रमाइलो पछाडिको रहस्य कति लोभलाग्दो

११ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

अर्जुन पौडेल।

जति छिटो अँध्यारोले छोप्छ, उति रमाइलो उसलाइ लागिरहेको छ । यो रमाइलो पछाडिको रहस्य कति लोभलाग्दो छ ‌व्याख्या गर्दा गर्दै सायद यो कथा नबनेर निबन्ध बन्नेछ ।

बेलुकी आठ बजेसम्म पसल खुल्लै हुन्छ । त्यसलाइ गुडाएर घरसम्म लैजाने रहर हराउँदै गएको छ । अब उसलाइ घर जान मन लाग्दैन । यहिँ बसिरहुँ । बात मारिरहुँ जस्तो हुन्छ । बेलाबेला घडि हेर्छ । घडिले सात बजाएको जस्तो लाग्दैन ।

– सात बजे । सात बजे कोहि आउँछ । कालो अनुहार । डम्म परेको दाह्री । ससाना आँखाहरु ‌। रुख्खो आेठ । पहिलो पटकमै त्यस मान्छेको बाहिरी आवरणले जोकोहिलाइ पनि आकर्षित गर्छ ‌। त्यहि मान्छे । त्यहि मान्छेको प्रतिक्षा हुन्छ उसलाइ ।

(कथा)

***

” माफ गरिदेउ । ढिला भयो । ”

” माफ ? ” पसले पक्क पर्यो , ” तर केका लागि ? ”

” अँध्यारो । अँध्यारो का लागि । के तिमीलाइ अँध्यारोसँग डर लाग्दैन ? ”

” डर ? ”

” हो डर । ” दाह्रीवाला जिस्कियो , ” भूतको डर ! ”

” मजाक नगर्नुहोस् न ” , पसलेले दाह्रीवालाको आँखामा पुलुक्क हेर्यो,

” पिरो कत्तिको खानुहुन्छ ? ”

” आज मन छैन । ” दाह्रीवालाले भन्यो, ” तिम्रो अनुमानले हालिदेउ । ”

” अनुमान ? ” पसले मुसुक्क हाँस्यो , ” अरुको जिब्रोको कुरा , मैँले अनुमान गरुँ भन्नुहुन्छ ? ”

” चलाख छौ । त्यति त जान्दछौ होला । ”

***

एउटा मनमोहक साँझ थियो त्यो । ठेलाको ठिक विपरीत उभिएको दाह्रीवाला सुनसान देखिन्थ्यो । कहिँ कतै बोलिहाल्छ जस्तो पनि नलाग्ने ।

पसले चटपटे बनाउन तिर लाग्यो । तीन मिनेटमा चटपटे तयार भयो । पसलेले त्यसलाइ हिमालयन टाइम्सको थोत्रो पेपरमा खन्यायो । भन्यो ,

” अमिलो बढ्ता लिनुहुन्छ ? ”

” पर्दैन । ” दाह्रीवालाले चटपटे समायो , ” तर मलाइ सुख्खा चट्पटे मन पर्दैन । ”

” हजुर ? ” पसले बिल्कुल अचम्ममा पर्यो ।

” म भन्दै थिएँ कि मलाइ सुख्खा चटपटे मन पर्दैन । ”

यो कस्तो कुरा भयो । पसले केहिबेर शान्त रहँदै भन्यो,

” माफ गर्नुहोला । सोध्नै बिर्सिएँ । ” उसले थप्यो, ” अघिदेखि यसै गीतमा हराएको थिएँ । भुल भयो । ”

पसलेले रेडियोको स्वीच जोडसँग निमोठ्यो । निकैबेर देखि बजिरहेको गीत बन्द भयो ।

” किन बन्द गर्यौ ? ” दाह्रीवालाले पुन : चित्त दुखाउँदै भन्यो,

” कति मिठो गीत थियो त्यो । ”

” तपाइँलाइ मन पर्छ यस्तो गीत ? ” पसलेले सोध्यो ।

” मनपर्छ । ज्यादै मनपर्छ । ” दाह्रीवालाले भन्यो ।

” बजाइदिउँ ? ”

” बजाउ यार । ”

पसलेले रेडियोको स्वीच दोस्रो पटक निमोठ्यो । अँध्यारोलाइ चरक्क काटेर एउटा गीत बज्यो,

” कभि कभि मेरे दिल मै । खयाल आता है ! ”
———————————————————–

कलिलो साँझ । छेउछाउका रुखहरु बाट पात बजेको आवाज आइरहेथ्यो । अनि त्यो शरीर । छ फिट अग्लो शरीर जतै बाट हेरे पनि आकर्षक देखिन्थ्यो । पसले हुरुक्क भयो । यस बीच पसलेलाइ सोध्न मन लाग्यो कि तपाइँका आेठहरु किन यति विधि रुख्खा छन् ?
सोचेजति सबै कुरा सोध्न मिल्ने भए संसारमा कल्पना भन्ने चीज नै कहाँ रहन्थ्यो ? पसलेले सोच्यो , अब त्यो आेठ उसका लागि कल्पनाको विषय भयो ।

***

यो मान्छेको आवाज भजन जस्तै छ । पसले सोच्दथ्यो । उसलाइ हमेशा कुनै न कुनै बाहना गरेर त्यसै मान्छेसँग बोलिरहुँ जस्तो लाग्थ्यो । यता उताका कुराहरु गरेर उसको अनुहार नियाल्ने कुरा भने गोप्य राख्छ । कसैलाइ सुनाउन मन गर्दैन ।

त्यस साँझ दुवैले दुवैलाइ अझ बढि चिने । उनीहरुका कुराहरु जुधे । आँखाहरु जुधे । बुझ्दै जाँदा थाहा भयो दाह्रीवाला महोदय घरमा एक्लो छ ‌। बुवा विदेशमा बस्नुहुन्छ । आमाले दोस्रो विवाह गरिन् ।

” अनि तपाइँ विवाहित हो ? ” नसोधूँ भन्दाभन्दै पसलेले सोधिहाल्यो ।

” विवाह त परको कुरा ‌। कुरै नगरे भयो । ” दाह्रीवाला मजाक गर्न लाग्यो, ” अनि तिमी नि ? तिमी विवाहित हो ? ”

‘ होइन । म कहाँ विवाहित हुनु । ‘ पसलेलाइ भन्न मन थियो। तर सकेन । किनभने यो अधिकार विवाहित पुरुषसँग हुँदैन कि मन लागेको बेला – श्रीमती छैन भनोस् ।

***

सहरको सबैभन्दा सस्तो कुनामा एउटा डेरा थियो । डेरामा एकजना केटी थिइ । केटीको नाम रमा हो । रमा पसलेकै श्रीमती हो । विवाह तीन वर्ष पहिले नै भयो । तर यहि सत्य आज स्विकार्न मन लाग्दैन । भित्र कतै हीनताबोध ले खाइरहन्छ ।

पसलेलाइ कुनै कुरासँग घृणा हुन थालेको छ भने त्यो उसैकी श्रीमती हो । बताउनका लागि कारणहरु छन् । हरेक कुरा पहिलेका जस्ता लाग्दैनन् ।‌ उसका आँखाहरु पहिलेका जस्ता छैनन् । पसलेलाइ त्यता हेर्नु छैन । हातहरु पहिलेका जस्ता नरम छैनन् । त्यसैले पसलेलाइ ति हात छुनु छैन । जिउडाल छैन, हिँडाइ, उठाइ , बसाइ, रहन सहन कुनै पनि कुरा पहिलेको जस्तो रहेन । अब तिर्सना घटेको छ ।

यति हुँदा हुँदै पनि पसलेले भन्न सकेन ,

” माया गर्न छाडिसकेँ तिमीलाइ । ”

नत्र त उसले भन्न सक्थि,

” म जहाँ थिएँ खुसी थिएँ ‌ । किन भगाउनु भयो ? ”

***

मन मरिसकेपछि माया तब सम्म पलाउँदैन जब सम्म कोहि अर्को मान्छेले नयाँ मन जन्माउँदैन । सुनेको थियो , श्रीमान श्रीमती भएपछि सँगै सुत्नुपर्छ । एउटै कोठा भित्र पुरा रात बिताउनु पर्छ ‌। तर यो कुरा सम्झँदा पनि बान्ता हुन खोज्छ । किनभने रमालाइ हेर्दा अब गर्मी हुन छाड्यो । त्यहि गर्मी जो पहिले-पहिले हुने गर्थ्यो ।

हरेक साँझ बार्दलीमा बसेर बाटो हेरिरहेकी हुन्थी । पसलेले रमालाइ परैबाट चिन्दथ्यो । जुन प्रेमको भोक अघिसम्म थियो तुरुन्तै घटेर शून्यमा बिलाउँथ्यो । तर रमालाइ खुलेर भन्न सकेन,

” मुख देखेको छैनौ र बाटो हेर्छौ ? अब देखि यो अनुहार नदेखाउ । वाक्क लागिसक्यो । ”

नत्र त उसले भन्न सक्थी ,

” त्यति धेरै मन परेको यहि अनुहार होइन ? भन्थ्यौ , यसलाइ हेरिरहन मन छ । कहिल्यै अघाउँदिन …”

***

पसलेको बानी छक्क लाग्दो थियो । दिनभर जतिसुकै गाली गरे पनि मध्यरातमा त्यहि श्रीमती प्यारी लाग्दथी । हरेक कुरा रमासँगै पोख्न मन लाग्ने । यस्तो किन हुन्छ उ स्वयमलाइ थाहा थिएन । केवल सुनाउन मन लाग्ने – आज कस्ता ग्राहकहरु देखिए, कुन पसलमा ज्यादा भीड भो , आम्दानी कस्तो‌ रह्यो .. इत्यादि ।

त्यस रात जब यहि क्रम दोहोरियो , रमा एकैछिनमा निदाइ । निदाएकी रमालाइ पसलेले नियाल्यो । अनि मनमनै सोच्यो,

” ….मलाइ त कोहि अर्कै मन पर्छ । ”

***

पसले आज पनि सम्झन्छ , रमासँगको पहिलो भेट ।
त्यस भेटमा न प्रेम थियो । न त अरु नै केहि । थियो त केवल लाज । जो सबैभन्दा बढि रमाको अनुहारमा देखिन्थ्यो ।

अन्य ग्राहक हरु जस्तै आफ्नो ठेला अगाडि यसरी उभिएकी थिइ जस्तो कोहि अञ्जान केटी घरमा माग्न आएका नौला मान्छेहरुका अघि उभिन्छे ‌। अनि सरम मान्दै यता उता फर्किन्छे ।
सुरुमा त पसलेले यो सोचेर कुनै प्रतिक्रिया जाहेर गरेन कि कुनै सामान्य केटी हुनु पर्छ । के को लिनु दिनु । तर धेरै कुरा सोधिसक्दा पनि केटी नबोलेपछि , पसलेले सोध्यो,

” कतै तिमीले बाटो भूलेँ भनेकी त होइनौ ? ”

तर केटी अझै केहि बोलिन । पसलेलाइ लाग्यो , लजाएकी हुनुपर्छ । त्यसपछि केहि पर गयो । नयाँ डटपेन किन्यो । अनि केटीलाइ थमाइदिँदै भन्यो ,

” लौ लेखेर भए पनि भन । हेरौँ के भन्न खोजिरहेकी छौ ।”

केटीले हतारिँदै आफ्नो हत्केलामा केहि लेखी । मुसुक्क हाँसी । अनि पसलेलाइ देखाइ,

” म बोल्न सक्दिन । म सँग पैसा पनि छैन । तर मलाइ चटपटे खान मन लागेको छ । ”

पसले हेरेको हेर्यै भयो । यो त त्यस्तो घट्ना भयो जस्तो उसले सपनामा देख्ने गरेको थियो । बिहान नहुँदै कल्पनासम्म गरेको थियो कि कतै यो यथार्थमा नघटोस् । नत्र त उ खुसीले नाँच्ने छ । संसार थर्काउने छ ‌।

तर यो सबै त सत्य भयो । अब न उ नाँच्न सक्थ्यो , न त संसार बोलाउन नै सक्थ्यो । केवल सोच्न मात्र सक्थ्यो ,

‘ यस्ती राम्री मान्छे पनि लाटी ? ‘

***

चटपटे तयार भयो । केटी खुसी भइ । जब पसलेले यो भन्यो कि सँधै आफ्नो ठेलामा आए , सित्तैमा चटपटे खुवाउनेछ , केटी निकै जोडसँग हाँसी । देब्रे हत्केलामा केहि लेखी । अनि पसलेलाइ देखाइ,

” तपाइँ निकै जाती हुनुहुन्छ । ”

पसलेको अनुहार रातो भयो । उसले केटीको हत्केला आफूतिर तान्यो । अनि जतनसँग लेखिदियो,

” तिम्रो नाम के हो ? ”

तब उसले डराएर लेखेकी थिइ,

” रमा । ”

***

सहजै सोच्न सक्नुहुन्छ कि कुन बाढी गइरहेको थियो रमा भित्र । लाज र उत्ताउलोपनाले मन भरिएको थियो । घर पुग्न नपाउँदै ढोका जोड सँग बन्द गरेर बिस्तरामा यसरी पल्टिएकी थिइ, मानौँ अब उसलाइ निदाउन मन लाग्यो । निद्रामै बरबराउन मन लाग्यो ,

” मेरो‌ आँखामा अझै मोहनी छ । ”

ठिक यहि बेला मनमनमा सङ्कल्प पनि गरी कि कुनै हालतमा त्यस पसलेले आफूलाइ मनपराउने छ ।

***

मन भित्र एउटै कुरा खल्न थाल्यो । माया । यस बिना न कुनै स्त्री बाँच्न सक्छे । न कुनै पुरुष । बिस्तारै उसलाइ लाग्न थाल्यो कि पसलेले उसलाइ माया गर्नु पर्छ । उसको सिउँदोमा सिन्दुर हालिदिनुपर्छ । अरु पनि धेरै कुरा गर्नुपर्छ ‌। धेरै धेरै कुरा ‌।

त्यसपछिका हरेक साँझ उसले पसलेको सम्झनामा
बिताइ । उसँग भेट्न पाए कति आन्नद हुन्थ्यो । बोल्न पाए कति मजा हुन्थ्यो । राती सुतेको बेला पनि उसैको सपना देख्न थाली । दुर दुर सम्म घुमेको‌ सपनाहरु । विवाहमा लाउने लुगाहरु लगाएर राम्रा- राम्रा फोटो खिचेका
सपनाहरु ।

यथार्थमा पनि उसलाइ लाग्यो कि जुन अपेक्षा त्यस पसलेबाट राखेकी छ , धेरै हदसम्म सफल भइरहेकी छ । किनभने चिन्दै नचिनेको‌ पसलेले एक हप्ता सम्म सित्तैमा चटपटे खुवाइरहनु को कुनै तर्क थिएन । फेरि उसले पटक पटक पसलेलाइ भनिसकेकी थिइ कि कुन हदसम्म आकर्षित भइसकेकी छ । त्यसो भनिरहँदा पसलेले भनेको थियो ,

” तिमीजस्तो मान्छेसँग पनि घुलमिल हुन सकिने रहेछ । ”

अनि रमाले एउटा कागजमा लेखेकी थिइ ,

” झन् तपाइँ त पसले भएर पनि यति मिठो बोल्नुहुन्छ । ”

***

रमा र पसलेबीच हिमचिम बढ्न लाग्यो । उनीहरु एकअर्का बिना बस्न नसक्ने जस्ता भए । पसलेले रमालाइ कसरी आफूतिर आकर्षित गर्न सकिन्छ भनेर सोचिरहन्थ्यो ।‌ रमा पनि यस्तै कस्तो सोचिरहन्थी ।

एकदिन पसलेले निकै मायालु तवरले सोध्यो ,

” तिमी आफ्नो घरपनि देखाउँथ्यौ भने यहाँसम्म धाइरहनु नै पर्दैन । जाबो चटपटे पुर्याउन त म आफैँ आइहाल्छु नि । ”

तब रमाले आफ्नो घर देखाउँदै यो भनिदिइ कि उसको कोठा बाटो छेउमा पर्छ ‌। कोठाको एउटा झ्याल‌ सँधै खुल्ला हुन्छ । साथमा यो पनि भनि कि घरसम्म धाउने हो भने सावधान भएर मात्र आउनुपर्ने हुन्छ । किनभने यस्तो कुरा उसकी आमाले देख्न सक्थिन् । अनि मामिला लाजमर्दो हुन सक्थ्यो ।

पसले हरेक दिन अँध्यारोको प्रतिक्षा गर्दथ्यो । अनि रात परे सँगै रमाको कोठा अघि हाजिर हुन्थ्यो । रमा विस्तारै कोठाको झ्याल खोलिदिन्थी । पसले आफ्नो हातमा झुन्ड्याइराखेको पोको रमाको‌ हातमा थमाइदिन्थ्यो ।

” रात निकै परेको छ । जाडो भयो । ” पसले साउती
गर्थ्यो ,

” भित्र‌ आउने नि ! ”

तब रमा रिसाएको‌ स्वाङ् पार्दथी । तर यो सबै अँध्यारोमा कसले देख्ने । पसले जिद्दी गर्थ्यो । तर रमा मान्दिन
थिइ । अन्त्यमा हार खाएर पसले भन्थ्यो ,

” त्यसो भए‌ माया गर । ”

यो कुरा रमालाइ चित्त बुझ्छ । झ्याल भित्र बाटनै निधार छेउमा माया गरिदिन्छे । अनि अरु पनि धेरै कुरा भन्न खोज्छे जो उसको घाँटी भन्दा बाहिर कहिल्यै निस्किएन ।

पसलेलाइ यो सबैले फरक पर्दैन थियो । उसलाइ त केवल‌ प्रेमसँग मतलब थियो । आत्मिय प्रेम । भन्थ्यो ,

” तिमीले जे भने पनि म माया गरिहाल्छु नि । ”

***

सम्बन्धहरु बिग्रन ठूलो कारण नै चाहिँदैन । कोहि एकजना कोहि अर्कोसँग अघाए मात्र पनि पुग्छ । अघाउनु र नअघाउनु मै अाजकल सम्बन्धहरु उभिएका छन् ।

पसलेले आफूसँग सुतिरहेकी रमातिर एकपटक फेरि हेर्यो । सोच्यो ,

” यहि माया हिजो वर्षा याम थियो , अाज खडेरी जस्तो लाग्छ । ”

अन्त्यमा दुवै आँखा चिम्म गरेर निदाउने कोसिस गर्छ तर सक्दैन । किनभने माया नै यस्तो चीज हो जसले उसलाइ अनिदो राख्यो ।‌ फरक यति हो हिजो कसैका लागि , आज कोहि अर्कैका लगि । कोहि अर्को किन भनूँ – दाह्रीवालाका लागि । आफ्नै दाह्रीवालाका लागि ।

***

संसार मेरो लागि बनिएको होइन । न संसारका लागि म बनिएको हुँ भन्ने फैसला गरेको दाह्रीवाला एकान्त प्रेमी
थियो । घरमा प्राय : बार्दलीमा भेटिन्थ्यो । जरुरी छैन हरेक कुरा सास फेर्ने सँग साट्नुपर्छ ‌। केहि मान्छेहरु सास नफेर्नेसँग पनि बोल्न सक्छन् । जस्तो कि यो बार्दली ।

बार्दली र दाह्रीवाला बीचको सम्बन्ध बुढेसकाल सम्मलाइ
हो । यहाँ उसले आफ्नो भविष्य सोच्दछ ‌। भविष्यमा सानो आशा हुन्छ , बाँच्नुको । एउटा अर्थ हुन्छ , हिँडिरहनुको । यसमा रमाउन सक्नेले नै जिन्दगीसँग जुध्न सक्छन् ।

उसका आँखाहरु स-साना थिए । आँखीभौँ बाक्ला थिए । अोठ रुख्खो नै थियो , बाँझो खेत जस्तो । कसैले खनजोत नगरेको । तर जब जब पसलेलाइ सम्झन्छ उसको आेठ आफ्नो जस्तो बाँझो लाग्दैन । रसिलो लाग्छ । त्यहाँ त खनजोत भइसकेको छ । दाह्रीवाला केहि यस्तै सोच्थ्यो ।

‘ पसले मलाइ चाहिन्छ । ‘

तर यो कुरा उसलाइ थाहा हुनु हुँदैन । दाह्रीवाला यस्तो पनि सोच्थ्यो । थाहा भयो भने त उसको भाउ बढ्नेछ ‌। आफूसँग बोल्न छाड्नेछ । नजिक आउन छाड्नेछ । लजाउन पनि छाड्नेछ ‌। जुन उसलाइ सह्य थिएन ।

***

तर एकदिन , ” तिमीलाइ मैँले सपनामा देखेँ । ” , दाह्रीवाला खुलेरै छाड्यो ।

” सपानामा ? ” पसले छक्क पर्यो ।

” हो सपनामा । ”

” कहिले देख्नुभयो ? ”

” धेरैपल्ट ”

” धेरैपल्ट ? ” पसले खुसी भयो, ” कतिपल्ट ? ”

” चार पल्ट ”

” कहिले कहिले ? ”

” हिजो राती । अस्ती राती ‌। ”

” अनि अरु ? ” पसलेलाइ सबै जान्न मन लाग्यो ।

” ७ गते राती । अनि ११ गते पनि । ”

पसले आँखा चिम्म गर्छ । अनि दुवैजना अनौठो किसिमको हाँसो हाँस्दछन् । दार्हीवालाको छेउमै उभिएकी अर्की एकजना केटी पनि खिस्स गरिरहन्छे । मानौँ उसलाइ यो कुराकानी सामान्य लागिरहेको छ । अनि यहाँ जे जे भयो , उसले पहिले पनि धेरै पटक देखिसकेको कुरा हो ।
साँझ पर्दै गर्दा ग्राहकहरुको भीड पातलिँदै
गयो । मान्छेहरु घरतिर लागे । छेउछाउका ठेलाहरु पनि घरतिर हानिए । पसलहरु सारा बन्द भए । तर दाह्रीवाला र पसले आफ्ना कुरामा यसरी हराएका थिए , मानौँ अब यो अँध्यारोले फरक पर्दैन ‌। चिसो मौसमले फरक पर्दैन । केहिले पनि पर्दैन ।

कुरैकुरामा पसले र दाह्रीवाला एक अर्कोसँग छोइन्थे । यसो हुँदा टुसाउँदै गरेको प्रेमको मजा लिन पाउँथे । अनि घर कसका लागि जानु पर्यो‌ ?

” बुढीका लागि । ” पसलेले झट्ट सम्झियो ।

” बुढी ? ”

” हो बुढी । ”

” हिहि ” दाह्रीवाला हाँस्न लाग्यो , ” कस्तो बोर लाग्दैन तिमीलाइ ? ”

” को सँग ? ”

” बुढीसँग । ”

” लाग्छ । ” पसलेको अनुहारमा १२ बज्यो , ” तर लागेर के गर्नु हटाउन मिल्ने होइन । ”

” ठिकै हो । हटाउन त मिल्दैन । ” दाह्रीवालाले भन्यो , ” तर मान्छौ भने म सँग एउटा उपाय छ । ”

” कस्तो‌ उपाय ? ”

” नराम्रो त मान्दैनौ नि ? ”

” मान्दिन । ज्यान जाला मान्दिन । ” पसलेले भन्यो ।

” बुढी कुट्न थाल । ”

” हजुर ? ”

” ज्यादा माया गरेर कोठामा बसिराखेकी हो । दिनै पिछे पिट्ने गर आफैँ तह लाग्छे । ” दाह्रीवालाले भन्यो ।

***

रातको ११ बजे पसले कोठामा पुग्यो । ढोका खुल्लै थियो ।‌ रमा बिस्तरामा पल्टिएकी थिइ । सायद निदाइसकेकी थिइ । पसले सरासर कोठा भित्र पस्यो ।

” लोग्नेलाइ नपर्खी मस्त निदाउने तँ ? ”

पसलेले कोठा थर्कायो । रमा झसङ्ग भइ । अक्क न बक्कको अनुहारले एकपटक पसलेलाइ हेरी । बाहिर ढोकामा पनि हेरी । त्यसपछि भित्ताको घडीमा हेरी । १० बजिसकेछ । ‘ राम ‘ भने जस्तो गर्दै बिस्तराबाट उठी ।

पसलेले झपार्यो ,

” कोठाको ढोका कसका लागि खुल्ला राखेकी ? ”

‘ तपाइँका लागि । ‘ रमाले भन्न चाहि तर यो मुखबाट बाहिर निस्किएन ‌।

” अझ बोल्दिनस् ? ” पसलेले रमाको कपाल दह्रो गरि समात्यो,

” खुब माया चाहिएको होइन ? ”

‘ होइन । होइन । होइन ‌ ‘ रमालाइ भन्न मन थियो‌ , तर सकिन ।

***

एकदिन अबेर सम्म पनि घर नआए पछि रमा कोठा बाहिर निस्किएर‌ बाटो हेर्न थाली । करिब डेढ घण्टा पछि पसलेको सवारी भयो । रमा मुसुक्क हाँसी । पसलेको छेउ सम्म गइ । हात समाउन खोजी ‌। तर पसलेले उल्टो रमाको अनुहारमा हात राख्यो । बेस्सरी घचेट्यो ‌। रमा लल्याक लुलुक भइ । भूइँमा लडी । तर पसलेलाइ त्यो सबैको वास्ता रहेन । सरासर कोठा भित्र पस्यो । फर्किएर पनि हेरेन । आवाज दबाएर निकैबेर सम्म रोइरही ।‌ रमा बाटैमा बसेर रोइरही ।

सुनाउन धेरै कुराहरु थिए । फुकाउन धेरै गाँठोहरु थिए । तर अब उसलाइ खुस्काउन मन लागेन । कसैलाइ सुनाउन मन लागेन । पसलेलाइ पनि । ठिक भन्दैछु , पसलेलाइ पनि सुनाउन मन लागेन ।
मनभरि पीर हुनु स्वभाविक हो ‌। यो पीर सबैसँग साटिरहने मान्छे हलुका हुन्छ । तर माया त तब हुन्छ जब यस पीर को पनि माया लाग्छ ‌। कसैलाइ सुनाउन मन लाग्दैन ।

रमालाइ आज पनि सम्झना छ , विगतको । विगतमा विल्कुलै फरक थियो पसले । ७ नबज्दै कोठामा आइपुग्थ्यो । भन्थ्यो ,

” आजभोलि तिमीले मलाइ पर्खिए जस्तो नै लाग्दैन । बाहिर बसेर पर्खिरहु न । बार्दलीमा उभिएर मेरो बाटो हेरेर बस । ”

“त्यसो गर्दा के हुन्छ ? ” रमा कागजमा लेखेर सोध्थी ।

“माया बढ्छ । ” पसले भन्थ्यो ।

तर आजभोलि बाटो हेरिरहनुको कुनै अर्थ रहन छाड्यो । आजभोलि न उसले त्यो मुस्कान हाँस्छ , न त्यसरी आफ्नो हात नै समाउँछ । रमालाइ पसलेको नाकको स्पर्श मन पर्छ, कलिलो दाह्रीको सम्झना आउँछ ।

” तिम्रो दाह्रीले घोच्छ । ” रमा भन्थी ।

” घोच्दैन । ” पसले हाँस्थ्यो , ” खै खै हात हटाउ । ” जबरजस्ती पनि गर्थ्यो ।

***

पसलेसँग सुत्दा सुतिरहे जस्तो लाग्दैन । पसले घर आउँदा, घर आए जस्तो लाग्दैन । आजभोलि कोहि फरक मान्छे , फेरिएको मान्छेसँग भाडामा सुतिरहे जस्तो लाग्छ । रमालाइ कति पटक भन्न मन हुन्छ ,

” मलाइ तपाइँले चलाएको मन पर्छ । सुनसान बसेको मन पर्दैन । ”

तर सक्दिन । आजभोलि यो मान्छे पहिलेको जस्तो रहेन । त्यसैले सक्दिन । अबेर सम्म यो मान्छे कोठा भित्र नहुँदा कति कुरा सोधूँ जस्तो लाग्ला । तर पनि सोध्न सक्दिन ।

किनभने उ सोध्ली ,

” यत्रो बेर सम्म कहाँ थियौ ? को सँग थियौ ? ”

पसलेले सहजै जवाफ देला ,

” बाहिर थिएँ ‌। नयाँ साथीसँग । केटी साथी । ”

यसैले त डर लाग्छ । बरु उ यस्तो सोचेर चित्त बुझाउँछे कि सहरमा कुनै मेला चलिरहेको छ ‌। रातभरको मेला । व्यस्त भएर पसले टाइममा घर आउन नसकेको हो ।

***

दिन बित्छ । महिना बित्छ । मनमा धेरै कुराहरु खेलिरहे । उसलाइ भित्र कतै अप्ठ्यारोले समाते जस्तो भयो ,

– कतै आफू धेरै भएकी पो हुँ कि ?
– व्यापार घाटामा गइरहेको पो छ कि ?
– बासी खाना नमिठो हुन्छ । त्यसैको रिस हो कि ?
– अोछ्यानमा कमजोर भइराखेर पो हो कि ?

तर यि कारणहरु होइन रहेछन् । किनभने एक साँझ पसले छिटै कोठामा फर्कियो । ७ बजे नै । उसले रमाको हात समात्यो । पहिले जसरी नै । दुवैजना भूइँमा बसे । मुखामुख गरेर ।

” म तिमीलाइ माया गर्छु । ” पसलेले भन्यो ।

रमा एकैपटकमा गदगद भइ । उसलाइ कता जाउँ , के गरुँ , कसलाइ सुनाउँ जस्तो भयो ।

‘ यो सबै भनिरहनु पर्दैन । ‘ उसले मनमनमा भनि , ‘ माया नै काफी छ । ‘

त्यसपछि दुवैजना शान्त भए । वर्षात पछिको आकाश
जस्तै । रमा टाउको झुकाएर पसलेका सम्मुख बसिरहि । उ चाहन्थी यो मौसम धेरै पछिको हो । पसलेले अझ मायावी बनाउँदै लगोस् । त्यसैले घरि घरि उसको अनुहारमा हेर्थी ।

पसले रमाको नजिकै आयो । झन् झन् नजिक । छायाँ जस्तो । रमाका आँखाहरु झुके । सरम जस्तो ।

” के तिमी मलाइ माया गर्छौ ? ” पसलेले सोध्यो ।

अनौठो प्रश्न थियो यो । रमालाइ लाग्यो , यस्तो पनि सोध्ने कुरा हो ? माया थिएन भने उसँग भागेर नै किन आउँथी ?

***

धेरैबेर पछि रमा आफ्नो ठाउँबाट उठी । पसलेलाइ पनि उठाइ । दुवै हातले उसको गाला सुमसुम्याइ । त्यसपछि नाक छोइ । अनि अँगालोमा कसी । बेस्सरी । लाग्थ्यो, धेरै दिन देखि यसैको प्रतिक्षा थियो । आज बल्ल पुरा भयो ।

पसले भित्र भित्रै हाँसीरह्यो । उसलाइ थाहा थियो , केटी मूर्ख छे । यसलाइ जे गरे पनि , जसो भने पनि उल्याउन सकिन्छ । लाग्यो , ‘ चालमा सफल भइरहेको छ ‘ ।

पटक पटक सोध्यो ,

– ” तिमीलाइ के खान मन छ ? ”

– ” नयाँ लुगा चाहिन्छ ? ”

– ” माइत जान्छौ ? ”

– यता बसौँ न । ” छेउको बेडतिर इशारा गर्यो । दुवै बसे । रमाको हात समात्यो । नक्कली प्यार थपेर । बिस्तारै भन्यो,

” एउटा कुरा भन्नु थियो । ”

‘ के कुरा ? ‘ रमाले दुवै आँखी भौ उठाइ ।

पसले मुद्दामा आयो ,

” हप्तादिन जति घर आउन पाउँदिन‌ । साथीहरु सँग घुम्न जाने कुरा छ । ”

” कहिले जाने ? ” केटीले हातको इशारामा सोधि ।

” भोलि । भोलि नै जाने । ” पसलेले भन्यो ।

” को सँग जानुहुने ? कहाँ जानुहुने ? ” रमाले हातको इशारामा भनि । तर पसलेले बुझेन । छेउको टेबुलबाट पाना झिक्यो , डटपेन झिक्यो । रमालाइ थमाइदियो ।

उसले लेखी ,

” केटी साथी पनि छन् ? ”

‘ छन् । छन् । छन् । ‘ पसलेलाइ चिच्याउन मन लाग्यो । तर सकेन । रिसलाइ काबुमा राखेर भन्यो,

” छैनन् । हामी केटाहरु मात्र जान्छौँ । ”

” कति दिनलाइ ? ”

” सात दिन ! ” पसलेले कुराकानी टुङ्ग्यायो ।

***

सात दिन । यो सात दिन निकै मजामा बित्नेछ । दाह्रीवाला बार्दलीमा बसेर सोचिरहेको थियो । उसलाइ लाग्यो कि यत्रो दिनसम्म व्यग्रता पूर्वक प्रतिक्षा गरेको पसले आकाशको तारा हो ।‌ जो छिटैनै उसको खल्तिमा खस्दैछ । खुसुक्क ।

अब उनीहरु सात दिन सम्म घुम्नेछन् । सात दिन सम्म एक अर्को सँग हुनेछन् । त्यसैले अबको समय उत्सवमयी हुनेछ । दाह्रीवालाले सोच्यो । उसलाइ यो पनि लाग्यो कि पसलेलाइ आफ्नो बसमा राख्नु सामान्य कुरा होइन । तर अहिले सम्म त उ सफल भइरहेको छ ‌।

तर केहिबेर भयो, एउटा चरा कतैबाट आएर गमलाको फूल वरिपरी घुमिरहेको थियो । जब मौका मिल्थ्यो ठुँगीरहेको थियो । दाह्रीवालाले यसमा उति चाख देखाएको थिएन । तर जब त्यसले अत्याचार नै गर्न थाल्यो गमला समेत भूँइमा झरेर फुट्ला भन्ने डर भयो । त्यसैले समयमा नै जुरुक्क उठेर ‘ हा हा ‘ गर्यो ।

“चराले फूल ठँग्न थालेपछि अब भमराको के काम ? ”

झन् जोसियो ,

” तरिका हो ? ”

अनि आफूचाहिँ चराजस्तै उड्यो- भावनामा । जहाँ पसले थियो । उ थियो । अाकाश थियो । आकाशबाट फूलको वर्षा भइरहेको थियो ।‌ जसमा उनीहरु भिझीरहेका थिए । निथ्रुक्क ।

***

पर्सिपल्ट –

” फूलको वर्षा ? ” पसले चकित नै पर्यो , ” यस्तो‌ सपना त मैले आजसम्म देखेको छैन ‌। ”

” सपना होइन । कल्पना हो ।‌ ” दाह्रीवाला हाँस्दै भन्यो ,

” ‌म भन्दै थिएँ कि दिउँसो हामी गोरखा दरबार जानेछौँ ।‌ ”

” हुन्छ ।‌ त्यसै गरौँ । ” पसलेले भन्यो ।

तेस्रो दिन ‌नबित्दै पसले दाह्रीवालाको इशारामा चल्ने कठ्पुतली भइसकेको थियो । उसले जे जे भन्थ्यो, पसले त्यहि गर्थ्यो ‌। यो भूलेर कि उ एउटा विवाहित पुरुष हो , नयाँ उत्सव मनाइरहेको थियो । रोक थाम गर्ने कोहि
थिएन ।

गोरखा दरबारपछि उनीहरु पोखरा तिर हानिए । बिन्ध्यावाशिनी घुमे । दर्शन गरे ‌। टिका लाए । आशिर्वाद थापे । पसलेले माग्यो ,

” दाह्रीवाला चाहिने मान्छे हो । मलाइ दिनुहोस् । ”

दाह्रीवालाले माग्यो,

” पसले चाहिने मान्छे हो । मलाइ दिनुहोस् । ”

***

पोखराको लेकसाइड घुमे , डुङ्गा सेयर गरे । ताल वाराहीको दर्शन गरे ।

” यत्रो पानी कहाँ अटाएको होला ? ” पसले बच्चाले जस्तो प्रश्न गर्थ्यो ,

” झन् यो ताल बाराही कुन शक्तिले अडिएको छ ? ”

” मलाइ थाहा छैन । ” दाह्रीवाला एउटै जवाफ दिन्थ्यो ।

उनीहरुले महेन्द्र गुफा पनि घुमे । पसले चाहन्थ्यो , गुफा भित्र अँध्यारै अँध्यारो होस् । झलमल्ल बत्ती बल्ने कुरा राम्रो भएन । छानोबाट झरेको पानीमा उसलाइ भिझ्नु थियो । दाह्रीवालाको आेठमा माया गर्नु थियो । उज्यालोमा‌ त यो‌ सबैले देख्न सक्थे ।

तर जहाँसुकै घुम्दा होस् उनीहरुले हात समाएकै हुन्थे । शरीर जोडेकै हुन्थे । देख्नेहरु भन्थे ,

” दाजुभाइ हुनु त यस्तो । ”

***

फर्किने दिन एउटा फिल्म पनि हेरेका थिए । प्रस्ताव दाह्रीवाला आफैँले राखेको थियो ।

” आज हामी एउटा फिल्म हेर्ने छौँ । ”

” कुन फिल्म ? ”

” जुन पनि झारिदिउँला । ” दाह्रीवालाल भन्यो ।

” कस्तो अनौठो नाम ? ” पसलेले चकित पर्दै सोध्यो,

” कस्तो छ फिल्म ? ”

” हेरे पछि थाहा हुन्छ । ”

फिल्म हेरिरहँदा बिभिन्न बाहनामा दाह्रीवाला पसलेको नजिक जान्थ्यो । उसलाइ कथामा कुनै चासो लागेन ।किनभने छेउमा जो थियो , त्यो फिल्म भन्दा ज्यादा रोमाञ्चकारी थियो ।

तर फिल्म हेरिसकेपछि उसैले भन्यो ,

” बकवास फिल्म । मन त गर्छ कि सारा पैसा फिर्ता माग्न जाउँ । ”

***

भोलिपल्ट ।

दाह्रीवाला किचनमा थियो ।‌ सोच्यो, आफू आधा कप कफी लिनेछ । साथमा ब्रेड पनि लिनेछ। तर पसले‌ ? पसले के लिन्छ चिया या कफी ?

” चिया लिन्छौ कि कफी ? ” दाह्रीवाला किचनबाटै चिच्यायो

” चिया….” पसले तल कोठाबाट करायो ।

यतिखेर दुवै दाह्रीवालाकहाँ थिए । यहाँ कसैको‌ डर थिएन । सात दिन सम्म बिभिन्न ठाउँ घुम्दा पनि उनीहरु एक अर्कासँग उति खुल्न सकेनन् । तर यो घरमा आइपुगेपछि बल्ल घुलमिल हुन पाए ।

” बल्ल थोरै थोरै बुझ्न थालेँ तिमीलाइ । ” दाह्रीवालाले चियाको कप पसलेतिर सार्यो ।

” मैँले त तपाइँलाइ पहिलो भेट्मै चिनिसकेको थिएँ ।‌ ”

” पहिलो भेट्मै ? ”

” हो । पहिलो भेट्मै । ” पसलेले संवाद जारी राख्यो ,

” उतिखेर तपाइँ भूत जस्तो‌ लाग्नुहुन्थ्यो । ”

दाह्रीवाला एकै पटकमा जिल्ल पर्यो । ठम्याउन सकेन कि यो एउटा जोक थियो या अरु नै केहि ?

” अहिले नि म ! ” उसले मुठ्ठी कस्यो ।

” रिसाउनु भो ? ” पसले हाँस्न थाल्यो ,

” खुब रिसाउनु । सुहाउँछ तपाइँलाइ । ”

दाह्रीवाला कफी पिउन थाल्यो । बाहिर जस्तोसुकै देखिए पनि भित्र कतै पीडाले सताइरहेको थियो । त्यसैले त यत्रो ठट्टा भइरहँदा पनि इलामे झारझैँ निहुरी रहेको थियो ।

” के भयो ? ” पसले छक्क पर्यो ।

” केहि होइन । ” दाह्रीवालाले भन्यो ,

” यहि सोचिरहेको कि भोलिदेखि मेरो के हुन्छ ? ”

” केहि पनि त हुँदैन ।‌” पसलेले बुझी बुझी कुरा पन्छायो,

” बरु बाहिर हेर्नु न । कति जाडो छ हिजो‌आज । ”

‘ कुरा किन घुमाउछौ ? ‘ दाह्रीवालालाइ भन्न मन थियो । तर सकेन । निकैसमय पछि बल लगाएर भन्यो ,

” तिमीलाइ दिइनका लागि केहि छ मसँग । ”

” के छ ? ” पसलेले एकै स्वासमा सोध्यो ।

” ठूलो कुरा त होइन ।‌ ” दाह्रीवालाले भन्यो,

“भोलि दिउँला ”

***

भोलिपल्ट पसलेले त्यो घर छाड्यो । अब पुरानै कोठाको दर्शन गर्नुपर्ने बेला आएको थियो । हिड्ने बेला दाह्रीवालाले हातमा कागज थमाउँदै भन्यो ,

” घर गएर पढ्नु । ”

पसले ‘ हुन्छ ‘ भनेर बिदा भएको थियो । तर कोठा नपुग्दै सर्टको माथिल्लो गोजीबाट त्यस कागजलाइ निकाल्यो । खोल्यो । पढ्यो । पढ्न आधा मिनेट पनि लागेन ।

———————————————————————–
” पसले ।

यो‌ सबै बेवकुफहरुले सोच्ने कुरा हो जस्तो लाग्छ भने माफ गरिदिनु । तर के तिमीलाइ पनि त्यस्तै हुन्छ जस्तो‌ मलाइ हुन्छ ?

हो हुन्छ – भन्छौ भने सरासर दुइदिन भित्र यसै घरमा फर्किने छौ । तर यदि त्यसो होइन भने जबरजस्ती हुनेछैन । अब हामी छुट्टिएर बस्न सक्दैनौँ ।

त्यस केटीको उतै व्यवस्था गर्नु । सकिएन भने पनि फकाएर ल्याउनु , मिलेर बन्दोबस्त गरौँला । ”

———————————————————————–

***

पसलेलाइ फैसला गर्न समय लागेन । दुइदिन भित्र दाह्रीवालाका तिर सरासर हिँडेको देखियो । पसलेको हात रमाको काँधमा यसरी बसेको थियो मानौँ त्यहाँ कुनै किसिमको माया छ । तर अनुहारमा लागिसकेको डढेलोले प्रस्ट पार्थ्यो कि‌ झुठको खेती गरिरहेको छ । फेरि त्यो नाटक केलाइ ? कस्का लागि ?

” स्वागत छ । ” दाह्रीवालाले स्वागत गर्यो । त्यसपछि दुवैजना सरासर बैठक कोठा भित्र‌ छिरे ।

” आउँदा आउँदै ढिलो भयो । ” पसलेले भन्यो ।

” लौ ठिकै छ बस ” भन्दै आफू छेउको सोफासेट तिर इशारा गर्यो ,

” के बन्दोबस्त गर्यौ उसको ? ”

” कसको ? ” पसलेले सोध्यो ।

” उसैको जो हामी बीच बाधा बनेर बसेकी थिइ । ”

” बसेकी थिइ होइन बसेकी छ ।‌ ” पसलेले टाउकोमा हात राख्यो ,

” आएकी छे । पिसाब लागेर पाइखाना खोज्दै थिइ । ” पसलेले भन्यो ,

” उ आइपुगिछ । ” रमा एक्कासी ढोकामा देखा परि ।

पसलेको सम्मुख भएर कुरा गरिरहेको दाह्रीवाला जुरुक्क उठ्यो । हेरौँ न त को रहिछे यस्ती भाग्यमानी भन्दै पछाडि फर्कियो । केहि नबोलि दुइ हात जोड्यो , अनि पहिलेकै अवस्थामा बस्यो । रमा अप्ठ्यारोसँग कोठा भित्र पसी । पसलेको छेउ बसी ।

दाह्रीवालाको अनुहारमा अनौठो क्रोध दौडन थाल्यो । केहि बोल्न सकेन । उसलाइ यो थाहा पाउन कठिन भएन कि अचानक केटीलाइ पिसाब किन लाग्यो । वास्तवमा यो त्यहि केटी थिइ जोसँग दाह्रीवालाको पुरानो दुष्मनी थियो ।‌ तर त्यतिखेर कुराकानी टालटुल पारेर छाडिदिएको थियो । ‘ के गरौँ , के नगरौँ ‘ को दोसाँधमा दाह्रीवाला टोलाउन थाल्यो ।

” केहि नबोलेको देखेर तपाइँलाइ रिस पनि उठ्न सक्छ । तर माफ गर्नुहोला । यो त बोल्न सक्दिन । ” पसलेले चित दुखायो ।

” होइन । त्यस्तो होइन । मलाइ थाहा छ कि उहाँ बोल्न सक्नुहुन्न । ” दाह्रीवालाले रमाको अनुहारतिर गौर सँग हेर्दै भन्यो ,

” कि कसो ? ”

” अहो । मलाइ लागेको थियो‌ कि यो कुरा मैँले आजसम्म खोलेको छैन । ” पसले खिस्स हाँस्यो ।

” अघि मात्रै त सुनाएका थियौ । यति छिटो बिर्सिने ? ” दाह्रीवाला हलुका अक्मक्कियो ,

” एकैछिन है । जरुरी काम पर्यो । ” भनेर कोठा बाट बाहिरियो पनि ।

***

रमा पसलेको छेउ सर्छे । हात समाउँदै कानसम्म मुख पर्याउँछे । केहि भन्न खोज्छे । तर पसले निकैबेर देखि त्रस्त थियो कि कतै यो हर्कत दाह्रीवालाले नदेखोस् । देखिगयो भने हुनसक्छ तत्काल आवेगमा आअोस् अनि सारा सम्बन्ध क्षणभरमै बिलाअोस् ।

” कति नजिक नजिक सरेकी ? जे भन्नुछ परैबाट भन्न सक्दिनस् ? ” पसलेले कोठा थर्कायो ।

‘ हामी यहाँ बाट तत्काल‌ गइहालौँ । यो मान्छे हेर्दा यस्तो भएपनि एकदमै रद्धी मान्छे हो । ‘ रमाले भन्न चाहि । तर पसलेले उसको इशारावाजीमा कतिपनि चाख दिएन । रमालाइ झनझन् पीर पर्यो । उ थप्न चाहन्थी ,

‘ मलाइ कस्तो कस्तो लागिरहेको छ । यो घर हेर्नुहोस त कति डरलाग्दो ‌छ । ‘

कतिखेर मौका मिल्छ र दाह्रीवाला सँग समय बिताउँ भइरहेको पसलेलाइ छेउमा बसेकी केटीको के मतलब । केहि गर्दा नलागेपछि जब रमाले उसको हात जोड जोडसँग झट्कारेर घर हिड्न अनुरोध गरी , पसलेको पारो तात्तियो ,

” पहिल्यै भनिसकेको होइन कि यहाँ यस प्रकारको नाटक नदेखाउनु ? ”

” के को सल्लाह हुँदैछ ? ” दाह्रीवाला तत्काल ढोकामा देखा पर्यो ।

‘ म भन्दै थिएँ कि हामीलाइ कुनै आवाराको सहयोग चाहिँदैन । ‘ यसै कसो भनिदिउँ जस्तो भएको थियो रमालाइ । तर शान्त रहने फैसला गरी ।

***

दिउँसो जतिसुकै बेवास्ता गरे पनि साँझ त्यहि केटीलाइ फकाउनु अनिवार्य थियो । नत्र त त्यो आफू र दाह्रीवालाको बीचमा रातभर नै तगारो बान्न सक्थी । पसलेले सोच्यो,

‘ पहिला दुइ पेग लगाउँछु । त्यसपछि एक घण्टा बाहनाबाजी गरेर फकाउनेछु । ”

पसले सफल भयो । साँझ रमा सुतिसकेको अनुमान लगाएर योजना अनुसार दाह्रीवालासँग बार्दलीमा पुग्यो । दुवैले सोचे ,

” अब बल्ल मजा हुनेछ । ”

दाह्रीवाला पसलेलाइ छिनछिनमा सम्झाइरहेको थियो कि यसरी नै यो जीवन समाप्त होस् । यसरी नै यो बार्दलीमा बसिरहन पाउँ अनि दुवैले आकाशको तारा
गनिरहुँ । यहि नै हो जीवन । यहि नै हो आनन्द ।

” कसैसँग आकाशका ताराहरु गनेर बसेका छौ ? ” आफ्नो हात पसलेको काँधमा राखेर दाह्रीवाला सुस्तायो।

” छैन । बिल्कुलै छैन ।”

” के तपाइँ बस्नुभएको छ ? ” पसलेले पनि दाह्रीवालासँग कौतहुल्ता पोख्यो ।

” छैन । बिल्कुलै छैन । ”

हरेक बातमा उनीहरु यसरी गाँसिन खोज्थे जस्तो कि म्याग्नेटका नेगेटिभ पोल्सहरु हुन् । एकैछिन को दुरी पनि सहन सक्दैनन् ।

” के हो त्यो ? ” भित्रबाट अनौठो आवाज आयो ।

” बिरालो हुनुपर्छ । सँधै बदमासी गरिरहन्छ । ” दाह्रीवाला झनक्क रिसायो । जस्तो कि बन्नै लागेको काम कसरी चकनाचुर भएको छ ।

यसरी बेतुकका गफ गरेर पसलेको मन बिथोलिरहेको त्यो मान्छे जोकोहिलाइ पनि लाग्न सकिन्छ कि कति निर्दयी छ । तर विश्वास गर्नुहोस्, दाह्रीवाला आफूलाइ संसारकै परिपक्व मान्छे सम्झन्छ । उसलाइ लागिरहन्छ कि हुँदा हुँदा पसले पनि आफूबाट टाढा भए कसरी‌ बाँकी जिन्दगी काट्ने छ ?

***

भोलिपल्ट कोठाको सारा सामाग्री यस घरमा नै ल्याउनु पर्ने बताउँदै दाह्रीवालाले सुझाव दिए जस्तो‌ गर्यो । उसले साथमा यो पनि भन्यो कि ‘ खबरदार रमासँग गयौ भने । त्यो‌ आइमाइ मलाइ पटक्क मनपर्दैन । ‘

” ठिकै छ नि त । ” पसलेले सान्तवना दिलायो ,

“आफैँ जानेछु । त्यसको आवश्यकता पनि छैन ।‌”

” बिल्कुल ठिक भन्यौ ” , दाह्रीवाला खुसी भयो, ” एक्लै जाउ । ”

धेरैबेर सम्म चित्त थिचेर बसिरहेको थियो कि कतिखेर पसले कोठातिर लाग्छ र बिना हिचकिचाहट त्यस लाटीको बन्दोबस्त गर्ने छ । जब पसले घरबाट निस्किसकेको कुरा थाहा भयो , हतार हतार तल्लो तलामा झर्यो । रमा कोठा भित्रै थिइ । ढोकाको कापबाट च्याउँदा आेछ्यानमा निदाइरहेकी देख्यो ।

– तपाइँलाइ यस कथा कस्तो लाग्दै छ ? आफ्नो सल्लाह, सुझाव दिनुभयो भने लेख्ने मान्छेलाइ अझ राम्रो लेख्ने अवसर मिल्नेछ ।

अन्तिम तथा दोस्रो भागका लागि केहि दिन पर्खनुहोला । यहाँसम्म पढिदिनुभयो । धेरै धेरै धन्यवाद है त !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here