
चालीस दशकको मध्यतिर म माध्यमिक स्तरको विद्यार्थी हँुदा, कम्युनिष्ट पार्टीको गाउँ–गाउँमा संगठन विस्तार भूमिगत रुपमा थियो । पत्रपत्रिका लगायतका सूचना एवम् सञ्चारमाध्यमहरु अत्यन्त न्यून थिए । भएका सूचना एवम् सञ्चारमाध्यमहरुसँगको हाम्रो पहुँच नगण्य मात्र थियो । तथापि हामी, म लगायत केही मेरा साथीहरु जसलाई राजनीति र सामाजिक परिवर्तनकाबारेमा थोरै चासो थियो । हामी देशको राजनीति तथा समाजका बारेमा हाम्रो स्तर अनुुसारका चर्चा गथ्र्यौं । राजनीतिका बारेमा धेरै खुलेर गफ गर्ने त वातावरण पनि थिएन, पञ्चायति व्यवस्था थियो । प्रहरी प्रशासनले सुइँको पाई हाले आफूले भन्दा पनि आफ्ना अभिभावकहरुले बढी सास्ती भोग्नु पर्ने हुन्थ्यो । राजनीति गफ त के हुन्थ्यो र, पञ्चायति व्यवस्थाविरुद्ध कुरा गर्ने, भ्रष्टाचार, नातावाद, कृपावादका सुनेका कुराका बारेमा विरोध गर्ने जस्ता विषय हुन्थे ।
कम्युनिष्ट पार्टीले निकालेका पर्चा, पम्पप्लेट, स–साना पुस्तिका, झापा आन्दोलनका बारेमा लेखिएका पुस्तिका, छिन्ताङ हत्याकाण्ड, पिस्कर, रत्नकुमार बान्तवा हत्याकाण्ड आदि पञ्चायति व्यवस्थाले गरेका हत्याकाण्डका बारेमा प्रकाशित पुस्तिकाहरु, पर्चा आदि लुकेर पढ्ने र छलफल गर्ने गरिन्थ्यो । पहुँच पुगेको बेला राल्फाली समूहका गीतहरु सुन्थ्यौं । एउटा छुट्टै आनन्द आउनुका साथै मनभित्र विद्रोह हुन्थ्यो । देश बर्वाद पार्ने पञ्चायति व्यवस्था मात्र हो । मलाईभित्र सधैँ लाग्थ्यो देशमा गणतन्त्र स्थापना भई यी कम्युनिस्ट पार्टी कुनै दिन सत्तामा पुगेको हेर्न पाए कस्तो हुन्थ्यो होला । एकदिन मैले यही चासो राखे मेरा अग्रज एकजना राजनीतिकर्मीसँग राखेँ, तर त्यही समयमा उहाँले त्यसले कुनै फरक नपर्ने, देशमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार जस्ता कुरा नहट्ने, बरु झन् मौलाउन सक्ने तर्फ इंगित गर्नुभयो ।
तत्कालीन सोभियत रुसको उदाहरण दिँदै त्यहाँ भएका नेताहरुको विलासी जीवनशैली, सामान्य नागरिक र नेताहरु बीच रहेको विभेद आदिको चर्चा गर्नुभयो । मैले तत्काल प्रतिवाद त गरिन, तर मलाई के लाग्यो भने भिन्न विचार भएकोले यसो भनिएको हुनुपर्दछ । मैले चिनेका र सुनेका कम्युनिष्ट पार्टीका सदस्यहरुले कदापि देश र जनताको भलाई छोडेर ब्यक्तिगत लाभमा हाम फाल्न सक्दैनन् । तर, आज सम्झिरहेछु आजभन्दा तीस बर्ष अगाडि उहाँले भनेको सत्य रहेछ र उहाँको त्यतिबेरको सोच साच्चै धेरै अगाडि रहेछ, आज भोलि महशुस गर्दैछु ।
आज सर्वहारा जनताको प्रतिनिधित्व गर्ने नेकपा, हँसिया–हतौडा अंकित झण्डा भएको पार्टीको नेतृत्वको सरकार छ । तर, के देशमा रहेका सर्वहाराहरुको जीवनमा यो तीन वर्षमा केही परिवर्तन आयो या आउने संकेत आयो ? प्रश्न गम्भीर छ । विगतमा सामन्ती र शोषकका रुपमा भौतिक कारवाहीमा परेकाहरु के आज यही समयका लागि मरेका हुन् ? अथवा अझ प्रष्टसँग भन्ने हो भने धर्मप्रसाद ढकाल र बुटन चौधरीहरु यही समयका लागि बाधक थिए ? उनीहरु रहेका भए पनि यो समय आउँदैनथ्यो होला ? उनीहरुको सफाया के का लागि ? त्यस्तै दश वर्षसम्म हतियारसहित मुलुक परिवर्तनका लागि गरिएको जनविद्रोहको नेतृत्व गर्ने दल सत्तारुढ छ । र, सो दलले अघि सारेका धेरै एजेण्डाहरु पूरा भएका छन् । जस्तैः राजतन्त्रको अन्त्य, संविधानसभाबाट संविधान, संघियता मूलत आन्दोलन मार्फत हुनसक्ने परिवर्तनहरु यिनै हुन् । यसका लागि धेरै नेपालीले शहादत्त प्राप्त गरे ।
धेरैको घरबार उजाडियो । तर, त्यो विगतको सशस्त्र जन विद्रोहको मूल उद्देश्य के थियो ? हामीले कति प्राप्त ग¥यौं वा प्राप्त गर्ने अवसरतिर मुलुक गइरहेको छ ? गम्भीर विश्लेषण गर्ने बेला आएको छ । जनताले त दलहरुले आह्वान गरेका बेला पूरा सहयोग गरेर विद्रोहलाई एउटा निष्कर्षमा पु¥याई दिएका छन् । चाहे त्यो सडक विद्रोह होस् वा शान्तिपूर्ण विद्रोह अथवा यसलाई यसरी भनौं कि विगतमा भएको गठजोड सरकारका कारण राजनीतिक स्थिरता भएन, सुशासन कायम हुन सकेन, विकासले गति लिन सकेन भनेर जनताले एउटा दललाई स्पष्ट बहुमत दिए । यो पनि नागरिकको एक प्रकारको शान्तिपूर्ण विद्रोह नै हो ।
अब शान्ति–सुरक्षा, सुशासन, ब्यक्तिगत स्वतन्त्रता, देशको रक्षा, आर्थिक, भौतिक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवासुविधा जस्ता कुराहरुको प्रत्याभूति सरकारले सुनिश्चित गर्ने हो न कि नागरिकले सडक आन्दोलन गर्ने । तर, यतापट्टि सरकार जाँदैछ कि छैन भन्ने सवालमा निष्पक्षरुपले हेर्ने हो भने एउटा नागरिकको रुपमा भन्ने हो भने सरकार यी सबै बिषयमा आजसम्म चटपटाएको देखिँदैन । गहिरा प्रश्नहरु धेरै छन्, न कसैले उत्तर दिन चाहन्छ, न कसैले गम्भीर भएर गहन छलफल गर्छ । हरेक व्यक्ति, संस्था, दलहरु आ–आफ्ना स्वार्थका पछाडि दगुरिरहेको भान हुन्छ । भनिने एउटा र गरिने अर्कै छ राजनीतिमा । देखिने एउटा र भित्री कुरा फरक छ अहिलेको राजनीतिमा, विरोधाभास पूर्ण छ नेपालको राजनीति ।
यसपटक देखापरेको विश्वव्यापी स्वास्थ्य संकटमा पनि हाम्रो देशमा जुन घट्ना परिघट्नाहरु देखापरे यसले समग्र सरकार र राजनीतिप्रति नागरिकको धारणा सकरात्मक रहेन । यत्रो विश्वव्यापी महामारीमा सबैभन्दा बढी प्रताडित हुनेमा गरीब, निमुखा, मजदुर, किसान, तल्लो वर्गका नागरिक देखिए जब कि देशका तीनै तहमा हँसिया–हतौडा अंकित झण्डा भएको कम्युनिष्ट पार्टीको सरकार छ । धेरै नागरिक भोकभोकै परे, तर हामी भोकै छौ भन्ने नागरिकप्रति सरकारले तमासा मात्र देखाएको भनेर कटाक्ष गरिरह्यो । तर, कहिल्यै नागरिक प्रति संवेदनशील भएर सोच्न सकेन वा चाहेन ।
हाम्रो देशमा जनताले लामो समयसम्म राजनीतिक अस्थिरता रहेका कारणले देशको समग्र भौतिक, सामाजिक विकास लगायत सुशासन अगाडि बढ्न नसकेको हो भन्ने निक्र्यौल निकाले र एउटा राजनीतिक दललाई बहुमत दिए । तर, बहुमत प्राप्त दलले देखाएको वा देखाइरहेको तमशा हाम्रो आँखा अगाडि छर्लग छ, यहाँ धेरै ब्याख्या गर्न जरुरी छैन । देशमा सुशासन, भ्रष्टाचार, विकास तथा नागरिकका अरु कैयौं आवश्यकतालाई एकातिर पन्छाएर आफूलाई नेता मान्नेहरु कुन हदसम्म गालीगलौचमा उत्रिएका छन् भन्ने कुरा यहाँ उल्लेख गरिरहन जरुरी छैन । सामान्य समकालीन राजनीतिमा चासो राख्नेहरुलाई प्रष्ट छ । अहिलेको यो अवस्था देख्दा त नेपालको राजनीति केटाकेटीको खेल झैं लाग्छ ।
तीन वर्ष अगाडि दुई तिहाई मत लिएर नेकपाले सरकार निर्माण गर्दा प्रायः सबै जनता हर्षित थिए । अब भने नेपालको राजनीतिमा स्थिरता आउँछ, देशमा सुशासन छाउँछ, देश विकास हुन्छ । तर, तीन वर्ष नपुग्दै विधायिका संसद प्रतनिनिधि सभा भंग गरियो । भंग गर्नुपर्ने कारण संसदभित्रको समस्या थिएन वा राजनीतिक जटिलता थिएन । पार्टीभित्रको झगडा थियो । भर्खरै मात्र मुलुकमा राज्यका अंगहरुले काम गर्न खोज्दै थिए । अब सबै अंगहरु अस्तव्यस्त भएका छन् । अब फेरि पुनः यथास्थानमा आउन निकै समय लाग्नेछ । असमयको निर्वाचनले लोकतन्त्र सुदृढ होइन कमजोर हुन्छ ।
यसरी आजको परिस्थिति देख्दा अब हाम्रो गन्तब्य के हो र कता हो भन्ने सबै नागरिकले गहिरिएर सोच्न जरुरी देखिन्छ । अबको मतदानमा नागरिकहरुले निकै गम्भीर भएर आफ्नो अधिकार प्रयोग गरेमात्र राजनीतिलाई सही दिशामा हिँडाउन सकिन्छ । अब हामी दलको दलको सदस्य होइन, राष्ट्रको सदस्य बनौं, आजको टड्कारो आवश्यकता हो यो ।
(निरौला न्यूटन्स एजुकेशन एकेडेमीका शिक्षक हुन् ।)


























