झापामा ‘नबोल्ने बा’ स्मृति प्रतिष्ठान

0
770

बिर्तामोड ।

वाक क्षमता नभएका स्वर्गीय लोकनाथ खतिवडालाई मृत्युपर्यन्त पनि सन्ततीहरुले अमर बनाउने कर्मलाई निरन्तरता दिएका छन् । झापाको तत्कालीन शान्तिनगर गाविस–४का लोकनाथले वाक क्षमता नभए पनि कृषि कर्ममा गाउँकै उदाहरणीय ब्यक्तिको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका थिए । वि.संं. १९९२ वैशाख ४ गते जन्मिएका लोकनाथको विं.स. २०७५ साल फागुन २५ गते निधन भएको थियो ।

आवाजविहीन लोकनाथ ‘नबोल्ने बा’ नामले परिचित रहेका छन् । नामभन्दा पनि ‘नबोल्ने बा’ नामले सबैले चिन्ने भएपछि खतिवडा परिवारले बुबाको स्मृतिमा ‘नबोल्ने बा’ स्मृति प्रतिष्ठान गठन गरेको हो ।

आमा रेनुका खतिवडाको ७३औं जन्मोत्सवको अवसरमा प्रतिष्ठान गठन गरिएको अध्यक्ष सुरेश खतिवडाले जानकारी दिए । आमा रेनुका संरक्षक रहेको प्रतिष्ठानमा पाँच लाख रुपैयाँको कोष खडा गरिएको छ । कृषकका लागि ‘नबोल्ने बा’, शिक्षामा ‘नबोल्ने बा’, ज्येष्ठ नागरिक एकल महिला र बालकालिकाका लागि ‘नबोल्ने बा’ र स्वास्थ्यका लागि ‘नबोल्ने बा’ विधामा प्रत्येक वर्ष स्मृति दिवसको अवसरमा कार्यक्रम गरिने बताइएको छ । हाल बुद्धशान्ति गाउँपालिका–५मा कार्यालय रहने गरी स्थापना भएको प्रतिष्ठानले सोही वडामा केन्द्रित रहेर कार्यक्रम गर्ने जनाइएको छ ।

समितिको संरक्षकमा स्वर्गीय खतिवडाकी धर्मपत्नी रेनुका खतिवडा रहेकी छन् । तदर्थ समितिको अध्यक्षमा सुरेश खतिवडा, उपाध्यक्ष सुरज खतिवडा, सचिवमा रोहितकुमार भट्टराई र कोषाध्यक्ष सरिता ढकाल रहेका छन् । समितिको सदस्यहरुमा लक्ष्मी ढुङ्गाना, हेमन्ता क्षितिज (बराल), बुद्धिमता बराल, सुसन घिमिरे, तुलसीप्रसाद सुवेदी, पोषण खतिवडा, दीपा ओली र सुदर्शन खतिवडा रहेका छन् ।
त्यस्तै प्रतिष्ठानको सल्लाहकारहरुमा स्वर्गीय खतिवडाका भाइ साहित्यकार तेजराज खतिवडा (तेराख), दाजु डिल्लीराम खतिवडा, शिरो सान्दाइ खतिवडा, बासुदेव खतिवडा, युद्धभ खतिवडा, डाक्टर अर्जुनकुमार बराल, पुष्पराज घिमिरे, तारा विविध (पौडेल) र नरेन्द्र ढकाल रहेका छन् ।

समिति गठन र शुभारम्भको औपचारिक सभाको सभापतित्व संरक्षक रेनुका खतिवडाले गरेकी थिइन् । कान्छा सुपुत्र सुरज खतिवडाले स्वागत गरेको कार्यक्रममा औषधि व्यवसायी संघ झापा उपाध्यक्ष तथा चेम्बर अफ कमर्श झापाका महासचिब प्रदीप खरेल, नेशनल लाइफ इन्स्योरेन्सका सेन्ट्रल डाइरेक्टर तथा पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणि प्रसाईं, राजनीतिकर्मी सीपी कडरिया, मुनाल टोल बिकास अध्यक्ष लक्ष्मी गौतम र एक्टिभ नाइनका महासचिब भानु खनालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको औचित्यमाथि सुरेश खतिवडाले प्रकाश पारेको कार्यक्रममा समितिको नामावली बाचन सल्लाहकार युद्धभ खतिवडाले गरेका थिए । आमाका केही शब्द उच्चारणसहित उद्घाटन गरिएको कार्यक्रमको सञ्चालन रोहित भट्टराईले गरेका थिए ।

को हुन् ‘नबोल्ने बा’ ?

झापको शान्तिनगरमा विं.स. १९९२ वैशाख ४ गते जन्मिएका लोकनाथ खतिवडाको विस २०७५ साल फागुन २५ गते निधन भएको थियो । जन्मजात बोली नआएका लोकनाथ शान्तिनगरमा ‘नबोल्ने बा’ ले चिनिने गरेका थिए । उनले गरेको तीनतले खेतीलाई आत्मसात गर्दै शान्तिनगरका कृषकहरुले पनि आफ्नो खेतबारीमा आधुनिक खेती गरिरहेका छन् ।

करिब १२ विगाह जग्गामा उनले चिया, सुपारी, बेसार र मरिच एकैठाउँमा फलाएर सफल कृषकको उदाहरण प्रस्तुत गरेका थिए भने तीनतले कृषिको बारेमा शान्तिनगरमा धेरै किसानलाई जानकारी समेत दिएका थिए । बोली नआए पनि इशराको भरमा उनले धेरैलाई कृषि सम्बन्धी ज्ञान दिएका थिए ।

आफू जन्मजात नबोल्ने भए पनि उनले आफ्ना सन्ततिहरुलाई भने उच्च शिक्षा दिएका छन् । उनका एक छोरा शिक्षक, अर्का स्वास्थ्यकर्मी छन् भने कान्छो छोरा इञ्जिनियर हुन् । आफ्नो मृत्युपछि नेत्रदान गर्ने घोषणा गरेर समाजलाई केही न केही योगदान दिनुपर्छ भन्ने सोचाइ राख्ने लोकनाथले सबैलाई सामाजिक काममा उत्प्रेरित गराउने गरेका थिए । बोली नआए पनि उनले नेत्रदान गरेर समाजका लागि महत्वपूर्ण काम गरेको भन्दै अहिले पनि उनको चर्चा हुने गरेको छ ।

उनलाई जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान बिर्तामोडले उत्कृष्ट कृषकको रुपमा मनमोहन टेकबहादुर उत्कृष्ट कृषक पुरस्कारद्वारा सम्मान गरेको थियो । त्यस्तै नेपाल सुपारी खेती विकास संस्थाले पनि उत्प्रेरणाको स्रोत भन्दै उनलाई सम्मान गरेको थियो । खतिवडाका जेठा दाजु स्वर्गीय खेमराज खतिवडालाई सामाजिक सेवाको आदर्शको रुपमा मान्ने लोकनाथको त्यही चरित्रलाई जीवन्त राख्न प्रतिष्ठानको स्थापना गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here