिने उहाँको गुण थियो ।
राष्ट्रपति र आफ्ना अग्रजहरुप्रति उहाँको अत्यन्त प्रेम एवम् सम्मान थियो । मानौं नेताहरु गुरु हुुनुहुन्छ र उहाँ एक असल चेला । हिँड्दा, डुल्दा, बस्दा, खाँदा कहीँ त्रुटि पो हुन्छ कि भनेर उहाँ एकदमै सजग हुनुहुन्थ्यो । उहाँको बैठककक्षमा महाकाली, कर्णाली, नारायणी आदि अनेकौं नदीका ढुंगा सजाएर राखिएको थियो । बैठकको दराजमा बीपीले दिनु भएको कलम राख्नु भएको थियो । गणेशमानजीले लगाउने गर्नुभएको कालो टोपी उहाँले जतनसँग सजाएर राख्नु भएको थियो । किशुनजीले प्रधानमन्त्री हुँदा प्रयोग गर्नुभएको गम्छा राख्नु भएको थियो । प्रधानमन्त्री हँुँदा किशुनजीले कति सरल र सादगी जीवन बिताउनु भएको थियो भन्ने सम्झनाका लागि उहाँले गम्छा राख्नु भएको हुनुपर्छ । बीपीको नाममा उहाँले एउटा सानो कुटी बनाउनु भएको थियो, र त्यसको नाम राख्नु भएको थियो– ‘सुशील विश्व निकेतन’ । वीपी र सुशीला भाउजूको नाममा उहाँले यो कुटीको नामाङ्कन गर्नुभएको थियो । यस सानो, छरितो, मनमोहक कुटीमा वीपी २०३८÷०३९ सालतिर पूर्वाञ्चल कार्यकर्ता भेटघाटको सिलसिलामा आउँदा केही दिन गुजार्नु भएको थियो । वरिपरि आँप, लिचीका रुखहरुको बीच यो कुटी अत्यन्त सुन्दर सजिएको थियो ।
नेताहरु मात्र होइन, गाउँबाट आएका सानातिना कार्यकर्ताहरुलाई पनि उहाँ सम्मानपूर्ण व्यवहार गर्नुहुन्थ्यो । आएको बेला खाने÷बस्ने व्यवस्थाका साथै जाने बस भाडा समेत दिनुहुन्थ्यो । आफू जस्तो खानुहुन्थ्यो– त्यस्तै खुवाउनु हुन्थ्यो, त्यसरी नै सुताउने गर्नुहुन्थ्यो । सबैभन्दा बढी उहाँकोमा तुर्सा हेमरम रहनुहुन्थ्यो र उहाँको नाम शर्माजी राखिदिनुभएको थियो । कृष्ण मिश्र, अम्बिका रिजाल, दधिराम चुडाल, सुदाम राजवंशी, बुद्धिमान राजवंशी, डिल्ली सेढाई, सूर्यप्रसाद दाहाल, डी.आर. प्रधान, हरि शर्मा, लाल शर्मा आदि मानिसहरु उहाँकोमा भेटिनुहुन्थ्यो । कप्तान हापु गुरुङ, मुगाधन राई, देवान दोर्जेथिङ्ग, मानबहादुर कार्की, विष्णुभक्त पोमू, दमकका भाङ्वारी काजी उहाँको अगाडि जुनसुकै कार्य गर्न पनि तम्तयार रहनुहुन्थ्यो । वृषा सतार उहाँलाई निजी कार्यमा सहयोग पु¥याउन निकट तयार बसिरहेका हुन्थे । ताप्लेजुङका मणि लामा, पाँचथरका प्रेमराज आङ्दम्बे, गणेशप्रसाद रिजाल, इलामका टुङ्गबहादुर बस्नेत, केवी गुरुङ (पशुपतिनगर), शेखर घिमिरे लगायत अन्य व्यक्तिहरु उहाँकोमा विचार बुझ्न तथा निर्देशन लिन निरन्तर आइरहनु हुन्थ्यो । बीपीले पनि मेची अञ्चलका कार्यकर्ताहरु भेट्न जाँदा झापामा ‘सीकेसँग गएर सल्लाह लिनु’ भनेर निर्देशन दिएका कारण पनि कार्यकर्ताहरु भेटघाटमा आइरहन्थे ।
राजनीतिक विचारधारा फरक भए तापनि भवानी घिमिरे, प्रकाशचन्द्र मुखिया, एस.एल. शर्मा, स्वयम्भुलाल श्रेष्ठ, द्रोणाचार्य क्षेत्री, लीला उदासी लगायत कवि, साहित्यकार, लेखकहरु पनि उहाँसँग भेटघाट गर्न आइरहनुहुन्थ्यो । उहाँ रहुञ्जेल उहाँको घरमा भीड लागिरहन्थ्यो । विशेषता के थियो भने सबै मानिसको पूर्ण स्वागत–सत्कार हुन्थ्यो, सबै सन्तुष्ट भएर फिर्दथे । श्रीमती ज्ञानु प्रसाई आगन्तुकहरुको खातिदारीका लागि सदैव लागिरहनु हुुन्थ्यो ।
आफूले पढिसकेका पत्रिका आफूलाई भेट्न आउने साथीहरु मार्फत गाउँमा अन्य साथीहरुलाई पठाई दिने गर्नुहुन्थ्यो । साथीहरुलाई उहाँ पत्र लेख्नु हुन्थ्यो र यसरी लेखिएको पत्र आफूलाई आएको खाम पल्टाएर पुनः प्रयोग गर्नुहुन्थ्यो । ‘कुनै पनि वस्तुको प्रयोग अन्तिम अवस्थासम्म गर्नुपर्छ’ भन्ने उहाँ मान्यता राख्नुहुन्थ्यो । सरसामानहरु सुरक्षा गर्ने, फारुतिनोसँग वस्तुहरु प्रयोग गर्ने, जतनजगेडा गर्ने, बाँडीचुँडी खाने उहाँको जीवन पद्दति नै थियो । सायद गरिबी र अभावले पनि उहाँलाई अभ्यस्त गराएको थियो । नर्थ बङ्गाल विश्वविद्यालयको प्राध्यापन कार्यपछि उहाँको आर्थिक अवस्था झन् बिग्रेको थियो । उहाँको सहाराको एकमात्र स्रोत उहाँकी कान्छी आमा हुनुहुन्थ्यो । बहुदलको आगमन पश्चात उहाँको एकांश सम्पत्ति फिर्ता भएपछि सानातिना अभाव हटे, धेरै ऋणहरुबाट मुक्त पनि हुनुभयो । तर, यो एकदम ढिलो यस मानेमा भइसकेको थियो कि उहाँले समयमा उपचार गराउन पाउनु भएन ।
जसरी देश–विदेशका मानिसका बारेमा उहाँ जानकारी राख्नुहुन्थ्यो, त्यसैगरी देशभित्रका विभिन्न गाउँ, जिल्लाका मानिस चिन्नुहुन्थ्यो । एकपल्ट धेरै पहिले देखेको मानिसलाई उहाँ सजिलै चिन्नुहुन्थ्यो र ‘त्यो ठाउँमा यो काममा रहेको बेला हाम्रो भेट भएको थियो’ –भनेर उहाँ भनिदिनुहुन्थ्यो । यसले गर्दा मानिसहरु उहाँसँग मोहित हुन्थे । नेपाल अधिराज्यकै सबैभन्दा बढी मानिस चिन्ने व्यक्तिमा उहाँ पर्नुहुन्छ । धेरैभन्दा धेरै मानिसको नाम, गाम, उमेर, माइती, मावली र छोराछोरीको नाम पनि उहाँलाई कण्ठ हुन्थ्यो । कसको कोसँग के नाता छ, त्यो पनि उहाँलाई थाहा हुन्थ्यो । त्यसो त बीपी पनि एकपल्ट देखेको मानिसलाई हत्तपत्त बिर्सिनु हुँदैन थियो ।
अत्यन्त व्यस्तताको बाबजुद पनि उहाँ पत्रपत्रिकामा निरन्तर केही न केही लेख लेखिरहन हुुन्थ्यो । कुनै पनि रचना एकपल्ट बसेपछि सिध्याएर नै छाड्नु हुन्थ्यो । कहीँ पनि छाटकाँट, थपघट गर्नु पर्दैनथ्यो । लेख आफैं पूर्ण बन्थ्यो, त्यसैले साफी गर्ने झन्झट पर्दैनथ्यो । कतिबेला, कहाँ, कसरी ? उहाँ लेख्नुहुन्थ्यो, पाठकहरु छक्क पर्दथे । सबै विचारका मानिसहरु उहाँको लेख बडो उत्साहका साथ पढ्दथे । खानपिनमा उहाँ अत्यन्त शौखिन हुनुहुन्थ्यो । माछामासुयुक्त भोजन नै उहाँको प्रिय भोजन थियो । प्याज, हरियो खुर्सानी, खानेतेल मिसाएको मुरई, आलुभाजी, प्याज जस्ता सामान्य खानेकुरा नै उहाँको प्रिय आहार थियो । खानेकुरामा उहाँ मन थाम्न सक्नु हुँदैनथ्यो र डाक्टरले नखानु भनेको वस्तु पनि उहाँ नखाई रहन सक्नु हुन्नथ्यो ।
स्वास्थ्यले भने कहिले भरतबाबुलाई साथ दिएन । जनमत संग्रह अगाडिदेखि नै उहाँ बाथरोगबाट पीडित रहनुभयो । तर, प्रजातन्त्रप्रतिको निष्ठा र उच्च मनोबलका कारण उहाँ जनमत संग्रहमा अन्यन्त बढी सक्रिय रहनुभयो । सबैले उहाँको बिमार निको भएको ठाने, तर उहाँले आफ्नो बिमारी लुकाएर राख्नु भयो । कसैलाई प्रकट गर्नुभएन । जनमत संग्रह पश्चात अधिराज्यभरि पार्टी कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम सञ्चालन भयो । प्रमुख प्रशिक्षकको रुपमा उहाँ रहनुभयो । तर, अर्कोतिर उहाँको बाथरोग बढ्दै गयो । रोगले उहाँलाई जित्दै लग्यो । हिँड्नका लागि बैशाखीको सहारा लिनुप¥यो । उपचारको क्रममा शिलगढी नर्सिङ होममा रहनु भएको बेला बाथरुममा लड्नु भयो र वर्षौं खुट्टा प्लाष्टर गरेर ओछ्यानमा थलिनु भयो । बाथरोग र खुट्टाको हड्डी भाँचिएको कारण उहाँको अधिकांश जीवन काठमाडौं र शिलगढीको नर्सिङहोममा बित्न थाल्यो । काठमाडौंमा रहँदा गणेशमान सिंह प्रत्येक दिन साँझपख भेट्नका लागि आउनुहुन्थ्यो र प्रत्येक शनिवारका दिन अपरान्हतिर प्रधानमन्त्री रहनुभएका कृष्णप्रसाद भट्टराई निजी सवारी प्रयोग गरी सुटुक्क आउनु हुन्थ्यो । महेन्द्रनारायण निधि लगायत पार्टीका धेरै नेताहरु, विपक्षी पार्टीका नेताहरु पनि उहाँलाई भेट्न आउनुहुन्थ्यो । गिरिजाबाबु भने कहिले पनि उहाँलाई भेट्न आउनु भएन । २०४८ सालको आम निर्वाचनमा उहाँ झापा क्षेत्र नं. २ को निर्वाचन क्षेत्रबाट पराजीत हुनु भयो । सायद यो पराजय उहाँको पराजय नभएर नेपाली कांग्रेस पार्टीको भविष्यको पराजय थियो । प्रजातन्त्रको, देशबासीको नै पराजय थियो । आफ्नो जफत भएको सम्पत्तिको एकांश प्राप्त भएपछि आफ्नो स्वास्थ्योपचारका लागि रिर्पोटहरु बेलायत पठाएर बेलायत जाने तयारीमा जुट्नु भयो । तर, बेलायतबाट सकारात्मक रिपोर्टहरु आएन । उहाँ जानु भएन । दिल्लीको नर्सिङहोममा केही महिना जँचाएर उहाँ झापा फिर्नु भयो । जुनबेला पार्टी र देश काठमाडौंको क्षेत्र नं. १ र झापाको क्षेत्र नं. १ को निर्वाचन मग्न थियो । प्रधानमन्त्री हुनु भएका गिरिजाबाबुलाई किशुनजीले काठमाडौंको क्षेत्र नं. १ बाट निर्वाचनमा भाग लिएको मन परिरहेको थिएन । उहाँ किशुनजीबाट सभापति पदमा राजीनामा माग गर्दै महासमितिका सदस्यहरुको हस्ताक्षर संकलन गरिरहनु भएको थियो । यसैबीच किशुनजी चुनावमा पराजीत हुनु भयो ।
किशुनजी चुनावमा पराजित भएकोमा एकातिर भरतबाबुलाई ठूलो पीडा भइराखेको थियो भने अर्कोतिर पार्टीको एकता अल्मलिएकोमा पीर परेको थियो । पार्टीभित्र गणेशमानजी, किशुनजी र गिरिजाबाबु एक भएको उहाँ देख्न चाहनुहुन्थ्यो । उहाँ ओछ्यानबाट नेताहरुलाई फोनमा कुरा गर्न खोज्नु हुन्थ्यो, विशेषगरी गिरिजाबाबुलाई, तर उहाँका सहयोगीहरुले पटक्कै गिरिजाबाबुलाई फोन दिँदैनथे । धेरै प्रयत्नका बाबजुद पनि उहाँले गिरिजाबाबुसँग कुरा गर्न सकिराख्नु भएको थिएन । प्रधानमन्त्री रहनुभएका गिरिजाबाबुसँग कुरा गर्न सजिलो पनि थिएन । काठमाडौंको सडकमा एकातिर गिरिजाबाबु विरोधी जुलुस हिँड्थ्यो भने अर्कोतिर समर्थकहरुको । सो जुलुसहरु आफ्नो छातीमा हिँडेको अनुभूति उहाँलाई हुने गथ्र्याे । आफूले ज्यानभन्दा धेरै माया गरेको पार्टीको यो अवस्था देख्दा मुटुमा भालाले रोपेको पीडा उहाँलाई भएको थियो । पीडा सहन नसकेर उहाँ रुनु हुन्थ्यो, कराउनु हुन्थ्यो । तर, ओछ्यानबाट हलचल गर्न सक्नु हुँन्नथ्यो ।
वि.सं. २०५० साल फागुन ८ गते साँझ ६ः१५ बजे एउटा फोन उहाँले प्राप्त गर्नु भयो । फोन मन्त्री महेश्वरप्रसाद सिंहको थियो । र, उहाँले अब अविश्वासको प्रस्ताव आउने र पार्टी टुक्रने, सबै अन्य एकताको विकल्पहरु सकिएको सूचना दिनु भएको थियो । भरतबाबुले खाली राम…राम… मात्र भन्दै फोन राखिदिनु भएको थियो । त्यसपछि उहाँ बोल्नु भएन । लम्पसार पर्नु भयो, आँखा बन्द रहे । साँझ ६ः२५ बजे उहाँ चिर निद्रामा सदैवका लागि सुत्नु भयो । भरतबाबुका लागि ९ गतेको घाम फेरि कहिल्यै झुल्केन । सबै प्रकारका शारीरिक, मानसिक पीडाहरुबाट उहाँ मुक्त हुनु भयो । उहाँका सारा पीडाहरु उहाँकी धर्मपत्नी श्रीमती ज्ञानु प्रसाईलाई सरिरहेको थियो । भोलिपल्ट प्रधानमन्त्री गिरिजाबाबु लगायत कयौं मन्त्रीहरु, केन्द्रीय सदस्यहरु, अन्य नेतागणहरु, सहयोगीहरु, शुभेच्छुकहरु, हवाइजहाज चार्टर गरेर शोक सन्देशहरु बोकेर, समवेदनाका पोकाहरुका साथ अन्तिम यात्रामा झापा आइपुग्नु भयो ।


























