‘कम्युनिस्ट सरकारले देश धराशायी’

0
658

चन्द्रगढी।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री महेश आचार्यले कम्युनिस्टहरुको सरकारले देशलाई राजनीतिकरुपमा धराशायी बनाएको र आर्थिक रुपमा टाट पल्टाएको बताएका छन् ।

नेपाल निजामति कर्मचारी युनियन संघको आठौं केन्द्रीय बैठक तथा १ नं. प्रदेश स्तरीय अन्तरक्रिया, छलफल कार्यक्रमलाई शुक्रबार झापाको सदरमुकाम चन्द्रगढीमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता आचार्यले देशको अहिलेको दुरावस्था हुनुमा नेकपाको केपी गुट मात्र जिम्मेवार नरहेको बताए ।

हिजो मिडिया काउन्सिल बिधेयक ल्याएर प्रेसको घाँटी निमोठ्न लाग्दा माधव, प्रचण्डले ओलीलाई साथ दिएकै हो, ठूला–ठूला भ्रष्टाचारमा मुख बन्द गरेर बसेकै हुन् भन्दै कांग्रेस केन्द्रीय सदस्य आचार्यले कसले बढी कुम्ल्याउने र पद खाने भन्ने बिषयमा उनीहरुका स्वार्थ नमिल्दा मात्र प्रचण्डले ओलीलाई लिखितरुपमा आरोप लगाएको बताए ।

ओलीले एकैचोटी संविधानमाथि हमला गरेको नभई हिजो लोकतन्त्र र बिधिमाथि श्रृंखलाबद्ध रुपमा हमला हुँदा हामीले बिरोध गरिरहेको अवस्थामा त माधव, प्रचण्डहरुले ओलीलाई नै साथ दिएर अधिनायकवादी कदमलाई सघाएको आरोप लगाउँदै नेता आचार्यले माधव–प्रचण्ड गुटको चुनाव चिन्ह र पार्टी जोगाइदिन कांग्रेसले संयुक्त आन्दोलनमा जानु उचित नहुने धारणा राखे ।
नेकपाका अध्यक्ष तथा प्रधनामन्त्री केपी ओलीले संविधान बिपरीत प्रतिनिधिसभा बिघटन गरेर प्रतिगामी कार्य गरेको बताउँदै नेता आर्चायले ओलीले राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर शासन गर्न खोज्दा माधव, प्रचण्ड मौन बस्नुको परिणाम नै ओलीको अहिलेको कदम भएको बताए ।

मानव अधिकार आयोगलाई संकुचन गर्ने, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने, व्यक्तिगत स्वतन्त्रता र प्राज्ञिक स्वतन्त्रता हरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई समाप्त पार्ने, निजामति प्रशासनलाई गुटको मातहतबाट सञ्चालन गर्ने, अध्यादेशको माध्यमबाट संवैधानिक निकायमा गुटका भक्तलाई नियुक्त गर्ने, अनेक चलखेल गरेर भ्रष्टाचारलाई संस्थागत गर्दा मौन बसेर साथ दिने प्रचण्ड, माधव नेपालहरुलाई के बिश्वासका आधारमा आन्दोलनमा सहभागी गराउने उनले प्रतिप्रश्न गरे । पूर्व अर्थमन्त्री आचार्यले भने– ‘ देशको कार्यकारी प्रधानमन्त्रीले नै विधि नमान्ने, विधि मिच्ने हो भने अरु मानिसलाई कानून मान्ने बाध्यता रहँदैन ।’

नेपलाी काँग्रेस झापाका सभापति उद्वव थापाले ओली सरकारले अध्यादेश ल्याएर ट्रेड युनियन अधिकार खोस्न लागेकोप्रति सचेत रहन राष्ट्रसेवक कर्मचारीहरुलाई आव्हान गरे । संविधानको रक्षा र जनताको सेवा कर्मचारीको पनि कत्तव्य र दायित्वभित्र पर्ने भएकोले स्थायी सरकारको रुपमा रहेको निजामति प्रशासनले गलत कदमलाई साथ दिन नहुने सभापति थापाको भनाइ थियो ।

नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा १ नं. प्रदेश अध्यक्ष दीपेन्द्र खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेल, नेपाल सरकारका सहसचिव डाक्टर भीष्म भुषाल, संघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद अधिकारी, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिना, संघका केन्द्रीय उपाध्यक्ष उत्तम कटुवाल महासचिव सुवास कोइराला लगायतले विधिको शासनबाट मात्र देश र जनताको उन्नति हुनसक्ने बिचार व्यक्त गरे ।

नेपाल निजामति कर्मचारी युनियन संघका झापा जिल्ला अध्यक्ष कवीन्द्रबिक्रम नेम्बाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका प्रदेश १का सचिव गोपाल दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here