जनता मालिक नै हुन्

११ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित
  • 763
  •  
  •  
  •  
  •  
  •  
    763
    Shares

गर्मीको मौसम शुरु भएको छ । यो मौसमको फागुन र चैत महिनालाई हुण्डरी र आगलागी जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको महिना मानिन्छ । हुन पनि विगतमा यही समय ठूल्ठूला विपदाहरु सामना गर्नु परेको छ । कतिले आर्थिक, भौतिक मात्र होइन मानवीय क्षतिसम्म व्यहोर्नु परेको छ यो समयमा । हाम्रो देशको सन्दर्भमा यही बेला राजनीतिक वातावरण पनि त्यत्तिकै तातेको हुन्छ । वायुमण्डल र वातावरण नै तातिएको बेला राजनीतिक घटनाक्रमले ‘आगोमा घिउ थप्ने’ काम गर्छ । शायद त्यहीकारण होला नेपालको प्रजातान्त्रिक आन्दोलनले उत्कर्ष टेकेको यही समय सत्तरी वर्षअघि राणा शासन अन्त्य भएको थियो । सत्तरी वर्ष पूरा भइसक्दा पनि नेपाली जनताले पनि प्रजातान्त्रिक अधिकारको उपभोग गर्न भने पाइरहेका छैनन् । अझै प्रजातन्त्रकै लागि भन्दै सडक प्रदर्शनमा उत्रिरहनु परेको छ ।

नेपाली जनता प्रदर्शनका साधन भइरहेका छन् । अरुहरुको स्वार्थका लागि प्रदर्शित भइरहनु नियति नै हो शायद । जबसम्म आफूलाई चिन्न सकिन्नँ, आफ्नो भूमिका, अधिकार र दायित्वबोध गर्न सक्ने चेतनाको विकास हुँदैन तबसम्म त्यही नियति दोहोरिरहने निश्चित छ । राजनीतिक दलहरुले आफ्नो स्वार्थ पूरा गर्न, दलीय अस्तित्वको रक्षा गर्न समय–समय सडक प्रयोग गर्छन् । प्रतिद्वन्द्वीलाई देखाउन कै लागि, भीड बढाउन कै लागि जनतालाई सडकमा उतार्छन् । तिनै जनता, त्यही सडक विभिन्न झन्डा, विभिन्न मुद्दा र मागका प्रदर्शित वस्तु बनिन्छन् । सत्तामा रहने बाहेकका दलहरुले आम जनतालाई आफ्नो ‘सिँढी’ बनाउनु त स्वभाविक नै हो, तर यसबेला सरकार नै शक्ति प्रदर्शनमा उत्रिएको छ, जो स्वयम् अनौठो र अस्वभाविक भएकोले चर्चाको विषय बनिएको छ ।

देशले संघीयता र गणतान्त्रिक व्यवस्था ग्रहण गरेको पनि डेढ दशक भइसकेको छ । त्यसै अनुसारको संविधान पनि बनिएको छ । संवैधानिक व्यवस्था अनुसार जनता सम्प्रभुता सम्पन्न हुन्छन् । यस अर्थमा जनता नागरिक भएका छन् र सर्वेसर्वा ठहरिन्छन् । यसकारण जनताले आफूमा निहीत सम्प्रभुता निर्वाचन मार्फत प्रतिनिधिलाई प्रदान गर्छन् र आफूलाई सुरक्षित र संरक्षित महशुस गर्छन् । त्यहीकारण जनताद्वारा निर्वाचित प्रतिनिधि जनताका सेवक मानिन्छन् । किनकि सत्ता आरोहण गराउने माध्यम जनता हुन् र मालिक हुन्छन् । तर, नेपाली जनताले यस्तो अनुभूत गर्न पाएका छैनन्, नेतृत्व पंक्तिमा ‘काम प¥यो भाँडो–आफल तेरो ठाँडो’ मानसिकता कायमै छ । आवधिक निर्वाचनसम्म पनि धैर्य गर्न नसक्ने प्रतिद्वन्द्विताले तरंगित हाम्रो राजनीति फेरि पनि दुर्घटना सम्मुख उभिएको छ । मालिक भनिने जनतालाई स्वार्थको गोटी बनाइँदैछ, समय–असमय सडक प्रदर्शनका वस्तुमा अनुवाद गरिँदैछ । त्यसैले अब जनताले चेतनाको ढोका खोल्नै पर्छ, राजनीतिक दलहरुको दासताबाट मुक्त हुनैपर्छ । अन्यथा जनताले मालिक हुने दिन कहिल्यै आउँदैन, हेक्का राखौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here