विनोद पाण्डे,
चारपाने ।

देशकै ठूलो सहकारी संस्थाको रुपमा परिचित झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरु समक्ष कोभिड सहायता कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार सुरुङ्गामा आयोजित कोभिड सहायता कार्यक्रममार्फत कोरोनाबाट निधन हुने ३ जना शेयर सदस्य र १ जना कर्मचारीका परिवारलाई सहायता रकम वितरण गरिएको छ । त्यसैगरी संस्थाका विभिन्न शाखामार्फत सहारामा आवद्ध शेयर सदस्यहरुमध्येबाट कोरोना पोजेटिभ भई आइसोलेसनमा बसेका ९८ जनालाई १४ दिन दिने आइसोलेसन भत्ता वापत जनही ७ हजारका दरले ६ लाख ८६ हजार रुपैया वितरण गरिएको छ । उपचारको लागि अस्पताल भर्ना भएका १८ जना शेयर सदस्यलाई २५ लाख ८५ हजार १ सय ३६ रुपैयाँ प्रदान गरिएको छ ।
लकडाउनको बेला पनि अतिविपन्न लघुवित्तमा आवद्ध सदस्यहरुलाई खाद्यान्न लगायतका अतिआवश्यक बस्तु उपभोग गर्न ७ हजार ८ सय १६ जनालाई २ करोड ६८ लाख २३ हजार रुपैयाँ सापटी उपलब्ध गराएर उदाहरणीय बनेको सहारा साकोसले गत आर्थिक ४५ लाख छुट प्रदान गरेको शुक्रवार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
‘कोभिड महासंकटको वेला सहाराले सदस्य बाहिर रहेका समुदायमा पनि उल्लेखनीय सहयोग उपलब्ध गराएको थियो । जस अनुसार प्रदेश सरकार, स्थानीय निकाय, जिल्ला विपद् व्यवस्थापन समन्वयन समिति संगको सहकार्यमा क्वारेन्टिनमा बसेका विभिन्न जिल्लाका, झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविरमा वसोबास गर्ने परिवार र प्रदेश १का विभिन्न जिल्लामा रहेका विपन्नवर्गका परिवारमा निःशुल्क खाद्यान्न वितरण गरेको थियो । त्यस्तै र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री समेत गरी ५७ लाख ३५ हजार २ सय ५७ रुपैयाँ राहत प्याकेज उपलव्ध गराइएको सहारा साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरीले जानकारी दिए ।
समुदायस्तरबाट स्थापना गरिएको पीसीआर ल्यावका लागि सहयोग उपलव्ध गराउनुका साथै कोरोना कहरका कारण व्यापार व्यवसाय चल्न कठिन भएको अवस्थालाई मध्यनजर गरेर १०.९९ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराइएको कार्यक्रममा जानकारी दिइयो । संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा कनकाई नगरपालिका–३का अध्यक्ष रुद्रप्रसाद चिमरिया, सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया, सुरुङ्गा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष भीम अधिकारी, कनकाई सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष ख्याम ओली लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शुक्र तामाङले गरेका थिए ।































