सदाचारिता–आजको आवश्यकता

१० फाल्गुन २०७७, सोमबार मा प्रकाशित
  • 765
  •  
  •  
  •  
  •  
  •  
    765
    Shares

राजकीय पदमा रहेकाहरुको एक अनौठो स्वभाव हुन्छ । अपवाद बाहेक सबैमा कम–बेस यस्तो स्वभाव देखिएको छ । त्यही स्वभावलाई ‘राजहठ’ भनिएको हुनसक्छ । त्यस्तै हठ बालबालिकासँग पनि हुन्छ, जो सम्भव–असम्भव, ठीक–बेठीक, उचित–अनुचित जान्न सक्दैन, तर जे चाहन्छन् त्यो पाउनैपर्ने, हुनैपर्ने र मान्नै पर्ने जिद्दी कसेर बस्छन् । बाल हठको त उपचार गर्न सकिन्छ किनकि उनीहरु निष्पृह हुन्छन्, अबोध हुन्छन् र बेइमान हुँदैनन् । तर, राजहठको उपचार सम्भव छैन जसले ठूलै संकट निम्त्याउँछ । विधि, पद्दति र प्रक्रिया नै अवरुद्ध पार्दछ । फेरि राजकीय सत्ता सरल, सहज ढंगले प्राप्त गर्न असहज हुने भएकाले त्यसका लागि गरिने गतिविधि, निर्माण गर्ने पूर्वाधार नै सत्य, न्याय र निष्पक्ष ढंगले हुन पाउँदैन । त्यहीकारण पछिल्लो समय राजनीतिको परिभाषा फेरिएको होला र भनिएको होला– राजनीति फोहोरी खेल हो ।

मानिस त्यतिञ्जेलसम्म मानिस बन्दैन जबसम्म उसँग ठीक–बेठीक, सत्य–असत्य, न्याय–अन्यायको भेद अनुभूत गर्ने सामथ्र्य हुँदैन । सामथ्र्य प्राप्त गर्ने प्रयास हरेकले गर्छन्, तर जीवन यात्राका क्रममा धेरै लक्ष्य विमुख हुन्छन् । गन्तव्य अन्तिम बिन्दु साह्रै थोरैले मात्र हात पार्छन् । तिनै मध्येबाट पनि झन् थोरैले प्राप्त उपलब्धीलाई देश र दुनियाँका लागि समर्पण गर्न सक्छन् । नेपाली अहिले ‘रानो’ हराएको मौरी सरह भएका छन् । आशा–भरोसा गरेको रानुले समुदायप्रति, राष्ट्रप्रति र राष्ट्रिय एकतालाई सुदृढ बनाउने कार्यलाई गौण ठानेपछि जनतासँगै देशको सुदूर भविष्य अन्यौलग्रस्त बनेको छ । त्यसले जनताको दिशाहीन यात्रालाई कुहिरोमा परेको काग बनाउने संकेत देखिँदैछ ।

पद, पैसा र शक्ति हुनेले ‘रण–वन’ आफ्नो बनाउन सक्छ । स्वतः प्राप्त भएको यस्तो शक्तिलाई सदुपयोग गर्न सकिएन भने स्वयम्लाई खरानी बनाउँछ– शास्त्रीय प्रमाणले पनि भन्छ । हाम्रो गन्तव्य पनि कुहिरोमा हराएको काग त बन्दै छैन ! देश र जनताका नायक भनिने राजनीतिक दल र तिनका नेताहरुको एकअर्काप्रति हुन थालेका व्यंग्य, गाली–गलौज, कटाक्ष र आरोप–प्रत्यारोपले दुर्घटना निम्त्याउने खतरा देखिएको छ । देश फेरि पनि अनिश्चय तर्फको यात्रामा हिँड्नुपर्ने संकेत देखिनु जनताले अन्यौलग्रस्त वर्तमान भोग्नु हो । यस्तो अवस्थाले शान्ति, सुरक्षा अमनचयनमा खलल पु¥याउन सक्छ, विकास र समृद्धिको चाहना प्रभावित हुनसक्छ । जनताले लामो समयदेखि आशा र अपेक्षा गरेको सुशासन, समृद्धि र शान्तिलाई कसैले पनि अवरोध गर्नु हुँदैन । त्यसका लागि ‘रानो’ हुनुपर्ने नेतृत्व वर्गले अहम्, दम्भ, स्वेच्छाचारिता सँगै हठ त्याग गर्नुपर्छ । सहिष्णु, उदार, शान्त र विवेकी बन्नुपर्छ । अन्यथा भविष्य कस्तो हुन्छ अनुमान गर्नै सकिन्नँ । त्यसैले संयम, धैर्य, सहिष्णु, सदाचार आर्जन गर्न हरेकले प्रयत्न गरौं । दुष्टता, संकीर्णता, घृणा र स्वार्थ होइन वहुजन, हितायको मन्त्रलाई आत्मसात गरौं, यसले मात्र सबैको कल्याण गर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here