मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

११ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

पर्वत, 

जिल्लाको जलजला गाउँपालिका–८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका–२ का ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको छ ।

दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरीले बागलुङ अस्पतालमा पुर्याएको थियो । अस्पतालले केसीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिषकुमार श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाइकल सडकबाट अन्दाजी २२ मिटर तलको खोँचमा खसेको प्रहरीले जनाएको छ ।

यसैगरी पर्वतको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा–बागलुङ सडकखण्डमा म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग३च १०९ नंको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा परी म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएका हुन् । जीपमा चार जना सवार रहेकामा एक सकुशल रहेको र घाइतेको उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here